अर्थमन्त्री र विश्व बैंकको प्रबन्ध निर्देशकबीच भेट, हालसम्म तीन अर्ब डलर बराबरको बित्तीय सहकार्य

२०७९ असार ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं , ५ असार । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभएको थियो ।

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’ भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको बित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो । ‘विश्व बैंकसँगको बित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गनृ हामी सबैको प्रयास रहनेछ’ मन्त्री शर्माले भन्नुभयो । सो अवसरमा आर्थिक बर्ष ०७९/८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो ।

‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बन्चितिकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु’ उहाँले भन्नुभयो । सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि बित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय