तनहुँ, १० भदौ । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्रको नाम अनुमोदन भएको छ । नेपाली कांग्रेस तनहुँका जिल्ला सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको बैठकले मिश्रको नाम अनुमोदन गरी कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।
मिश्रले विसं २०५२ मा बाराही मावि फराकचौर, तनहुँको नेविसङ्घ एकाइका अध्यक्ष, सरस्वती बहुमुखी क्याम्पसको एकाइ सचिव, उपाध्यक्ष हुँदै २०५७ स्ववियु सभापतिका प्रत्यासी, २०५८ मा नेविसंघ तनहुँका जिल्ला सदस्य र विसं ०५९ देखि विसं २०६१ सम्म नेविसंघ तनहुँ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरिसक्नुभएको छ । उहाँ नेविसंघका केन्द्रीय पूर्वकार्यवाहक अध्यक्षसमेत हुनुभयो । पार्टीको क्रियाकलापमा राजधानी र मोफसललाई जोड्न सशक्त एवं भरपर्दो पुल बन्ने योजना बनाएको अध्यक्ष मिश्रले बताउनुभयो ।
यसैगरी नेपाली कांग्रेस तनहुँले जिल्लाका दशवटै पालिकामा प्रतिनिधि खटाउने भएको छ । जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार व्यास नगर समितिको लागि डा कृष्ण गौतम, भानु नगर समितिमा देवकुमार श्रेष्ठ, बन्दिपुर गाउँ समितिमा सहदेव अधिकारी, देवघाट गाउँ समितिमा सरिता गुरुङ र आँबुखैरेनी गाउँ समितिमा चिनु पोखरेललाई खटाइएको छ । शुक्लागण्डकी नगर समितिमा मिलन आले, रिसिङ गाउँ समितिमा हरि वाग्ले, म्याग्दे गाउँ समितिमा श्रीराम सुवेदी, भिमाद नगर समितिमा किसान गुरुङ र घिरिङ गाउँ समितिमा रामकृष्ण विकलाई खटाइएको छ ।