वालिङका १८० ज्येष्ठ नागरिकलाई सम्मान

२०७८ पुष ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल 

वालिङ, ३० पुस । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ ले वडाभित्रका १८० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजका साझा सम्पत्तिका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको हेरचाह, सुविधा र समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक सन्देश दिन सम्मान गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले बताउनुभयो ।

“ज्येष्ठ नागरिकलाई गरिने श्रद्धा, सम्मान तथा आदरपूर्ण व्यवहार आजको आवश्यकता हो”, वडाध्यक्ष पङ्गेनीले भन्नुभयो, “आजका युवा भोलि वृद्धावस्थामा पुग्नुपर्ने प्राकृतिक नियम भएकाले आज ज्येष्ठ नागरिकप्रति सम्मानपूर्ण व्यवहार गर्न सके भोलि आफ्नै लागि पनि लाभदायक हुने विश्वासका साथ वडामार्फत सम्मान गरिएको हो ।”

वडाको तथ्याङ्कमा ७० वर्षभन्दा माथि उमेर समूहका २३२ जना रहेकामध्ये १८० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष पङ्गेनीले जानकारी दिनुभयो । वडाभित्रका केही ज्येष्ठ नागरिक विभिन्न सहरमा तथा विदेशमा समेत रहनुभएकाले सबैलाई सम्मान गर्न नसकिएको हो । बाँकी रहनुभएकालाई पनि सम्मान गर्दै जाने वडाध्यक्ष पङ्गेनीले बताउनुभयो ।

सम्मान कार्यक्रममा आउनुभएका वडाका ७० वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई वडाको आर्थिक वर्ष २०७८÷७९ का लागि विनियोजन गरिएको रु एक लाखबाट सम्मान गरिएको वडासचिव डोलजङ्ग गुरुङले जानकारी दिनुभयो । वडाले सम्मानस्वरुप प्रत्येक ज्येष्ठ नागरिकलाई न्यानो कम्बलसहित ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको हो ।

समाजमा रहेका आफूजस्ता ज्येष्ठ नागरिकलाई वडाले खोजीखोजी न्यानो कम्मल र परिचयपत्र उपलब्ध गराएकामा निकै खुशी लागेको वालिङ–५ पित्लेककी ७९ वर्षीया भीमकुमारी गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय