सिकाई केन्द्रकारुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

वालिङ, १७ माघ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रकोरुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको अध्ययन गर्ने थलोकोरुपमा विकसित हुँदै गएको हो ।

आर्थिक वर्ष २०७१÷०७२ बाट फोहोर मैला संकलन कार्य थालेको नगरपालिकामा हालसम्म नगरपालिका÷गाउँपालिका तथा फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सय बढी विभिन्न संघ संस्थाहरुले अध्ययन अवलोकन गरिसकेको तथ्याङ्क वालिङ नगरपालिकामा छ । कतिपय ठाउँमा फोहोर मैलालाई ब्यवस्थित तरिकाले नछुट्टयाउने र जम्मा गर्नेमात्रै गर्दा डम्पिङ साईटकोरुपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै देखिएका छन् । फोहोरलाई नदी, खोला किनारमा थुपार्ने कार्यले वातावरण प्रदुषित भएको भन्दै विरोध भईरहँदा यता वालिङ नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतकोरुपमा विकास गरेपछि यसको प्रक्रियाकाबारेमा बुझ्न आउनेको संख्या बढ्दै गएको हो ।

फोहोर मैला ब्यवस्थापन चुनौतिकारुपमा देखिईरहेका बेला त्यसको ब्यवस्थापनकाबारेमा यहाँ आएर अध्ययन अवलोकनपश्चात आफ्नो ठाउँमा कार्यान्वयन गर्ने संघसंस्थाहरु धेरै नै छन् । गाउँपालिकाको जनप्रतिनिधिमा निर्वाचित भईसकेपछि वालिङ नगरपालिकाले फोहोर मैलाका क्षेत्रका गरेको मोडेलको अध्ययन अवलोकन गरेको तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।“फोहोर मैलाको ब्यवस्थापनमा पुरस्कृत भईसकेको वालिङ नगरपालिकाको मोडेलकाबारेमा हामीले त्यहाँ पुगेर हे¥यौं” अध्यक्ष थापाले भन्नुभयो, “अध्ययन अवलोकनपश्चात त्यही मोडेलकारुपमा हामीले पनि २०७४ भदौदेखि सङ्कलन कार्य थाल्यौं ।”

गाउँपालिकाले वडा नं. ३ को कुडुलेमा फोहोर मैलाको ब्यवस्थापन गर्दै आएको छ । एकदिन कुहिने, एकदिन नकुहिने र महिनामा एकदिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको निगरानीमा एक कम्पनीमार्फत फोहोर सङ्कलन कार्यकालागि सम्झौता भई अगाडि बढेको छ । फोहोरको वर्गीकरण गर्ने कार्यमा ६ जना र गाडीमा फोहोर सङ्कलन गर्ने कार्यमा ३ जना कर्मचारी रहेका छन् । फोहोर मैल बिक्रीबाट प्राप्त भएको आम्दानीमध्ये ३० प्रतिशत टोल सुधार समितिहरुलाई, ६० प्रतिशत कम्पनीलाई र १० प्रतिशत गाउँपालिकाको आम्दानीकोरुपमा राख्ने गरिएको अध्यक्ष थापाले बताउनुभयो । “फोहोर मैला ब्यवस्थापन चुनौतिकारुपमा रहेको थियो” अध्यक्ष थापाले भन्नुभयो, “यसको उचित ब्यवस्थापन गर्न सकेको खण्डमा चुनौति नभई आम्दानीको स्रोत होईछ, अहिले फोहोरमैला पनि गाउँपालिकाको आम्दानीको स्रोतकोरुपमा रहेको छ ।”फोहोर मैलालाई बर्गीकरण नगरी थुपार्नेमात्रै कार्यले जग्गा पाउन समस्या भईरहेका छन् । कपिलबस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुखसहित केही वडा अध्यक्षहरु, बाणगंगा र गजेडामा रहेका भूतपूर्व सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वालिङको सरसफाई केन्द्रको अध्ययन अवलोकन गरेको थियो ।

फोहोर मैलाको ब्यवस्थापनमा जोड दिने गरी नगरपालिकाका जनप्रतिनिधि र खानेपानी तथा सरसफाईका क्षेत्रमा कार्य गर्दै आएका संस्थाका पदाधिकारीहरुले संयुक्तरुपमा अवलोकन गरिएको बाणगंगा गजेडा भूपू सैनिक खानेपानी तथा उपभोक्ता समिति एवं खानेपानी उपभोक्ता महासंघ कपिलबस्तुका अध्यक्ष राजेन्द्रबिक्रम शाहीले बताउनुभयो । “वालिङ नगरपालिकाले फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा निक्कै उदाहरणीय कार्य गरेको रहेछ” अध्यक्ष शाहीले भन्नुभयो, “त्यहाँको मोडेल हेरेर आएर हाम्रो ठाउँमा लागू गर्न कोशिस ग¥यौं तर जग्गा ब्यवस्थापन हुन नसक्दा शुरु गर्न सकिएको छैन ।”नगरपालिकासँग धेरै चरणमा बैठक बसेपनि निकास निस्कन नसकेको उहाँले बताउनुभयो । फोहोर मैला ब्यवस्थापनकालागि एकठाउँमा जग्गा उपलब्ध नभए अन्य पालिकाहरुसँग सहकार्य गरेर भएपनि ब्यवस्थापनको काम अगाडि बढाउनकालागि छलफल चलाउने उहाँले जानकारी दिनुभयो ।“फोहोरलाई वर्गीकरण गरेर ब्यवस्थापन गर्न सकियो भने आम्दानीको स्रोत हुन्छ भन्ने उदाहरण वालिङबाट देख्न सकिन्छ” उहाँले भन्नुभयो, “जग्गाको ब्यवस्थापन हुन नसक्दा अगाडि नबढेको कार्य सञ्चालनका लागि जुन ठाउँमा बिरोध भएको हो सोही ठाउँका मानिसहरुलाई वालिङमा लगेर देखाएमा ब्यवस्थापनमा सहजता हुन्छ कि भन्ने विश्वास छ ।”वालिङ नगरपालिकाले गरेको फोहोर मैला ब्यवस्थापनको शुरुआती चरणदेखि हालसम्मका प्रक्रियाहरुकाबारेमा बाणगंगामै पुगेर सरोकारवालाहरुलाई प्रशिक्षण दिईएको वालिङ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताउनुभयो ।“वालिङ नगरपालिकाले फोहोर मैला सङ्कलन, वर्गीकरण र त्यसको ब्यवस्थापन कसरी गर्दै आएको छ भन्नेबारेमा बाणगंगामा नै तीन दिने प्रशिक्षण दिएका थियौं” शाखा प्रमुख पाण्डेले भन्नुभयो ।

वालिङ नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेको ब्यवस्थापनकाबारेमा अध्ययन अवलोकन भ्रमणमा आउने समूह, संघसंस्थालाई सरसफाई केन्द्रमै लगेर देखाउने र ब्यवस्थापनको पाटोमा भएका उपलब्धीहरुको जानकारी दिने गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो । वालिङ नगरपालिकाका विशेष गरी बजार क्षेत्रका वडाहरुमा गठन गरिएको सरसफाई उपसमितिले आ–आफ्नो टोलमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाईकर्मीहरु नियुक्ति गरि सरसफाई कार्य अगाडि बढाईएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । वालिङ नगरपालिका र दिदीबहिनी एवं समाज उत्थान गैर सरकारी संस्थाबीच फोहोरमैला ब्यवस्थापनको चारखम्बे अवधारणा अनुसार २०७१ असोजमा सम्झौता भई फोहोर सङ्कलन शुरु भएको थियो । चार वर्षको सम्झौता सकिएपछि नगरपालिका आँफैले अहिले त्यसको ब्यवस्थापन गर्दै आईरहेको छ । फोहोर मैलाका क्षेत्रमा अन्य ठाउँहरुमा नीजि क्षेत्रसँगको साझेदारीमा काम भईरहेको छ भने पछिल्लो समय वालिङ नगरपालिका आँफैले ब्यवस्थापन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । पालिका आँफै वा यहाँको नागरिकको प्रत्यक्ष संलग्नतामा फोहोरमैला सङ्कलन, वर्गीकरण तथा ब्यवस्थापन गर्दै आईरहेका छौं यो नै फोहोरमैलाका क्षेत्रमा नमून र फरक मोडेल अथवा ‘वालिङ मोडेल’ हो” उहाँको धारणा छ । वालिङ नगरपालिकाले फोहोर मैलाका क्षेत्रमा विशेष गरी चार वटा कार्यहरु गरेकै कारणले यो मोडेल फरक र नमूनयोग्य भएको दावी उहाँको छ । नगरपालिकाले फोहोर मैलाका क्षेत्रमा अगाडि वालिमोडेल,कुहिने÷नकुहिने÷शिसाजन्य फोहोर सङ्कलन गरी ‘ईण्डष्ट्रियल वेस’ मा लैजाने र कुहिनेबाट कम्पोष्ट मल बनाउनु, सरकारी स्वामित्वमा वा सरकारको अगुवाई पहलकदमी रहने गरी सेवामाआधारित हुनु र अधिकतम प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै वालिङ फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा पृथक अनि अब्बल भएको दावी उहाँको छ ।देशका विभिन्न शहरमा फोहोर मैलाको उचित ब्यवस्थापन नभएकैकारण चुनौति र समस्या झेलिरहँदा वालिङ नगरपालिकाले भने फोहोरमैलाको ब्यवस्थापन गरी रु. २४ लाख आम्दानी गरेको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाको सरसफाई केन्द्र शैक्षिक थलोकोरुपमा विकसित हुँदै गएको बताउनुहुन्छ वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण । नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेका कार्यहरुकाबारेमा जान्न बुझ्न देशका विभिन्न ठाउँबाट यहाँ आउने र फर्केपछि आ–आफ्नो ठाउँमा यही मोडेलकोरुपमा काम थाल्ने गरेकाले पनि सिक्ने थलोकोरुपमा विकसित भएको बुझ्न सकिने उहाँको धारणा छ । सरसफाई केन्द्र शैक्षिक थलोकारुपमा विकसित हुँदै गएको छ भने त्यस सँगसँगै स्रोतको उपयोगिता, आय आर्जनको स्रोत र एकीकृत ब्यवस्थापनका दृष्टिले देशकै नमूना बनाउने अठोटकासाथ अगाडि बढेको नगर प्रमुख खाँणले बताउनुभयो ।

“ब्यवस्थापन गर्न नजान्दा फोहोर हो भने ब्यवस्थापन गरेमा यो फोहोर होईन्, आम्दानीको स्रोत हो भन्ने प्रमाणित गर्र्ने गरी लागेका छौं” उहाँले भन्नुभयो, “हरेक प्रकारका फोहोर आम्दानीका राम्रा स्रोत हुन सक्छन् ।”कुहिने नकुहिने शिसाजन्य फोहोर सबै एकैठाउँमा फालियो भने ब्यवस्थापन भएन भने त्यो फोहोर हुने र त्यसलाई राम्रोसँग ब्यवस्थापन गर्ने वा वर्गीकरण गरेर पुनः प्रयोग गर्न सकेमा आम्दानीको स्रोतकोरुपमा रुपान्तरण गर्न सकिने प्रमुख खाँणको दावी छ । “राम्रो ब्यवस्थापनले फोहोर समस्या होईनन् आर्थिक विकासका समाधान हुन सक्छन् यही सोँचले अगाडि बढेका छौं” प्रमुख खाँणले भन्नुभयो, “यसलाई अझै थप ब्यवस्थित र आधुनिक तरिकाले अगाडि बढाउँदैछौं, निर्माण अन्तिम चरणमा पुगेकोले केहीमहिनाभित्र हरेक प्रकारका फोहोरहरुको प्रशोधन, पुनः प्रयोग, मल निर्माणजस्ता विधामा कार्य सञ्चालन हुने छ ।” यो प्लान्ट सञ्चालनमा आएपछि नेपालकै एकमात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्ने छ । जसलाई ‘वेष्ट रिम्यानेजमेन्ट सेन्टर’ भनिने प्रमुख खाँणले बताउनुभयो । वालिङ नगरपालिका फोहरमैलाको क्षेत्रमा पटक÷पटक पुरस्कृत भईसकेको छ । दैनिक दुई वटा ट्रिपरहरुमार्फत कुहिने र नकुहिने फोहोर सङ्कलन गर्ने गरिएको छ । घर घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडामा फोहोरलाई छुट्टाछुट्टै गाडीमा सङ्कलन गरी सरसफाई केन्द्रमा लगेर फोहोरलाई थप वर्गीकरण गरिन्छ । कुहिनेलाई कम्पोष्ट मल र नकुहिने फोहोरलाई वर्गीकरण गरेर बिक्री गरिन्छ । वालिङ नगरपालिकाले निर्माण गरेको सरसफाई केन्द्रमा नै दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याईएको छ । दिसाजन्य लेदो ब्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतिकोरुपमा देखा परिरहेका बेला वालिङमा त्यसको ब्यवस्थापनकालागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो । घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आँफुखुशी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोतहरु प्रदूषित हुन गएकाले त्यसको उचित ब्यवस्थापनकालागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“घरमा रहेका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन् त्यो भरिएपछि फाल्नकालागि समस्या थियो” उहाँले भन्नुभयो, “अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरुपमा ब्यवस्थापन गर्न सकिने भएको छ ।” नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्याँस र कम्पोष्ट मल बनाउनुकासाथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाईएको छ । नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटीनेटएसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो । “प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्याँस निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउँछौं” उहाँले भन्नुभयो, “सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।” दिसापिसाबको व्यवस्थित संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणालीअन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका वालिङ नगरपालिकाका ईञ्जिनियर दीपेन्द्र मल्लले बताउनुभयो । “घर घरमा निर्माण भएका सेफ्टी ट्याङ्कीहरु भरिएपछि त्यसको विसर्जनकालागि समस्या थियो” ईञ्जिनियर मल्लले भन्नुभयो, “नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी ब्यवसायीहरुबाटभन्दा सस्तो शुल्कमा त्यसको उचित ब्यवस्थापन गर्न थालिएको नगरपालिकालाई रु. छ हजार ५०० शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरेको ईञ्निनियर मल्लले बताउनुभयो । घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप ब्यवस्थित भएको ईञ्जिनियर मल्ल बताउनुहुन्छ । घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि ब्यवस्थापनमा निक्कै समस्या हुने गरेकोमा नगरपालिकाले उठाएर त्यसको उचित ब्यवस्थापन गर्ने भएपछि सहज भएको वालिङ ८ कटौंजेका शिवप्रसाद पाण्डेले बताउनुभयो ।“निजी ब्यवसायीबाट यसअघि ट्याङ्की खाली गर्न पर्दा महङ्गो र मनपरी दररेट थियो” पाण्डेले भन्नुभयो, “एकलौटी ब्यवसाय हुँदा महङ्गो पर्न गएपनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।”नगरपालिकाले फोहरमैंला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न संघसंस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय