कांग्रेस महाधिवेशन शुरू, उम्मेदवारी दर्ता भोलि

२०७८ मंसिर २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २४ मंसिर । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू भएको छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटनका लागि भृकुटीमण्डपमा ४० लाख रुपियाँको लागतमा ठूलो मञ्च तयार पारिएको छ ।

उम्मेदवारी मनोनयन भोलि शनिबार हुने भए पनि प्यानलसहित नेतृत्व दाबीको तयारीमा लागेका शीर्ष नेताहरूले पद बाँडफाँड अझै मिलाउन सकेका छैनन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वका लागि चुनावी मैदानमा उत्रने निश्चित भए तापनि पदाधिकारीका आकांक्षी धेरै भएकाले बिहीबार राति अबेरसम्म पनि प्यानल निर्माण हुन सकेको छैन ।

देउवा पक्षका नेता महेन्द्र यादवले जानकारी दिएअनुसार सभापतिको उम्मेदवारमा कुनै विवाद नभए पनि पदाधिकारीको उम्मेदवार मिलाउन जारी छलफल सहमति नजिक पुगेको छ । आफ्नो पक्षमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको भन्दै ढुक्क भएका देउवाविरुद्ध संस्थापनइतर समूहबाट एकमात्र साझा उम्मेदवारी दिने प्रयास अझै सफल भएको छैन ।

देउवालाई पदाधिकारी मिलाउन समस्या भएपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारीको संख्या थपबारे एजेन्डा प्रस्तुत गर्ने तयारी भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरू अनुपस्थित भएपछि यो एजेन्डा नै प्रस्तुत नभएको केन्द्रीय सदस्य पुष्पा भुसालले बताउनुभयो ।

केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको महामन्त्रीको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पारित गरेको छ । बैठकले लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै १४औं महाधिवेशन तयारीका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा, उपधाराको व्याख्या, बाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदनका लागि महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सभापतिको उम्मेदवारबारे सहमति हुन सकेको छैन । सहमति नभएपछि प्रकाशमान सिंह र डा। शेखर कोइरालाले छुट्टाछुट्टै तयारी अघि बढाउनुभएको छ । सिंहका निजी सचिव यूपी लामिछानेले भन्नुभयो– ‘प्रकाशमान सिंह सभापतिमा उठ्ने निश्चित हो, अब सहमति भए पनि नभए पनि अघि बढ्छौं ।’ कोइराला र सिंहबीच सहमति भए आफू पछि हट्ने बताउँदै आएका वरिष्ठ नेता पौडेल भने अप्ठेरोमा पर्नुभएको छ । सिंह र कोइराला दुवै सभापतिमा उम्मेदवारी दिने भएपछि उहाँ अलमलमा पर्नुभएको हो ।

पौडेल पक्ष विभाजित भएसँगै पुनः नेतृत्व लिने रणनीतिमा लागेका सभापति देउवा भने पहिलो चरणमा ५० प्रतिशत मत कटाएर विजयी हुने रणनीतिमा लाग्नुभएको छ । तल्लो तहको अधिवेशन प्रक्रिया शुरू भएसँगै महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिको नामावली र सम्पर्क नम्बर संकलन गरी जोडघाटाउमा लागेका देउवाले सिटौला पक्षलाई समेट्न सके पहिलो चरणमै बाजी मार्ने निष्कर्षमा पुगेको देउवा सचिवालयका एक सदस्यले बताएका छन् । पौडेल पक्षले सभापतिमै सहमति गर्न नसकेपछि पदाधिकारीको प्यानल बनाउने कार्य पनि अलमलमा परेको छ ।

अधिवेशनमा कृष्णप्रसाद सिटौला समूह कसरी प्रस्तुत हुन्छन् भन्नेबारेमा बिहीबार पनि स्पष्ट कुरा आएन । आफू निकट नेताहरूको भेलामा सिटौलाले शनिबार मात्र निर्णय गर्ने बताउनुभएको छ । सिटौला निकट नेता भीमसेनदास प्रधानले सिटौलाले युवा नेताहरूको जिम्मेवारी प्रदीप पौडेललाई दिनुभएको छ । आफू पछि हटेर पनि नेता कार्यकर्तालाई व्यवस्थापन गर्ने बताएका सिटौलाले आफ्नो समूहमा आबद्ध नेताहरूलाई धोका नदिन आग्रह गर्नुभएको थियो । यसअघि गगन थापाले आफूलाई धोका दिएको संकेत गर्दै सिटौलाले सबै प्रदेशबाट आकांक्षी उम्मेदवारको नाम संकलन गर्न आग्रह गर्नुभएको छ । सबै प्रदेशबाट आकांक्षी उम्मेदवारको नाम आएपछि आज शुक्रबार साँझसम्म एउटा निर्णयमा पुग्ने सिटौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय