स्याङ्जाका तीन शिक्षकलाई विद्यार्थी भन्दा जनगणना प्यारो

२०७८ आश्विन १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

असोज १५ स्याङ्जा । पहिलो प्राथमिकतामा कक्षा १२ पास गरि बसेका बेरोजगार युवा युवातीलाई जनगणना २०७८ मा गणक तथा सुपरिवेक्षक बनाउने निति केन्द्रिय तथ्यांक विभागले अगाडि सारेपनी स्याङ्जामा भने आवश्यक अनुसारको जनशक्तिको अभाव भएको भन्दै तीन शिक्षकलाई सुपरिवेक्षकको रूपमा सहभागी गराइएको छ ।

विगतमा बर्षहरुमा सरकारकारी बिधालयका शिक्षक अथवा सरकारी कर्मचारीले गर्दै आएको जनगणना यस पटक भने बेरोजगार युवा युवातिलाई पहिलो प्राथमिकता राखी अपुग भएको खण्डमा सरकारी कर्मचारी खटाउन सकिने गरि केन्द्रिय तथ्यांक बिभागले राष्ट्रिय जनगणना २०७८ सफल पार्ने नीति अगाडि सारेको छ । जनगणनाको लागी आवश्यक जनशक्ति अपुग भएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय तहको साझेदारीमा तीन शिक्षक जनगणनाको लागि खटाइएको स्याङ्जा जिल्ला जनगणना प्रमुख शारदा शर्माले जानकारी दिनुभयो। ” जनगणनाको लागि जनशक्ति अभाव भएपछि प्रमुख जिल्ला अधिकारी लगायतको बैठक बसेर स्थानीय तहको साझेदारीमा सरकारी स्कुलमा कार्यरत तीन शिक्षकलाई सहभागी गराउने निर्णय गरिएको हो ।” शर्माले हेर्ने कुरा डटकमसंग  कुराकानी गर्दै भन्नुभयो ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको निर्देशन अनुसार स्याङ्जामा तीन शिक्षकलाई बिधालयको काम छाडेर जनगणनाको काममा खटाएको पाइएको हो । स्याङ्जामा खटिएका १ सय जना सुपरीवेक्षक मध्य चापाकोट नगरपालिकाका श्रीधर न्यौपाने र वसन्त मानन्धर , गल्याङ नगरपालिका डिल्लीराम भण्डारी मात्रै शिक्षक हुनुहुन्छ । शिक्षक बिधालय आउन छाडेपछि खोजी गर्दा जनगणना सहभागी भएको स्थानीयले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । “जिल्लाभरका शिक्षकलाई बिद्यार्थीको चिन्ता हुँदा उहाँहरु तीन जनालाई मात्रै किन भएन ?” स्थानीयको आक्रोश थियो । “जनगणनामा खटिने मान्छे नपाएर उहाँहरु खटिनु भएको होइन । मेरो पावर पहुँच छ स्कुलको तलब पनि लिन्छु यता पाएको अवसर पनि लिन्छु भन्दै जिल्ला धाई धाई आफै सहभागी बनी स्कुललाई वेवास्ता गर्नुभएको हो ।” स्थानीयहरुको गुनासो थियो । हामीले १२ मात्रै होइन ब्यचल समेत क्लियर गरिसकेका छौ । यहाँ जनशक्तिको अभाव होइन पावर पहुँचको कुराले यसो भएको स्थानीय बिनिता अधिकारीको आक्रोश छ ।

आफ्नो स्कुलको शिक्षक जनगणना सहभागी भएको शिक्षकबाट मौखिक जानकारी मात्रै पाएपनी औपचारिक कुनै जानकारी नपाएको शिक्षक डिल्लीराम भण्डारी कार्यरत बिधालय श्री शिवालय मा वि गुठीका प्राअ बिष्णु प्रसाद अर्यालको भनाइ छ । ” हाम्रो स्कुलमा कार्यरत शिक्षक डिल्लीराम भण्डारी जनगणनामा सहभागी भएको शिक्षकले मौखिक जानकारी गराएपनी अहिलेसम्म औपचारिक कुनै जानकारी स्कुललाई छैन ।” प्राअले हेर्ने कुरा डटकमसंग कुराकानी गर्दै भन्नुभयो । यता जनगणना स्याङ्जाको जिम्मेवारी पाउनु भएकी शारदा शर्माले भने स्थानीय तहले सम्बन्धित बिधालयलाई बोधार्थ राखेर पठाएको पत्रको आधारमा उहाँहरुलाई सहभागी गराइएको बताउनु भएको छ ।

कोभिडका कारण गत बर्ष देखि बिधालय पुर्ण रुपमा संचालनमा आउन सकेका थिएनन् । पछिल्लो समय केही सहज परिस्थिति पछि संचालनमा आएका स्कुलमा शिक्षक नआएपछि शिक्षकको खोजी गर्दै जादा बिद्यार्थीको भबिस्य माथी नै खेलवाड गरि जनगणनाको कार्यक्रममा सहभागी भएको पाइएको स्थानीय अभिभावक शिव श्रेष्ठको भनाइ छ । त्यसैपनी सरकारी स्कुलमा पढेका बिद्यार्थी कमजोर बन्दै गएको अवस्थामा यसरी शिक्षक अनुपस्थित हुनुले सरकारी स्कुलको स्तर अझ खस्केर जाने उहाँको तर्क छ ।

जिल्लामा पुतलीबजार वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरि जनगणना गणनामा सहज बनाईएको छ । पुतलीबजारमा स्थापित कार्यालयले पुतलीबजार सहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाको जनगणना गर्ने छ भने वालिङको कार्यालयले वालिङ, चापाकोट, भिरकोट नगरपालिकाको र गल्याङमा स्थापित कार्यालयले गल्याङ र कालीगण्डकी गाउँपालिकाको जनगणना गर्नेगरी जिम्मेवारी तोकिएको छ। बिरुवास्थित कार्यालयले भने बिरुवा र कहरिनास गाउँपालिकामा गणना गर्नेगरी सुपरीबेक्षक खटाइएको हो ।

वालिङमा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरीवेक्षक खटाइएको छ। यसैगरी, बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६ र हरिनास गाउँपालिकामा ५ जना हुनुहुन्छ । २०६८ को जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ छ । जसमा पुरुष १ लाख २५ हजार ८ सय ३३ र महिला १ लाख ६३ हजार ३ सय १५ रहेको छ । जिल्लामा ६८ हजार ८ सय ८१ घरधुरी छन्।

नेपालमा वि.स. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको  हो । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय