अचेतअवस्थामा फेला परेका चारको मृत्यु

२०७८ फाल्गुन ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भादगाउँ, ७ फागुन । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ¥याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र सानोथिमिमै भ¥याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षीय शिवराम श्रीमालीको आफ्नै एकतले घरको भ¥याङबाट अचानक लडेर मृत्यु भएको हो । लडेर घाइते भएका श्रीमालीलाई उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल थिमि लगिएकामा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो । त्यस्तै मध्यपुरथिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

यसैगरी मध्यपुरथिमि–२, सानोथिमिस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुक्कुल लगाई अचेत अवस्थामा मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकामा तत्कालै प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले मगरको उद्धार गरी अस्पताल लगिएको थियो । सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । प्रहरीले चारवटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय