राष्ट्रिय महिला फुटबल टोलीलाई प्रतिबन्धित औषधिबारे सचेतना

२०७८ पुष १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १२ पुस। युवा तथा खेलकुद मन्त्रालयले विभागीय टिमका नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी र प्रशिक्षकलाई ‘खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध’ सचेतना प्रदान गरेको छ ।मन्त्रालयले प्रतिबन्धित औषधिको सेवन एवं विधि अवलम्बन नगर्न नगराउन तथा व्यापक प्रचारप्रसारमा जुट्न खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक र सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा खेल क्षेत्रमा प्रतिबन्धित औषधि प्रयोग एवं विधि विरुद्ध भइरहेका गतिविधि तथा यसका तत्कालीन र दीर्घकालीन प्रभावबारे खेलाडी एवं प्रशिक्षकलाई जानकारी गराइयो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका राष्ट्रिय महिला फुटबल टिमका खेलाडी र प्रशिक्षक सहभागी हुनुहुन्थ्यो ।खेल क्षेत्रलाई सबै प्रकारका अस्वस्थ्य प्रभावबाट मुक्त राख्नका लागि वल्र्ड एन्टी डोपिङ एजेन्सी(वाडा)ले खेल विशेषका खेलाडीलाई तोकिएका औषधि प्रयोग गर्न र अन्य उपाय अवलम्बन गर्न निषेध गरेको छ । खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं निषेधित उपाय अवलम्बन विरुद्धको महासन्धि कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिइयो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले प्रतिबन्धित औषधि सेवन र विधि विरुद्धको नीतिगत, कानुनी व्यवस्था, मन्त्रालयका प्रयास तथा आगामी रणनीतिबारे जानकारी दिनुभयो । विशेषज्ञ डा सरोजकृष्ण श्रेष्ठले प्रतिबन्धित औषधि सेवन र विधिका विभिन्न पाटो पक्षबारे समेटिएको सचेतनामूलक प्रस्तुती गर्नुभयो । प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएमा जुनसुकै खेलकुद प्रतियोगितामा प्राप्त पदक गुम्ने मात्र नभई मुलुकको प्रतिष्ठानमै आँच आउने भएकाले खेलाडी र प्रशिक्षकले औषधि खरिद र प्रयोगमा निकै सचेत रहनुपर्ने सुझाव दिइयो ।प्रतिबन्धित औषधि सेवनले खेलाडीको स्वास्थ्यमा मात्र नभई सामाजिक एवं मनोसाजिक वातावरणमा प्रतिकूल असर पर्ने तथा दीगोरुपमा खेल खेल्न सक्ने अवस्थामा ह्रास आउने पनि जानकारी दिइयो । नेपालका केही खेलाडी विगतमा प्रतिबन्धित औषधि प्रयोगका कारण प्राप्त गरेको पदक खोसिएको थियो भने खेलाडी केही समय निलम्बनमा परेका थिए । खेलकुद प्रतियोगितमा खेलाडीले प्रतिबन्धित औषधि सेवन गरे वा नगरेकाबारेमा रगत र पिसाप परीक्षणबाट नतिजा प्राप्त हुन्छ । निकै लामो समयसम्म औषधिको असर रहने भएकाले खेलाडीले त्यस्ता निशेष गरिएको औषधि प्रयोग गर्न तथा खेलकुद प्रतियोगितमा भाग लिने क्रममा कसैको भरिया हुनबाट जोगिन पनि विशेषज्ञबाट सुझाव दिइयो ।

प्रतिबन्धित औषधि प्रयोग भएको फेला परेमा खेलाडी प्रतिष्ठा सदाका लागि गुम्ने खतरा भएकाले कमाएको इज्जतलाई बचाइ राख्न तथा खेलकुद क्षेत्रलाई स्वच्छ र स्वतन्त्र बनाउन होसियारी रहन मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय