त्रिविमा पढाइ बन्द, परीक्षा नरोकिने

२०७८ माघ २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २ माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ।

अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ। विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढिरहेको छ । त्रिविमा पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षालाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको छ।

त्रिविले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । तेस्रो वर्षको परीक्षा माघ अन्तिम साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । वार्षिक शैक्षिक कार्यतालिका प्रभावित नहोस् भनेर परीक्षालाई सुचारु गर्न लागिएको त्रिविले जनाएको छ। भौतिक उपस्थितिमा पढाइ रोकिए पनि परीक्षाको मिति नजिकिएका विषयको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालनगरिनेछ ।

त्रिवि सभा तथा कार्यकारी परिषदका कार्यालय प्रमुख सूर्यप्रसाद अधिकारीले कोरोना सङ्क्रमण दर न्यून रहेका र भौतिक उपस्थितिमै पढाउन सकिने अवस्था रहेका क्याम्पसले स्थानीय तहसँग समन्वय गरेर सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सक्ने जानकारी दिनुभयो।

उहाँका अनुसार प्रयोगात्मक कक्षाहरू भने कोरोना सङ्क्रमण नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै भौतिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने त्रिविले जनाएको छ । यसरी पढ्नुपर्ने र पढाउनुपर्ने सवै शिक्षक तथा विद्यार्थीको इमेल ठेगाना तुरुन्त बनाउन सबै क्याम्पस तथा विभागलाई कार्यकारी परिषदले निर्देशन दिएको छ । बिदाको समयमा कोरोना सङ्क्रमणबारे पूर्वतयारी तथा सचेतना अवलम्बन गर्न त्रिविले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ।

पढाइ बन्द रहे पनि छात्राबास खुलै रहनेछन् तर सरकारी निर्णयको पूर्ण पालना गरेर मात्रै छात्राबास सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ। बन्द रहेको समयलाई हिउँदे बिदामा मिलान गरिने छ ।

कोरोना सङ्क्रमण बढ्न थालेसँगै त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश क्याम्पसले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । केही क्याम्पसले हिउँद बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय