वर्षदिनसम्म पनि सुनसान गड्डाचौकी नाका

२०७७ चैत्र ११, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

महेन्द्रनगर, १० चैत ।  गत वर्ष विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेका बेला सबैभन्दा पहिलो बन्दाबन्दी (लकडाउन) कञ्चनपुरमा भयो ।

भारतबाट कोरोना कहरमा त्रासदीका बीच नेपाली घर फर्किरहँदा पश्चिमी सीमानाकाहरु व्यवस्थापनका लागि गत वर्ष आजकै दिन पहिलोपटक कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको थियो । मुलुकभर भने चैत ११ गतेदेखि लकडाउन भए पनि यहाँ एक दिन अगावै त्यो लागू भयो । त्यसयता सुनसान बनेको गड्डाचौकी नाकामा पुनः कोरोनाको त्रास देखिन थालेको छ ।

कोरोना कम भएर मुलुकमा अवस्था सामान्य भइरहेका बेला पनि यहाँको गड्डाचौकी नाकामा आवागमन केही सहज भए पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले लकडाउनको एक वर्ष बितिसक्दा पनि नाका सहज हुन नसकेको बताउनुभयो ।

“केही समयअघि मात्रै स्थानीय प्रशासनले भारतीय नागरिकलाई आवागमनका लागि सहज गरे पनि सवारीसाधन अझै सीमानाकामा निर्बाधरुपमा सञ्चालन हुन सकेको छैन”, अध्यक्ष मल्लले भन्नुभयो, “भारतमा कोरोना बढिरहेकाले अझै सीमामा हामीले पनि सतर्कता अपनाउनु आवश्यक छ ।” नाका सहज नहुँदा यहाँको होटेल व्यवसाय, यातायात सेवा र व्यापार व्यवसाय प्रभावित बनेको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतका विभिन्न शहरमा पुनः कोरोनाका बिरामीहरु बढ्न थालेपछि सुदूरपश्चिममा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना जाँचलाई अघि बढाएको छ । “केही दिनअघि गड्डाचौकी नाकामा पनि कोरोना नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।” सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भन्नुभयो, “ भारतमा सङ्क्रमित क्षेत्रबाट आएका र शङ्कास्पद देखिएका व्यक्तिहरुको नाकामै अहिले कोरोना परीक्षण गरिरहेका छौँ ।”

उहाँले केन्द्रबाट पनि स्वास्थ्य सतर्कता अपनाउन दिएको निर्देशन बमोजिम यहाँका स्थानीय प्रशासन, स्वास्थ्य संस्था र पालिकाहरुलाई पत्राचार गरिने बताउनुभयो । “हामीसित आठ हजार किट कोरोना परीक्षणका लागि मौज्दात छ”, जोशीले भन्नुभयो, “स्वास्थ्य सतर्कताका लागि मास्क, स्यानिटाइजरहरु लगाउनु जरुरी छ ।”

सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा डेढ लाख जनालाई कोरोनाको खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले आज बिहान पनि सीमानाकामा स्वास्थ्य परीक्षण गराउँदा एकजनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । “पोजेटिभ देखिएकालाई महाकाली अस्पतालमा व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “हालसम्म पछिल्लो समय भारतबाट स्वदेश फर्किने चारजनामा कोरोना देखिएको छ ।” उहाँले स्थानीय प्रशासनसित सीमानाकामा सतर्कता अपनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
(रासस)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय