उपाधिका लागि स्याङ्जा र नवलपुर भिड्ने

२०७८ फाल्गुन २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २४ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’मा उपाधिका लागि नवलपुर र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नवलपुर क्रिकेट सङ्घले नवलपरासी क्रिकेट सङ्घलाई पराजित गर्दै तथा स्याङ्जा क्रिकेट सङ्घले चितवन क्रिकेट सङ्घलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा नवलपुरले नवलपरासीलाई १२१ रनले पराजित ग¥यो । टस जितेर ब्यटिङ रोजेको नवलपुरले निर्धारित २० ओभर खेल्दै १० विकेटको क्षतिमा १८० रनको योगफल तयार पा¥यो । नवलपुरको जितका लागि दीपक डुम्रेले महत्वपूर्ण अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४९ बलमा तीन चौका र तीन छक्कासहित ५५ रनको योगदान दिनुभयो ।

नवलपुरकै लागि कमल परियारले १३ बलमा चार चौका र चार छक्कासहित ४१ रन, रोविन तिमिल्सिनाले १० बलमा तीन चौका र तीन छक्का सहित ३० रन तथा रिजन ढकालले २८ बलमा दुई छक्कासहित २५ रनको योगदान दिनुभयो । बलिङतर्फ नवलपरासीका जीतेन्द्र सहानीले चार ओभरमा ४१ रन खर्चिंदै चार विकेट, मनिष पाण्डेले चार ओभरमा ४५ रन दिएर तीन विकेट तथा श्रीकमल जैसवालले तीन ओभरमा २४ रन दिएर तीन विकेट लिनुभयो ।

१८१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपरासी क्रिकेट सङ्घ १७.३ ओभरमा १० विकेट गुमाउँदै ५९ रनमा खुम्चिन पुग्यो । नवलपरासीका लागि जगदीश चौधरीले २७ बलमा १३ रन तथा जितेन्द्र सहानीले ६ बलमा १२ रनको योगदानबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ नवलपुरका सुदीप अर्यालले २.३ ओभरमा सात रन खर्चिंदै तीन विकेट, शिशिर भुसाल र कमल परियारले समान चार ओभरमा समान ८ रन दिँदै दुई–दुई विकेट लिनुभयो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा चितवन क्रिकेट सङ्घलाई चार विकेटले पराजित गर्दै स्याङ्जा क्रिकेट सङ्घले फाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो । टस जितेर ब्याटिङ रोजेकोे चितवनले २० ओभर खेल्दै १० विकेटको क्षतिमा १०३ रनको योगफल तयार पा¥यो । चितवनका लागि साकार ढकालले ३५ बलमा तीन चौका र दुई छक्कासहित ३५ रन, गौतम केसीले १४ बलमा दुई छक्का सहित नटआउट १७ रन तथा सुजन चापागाईंले २५ बलमा १७ रनको योगदान दिनुभयो ।

बलिङतर्फ स्याङ्जाका विपिनराज न्यौपानेले चार ओभरमा १७ रन दिँदै चार विकेट, ईश्वर खनालले चार ओभरमा १० रन खर्चिंदै दुई विकेट लिनुभयो । १०४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाले ६ विकेट बाँकी छँदै जित हासिल गर्न सफल भयो । स्याङ्जाले १९ ओभरमा जम्मा चार विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेपछि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । स्याङ्जाको जितका लागि ईश्वर क्षेत्रीले १९ बलमा चार चौका र एक छक्काको सहायताले २५ रन, किरण पङ्गेनीले ३१ बलमा २१ रन तथा विष्णु पाण्डेले ११ बलमा दुई चौका र एक छक्कासहित १७ रनको योगदान दिनुभयो ।

बलिङतर्फ चितवनका गौतम केसीले चार ओभरमा २१ रन दिँदै तीन विकेट तथा दनिश एकवालले चार ओभरमा १४ रन दिएर एक विकेट लिनुभयो । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजारसहित कप मेडल र प्रमाणपत्र पाउने छ । सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत नगदसहित कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल भोलि २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय