श्रीकृष्ण जन्माष्टमीको अवसरमा शान्तिधाममा मेला

२०७८ भाद्र १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ, १४ काठमाडौ ।  श्रीकृष्ण जन्माष्टमीका अवसरमा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित शान्तिधाममा भव्य मेला लागेको छ । अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने उक्त धाममा श्रीकृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको हो ।

विसं २०६८ मा काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रीनारायणको मन्दिर निर्माण भएसँगै त्यहाँ हरेक वर्ष विभिन्न चाडपर्वमा मेला लाग्दै आएको छ । विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ सालमा रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिरमा उपत्यकाका विभिन्न स्थानबाट र छिमेकी जिल्ला नुवाकोट, काभ्रे र धादिङबाट दर्शनका लागि भक्तजन आउने गरेका छन् ।
शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चूडामणिजी महाराजले आज बिहान महास्नान, दिउँसो झुला महोत्सव सम्पन्न गरिएको राससलाई जानकारी दिनुभयो । “आज राति १२ बजे आरती र भोलि बिहान नन्दउत्सव बधाई गायन गरेर कृष्ण जन्माष्टमी पर्वलाई सम्पन्न गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो ।

रु १५ करोडको लागतमा निर्माण सम्पन्न भएको बद्रीनारायणको मन्दिर द्रबिड शिखरशैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर रहेको छ । विभिन्न क्षेत्रमा सत्सङ्ग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो । बद्रीनारायण धाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वारकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाइ छ ।

शान्तिधामभित्र सम्पन्न भएको बद्रीनारायण मन्दिर विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार