बजेट अभावले महिला मन्त्रालयले चाहेअनुसारको काम गर्न सक्दैन’

२०७९ असार १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १३ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारको काम हनु नसकेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिनुभयो ।

महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो मन्त्रालयमा आएको उल्लेख गर्दे उहाँले भन्नुभयो, “यो मन्त्रालय प्रोजेक्ट हो की भूमिका के हो स्पष्ट हुनुपर्ने देखिएको छ, किनभने रु एक अर्बको बजेट पनि देख्न नसक्ने थियो, अहिले लभिङ् गर्दा रु एक अर्ब ७८ करोड बजेट आएको छ ।” उहाँले बजेटका अभावले चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभयो ।

मन्त्री रेग्मीले ज्यान जोखिममा रहेका महिलाका लागि २०७५ सालदेखि हवाई उद्धार गर्दे आएको र कार्यविधिअनुसार ४८ जिल्लामा उक्त सेवा लागू भएको जानकारी दिनुभयो । उहाँले आम जनताले उक्त सेवा पाउने गरी अघि बढेको पनि बताउनुभयो ।

राष्ट्रियसभाका सांसदहरुले हवाई उद्धारभन्दा बर्थिङ् सेन्टर नै स्थायी समाधान हुनेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको सन्दर्भमा मन्त्री रेग्मीले बजेट अभावका कारण पर्याप्त बर्थिङ् सेन्टर सम्भव नभएको तर आगामी वर्षमा त्यसका लागि बजेट बढाएर मन्त्रालयबाट आवश्यक प्रयास गर्ने जानकारी दिनुभयो ।

मन्त्री रेग्मीले विपन्न र एकल महिलाका लागि आर्थिक तथा सामाजिक अवसर प्रादन गर्न, आर्थिक सशक्तिकरण गर्न, जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उद्यमी बन्न इच्छुक महिलाका लागि आवश्यक सहयोग गर्दे आएको जानकारी र महिला पहिला कार्यक्रमले राज्यको हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता बनाउने विश्वास लिइएको मन्त्री रेग्मीको भनाइ छ । बेलुका अबेरसम्म काम गर्ने महिलाका लागि घरसम्म सुरक्षितरुपमा पुग्ने वातावरण सिर्जना गर्नका लागि नेपाल प्रहरीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

मन्त्री रेग्मीले सडक बालबालिका तथा जोखिमपूर्ण बालिबालिकाको उद्धार तथा स्वास्थ्य उपचारका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । लागुऔषध दुव्र्यसन, साईबर अपराध, बालविवाहलगायतमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना रहेको पनि उहाँले सुनाउनुभयो । उहाँले सबै पालिकामा बालउद्यान निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको तथा काठमाडौँको गोठाटारमा वृद्धाश्रम निर्माण कार्यका लागि खरिद प्रक्रिया चलिरहेको र तीन वर्षभित्रमा आश्रम तयार पारिने बताउनुभयो ।

उक्त आश्रम बनेपछि पशुपतिमा रहेका ज्येष्ठ नागरिकलाई स्थान्तरण गरिने योजना रहेको मन्त्री रेग्मीले जानकरी दिनुभयो । उहाँले स्थानीयस्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको कार्य पनि अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय