गाविस भन्दा नगरपालिका कमजोर भएको गल्याङका व्यावसायीको गुनासो, आशा गरेजती काम गर्न सकिएन : नगरपालिका

२०७८ आश्विन २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमलाल घर्ती

असोज २ स्याङ्जा । गल्याङ नगरपालिका यस अघिको गाविस भन्दा कमजोर भएको गल्याङका ब्यबसायीको गुनासो छ । गल्याङ उद्योग वाणिज्य संघले सनिवार उद्योग वाणिज्य संघको हलमा गरेको अन्तरक्रिया कार्यक्रममा व्यावसायीहरुले नगरपालिकाको मुख्य केन्द्र गल्याङ बजारको ब्यबस्थापनमा नगरपालिकाले कुनै चासो नदेखिएको गुनासो गरेका हुन् ।

चाडवाडलाई लक्षित गरेर संघले गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाको संरचना हुँदा भन्दा पहिले गल्याङ बजारको ब्यबस्थापन निकै राम्रो भएको र नगरपालिका भएपछि पालिकाले बजार प्रबर्द्धनको बिसयमा कुनै ध्यान नदिएको गुनासो व्यावसायीले गरेका हुन् । नगरपालिका हुनुभन्दा पहिले गल्याङ बजारको प्रबर्द्धनको लागि स्थापना गरिएको बजार ब्यबस्थापन समितीले अहिलेको नगरपालिकाले भन्दा धेरै काम गरेको उहाँहरुको भनाइ थियो । “उ बेला एक दिन फोहोर उठेन भने समितिका साथीहरू रातभर सुत्नु हुँदैन थियो । अहिले महिनौंसम्म पनि फोहोर उठ्न नसक्दा बोल्ने कोहि छैन ।” गल्याङका व्यावसायी भेमलाल अर्यालले भन्नुभयो । गल्याङ बजारमा बढ्दै गएको चोरी नियन्त्रण गर्न सिसि क्यामेरा संचालनमा समेत ध्यान नदिएको ब्यबसायीहरुको गुनासो थियो । नगरपालिका भएपछि गल्याङ बजारले व्यावसायिक क्षेत्रमा कुनै परिवर्तन महशुल गर्न नसकेको भन्दै प्रत्येक जनप्रतिनिधिलाई गाडिको सुबिधा हुँदा प्रहरी प्रशासनले अपराधीक गतिविधि नियन्त्रण गर्न समेत गाडीको अभाव हुनु लगायतका सानातिना कुरा पनि नगरपालिकाको ध्यान पुग्न नसक्दा गल्याङको ब्यापार खस्कदै गएको उहाँहरुको गुनासो थियो ।

नगरपालिका उपप्रमुख देविसरा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिकामा आशा गरिएजती काम गर्न नसकिएको बताउनुभयो । ”पहिलो नगरपालिका भएको हुँदा सिकाइमै समय गयो । तर प्रयास भने निरन्तर जारी छ ” शर्माको भनाइ थियो ।

संघका अध्यक्ष यज्ञप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा भुपती न्यौपाने, भेमलाल अर्याल, सन्जिब पन्त, छबिलाला भुसाल, नेत्र पाण्डे लगायतले आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव कृष्ण भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय