स्याङ्जामा गठबन्धन भए काङ्ग्रेसलाई घातक हुने, यस्ता छन् कारण

२०७९ आश्विन ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा ,४ असोज । मंसिर ४ मा हुन लागेको संघ र प्रदेशको चुनावमा स्याङ्जामा गठबन्धन गरे नेपाली काङ्ग्रेसलाई हानी हुने काङ्ग्रेसका नेता तथा कार्यकर्ताको भनाइ छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम र गठबन्धन दलको जिल्ला संगठनलाई आधार मानेर काङ्ग्रेस समर्थकहरुको यस्तो भनाइ आएको हो ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका स्थानीय तह जतिमा हार बेहोर्नु परेपछि स्याङ्जामा गठबन्धनको औचित्य नदेखिएको नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालको भनाइ छ । स्याङ्जा जिल्लाका ११ वाट स्थानीय तहमा नेपाली काङ्ग्रेस एक्लै चुनाव लडेको ठाउँमा नेपाली काङ्ग्रेसले विजय प्राप्त गरेको छ भने गठबन्धन गरेका स्थानमा हार बेहोर्नु परेको छ । प्रवक्ता लम्सालका अनुसार गठबन्धन स्याङ्जा काङ्ग्रेसका लागि घातक हुनेछ ।

त्यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द रानाभाटले पनि स्याङ्जामा गठबन्धनको औचित्य नरहेको धारणा राख्नु भएको छ । हेर्ने कुरा अनलाइनसंग कुराकानी गर्दै उहाँले भन्नुभयो  यो अघिको निर्वाचनमा एमाले र माओवादी अर्थात नेकपा बनेर लड्दा स्याङ्जाको क्षेत्र नम्बर १ को “क” मात्रै माओवादीले जितेको थियो । अहिले स्थानीय तहको निर्वाचनलाई आधार मान्दा अहिले उक्त क्षेत्रमा माओवादी मात्रै १२ सय देखि १४ सयसम्म मतदाता भएको पाइन्छ भने काङ्ग्रेसका मतदाता १५ हजार देखि २० हजारसम्म रहेको पाइन्छ । विगतको संघ र प्रदेशको निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा स्याङ्जामा गठबन्धनको औचित्य नरहेको उहाँको तर्क थियो ।

नेपाली काङ्ग्रेस बिरुवाका सभापति अर्थात भर्खरैको स्थानीय तहको निर्वाचनमा गठबन्धनकै कारण पराजय बेहोर्नु भएका डोलराज पोख्रेलले पनि स्याङ्जामा गठबन्धनको औचित्य नरहेको धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो  “स्याङ्जामा गठबन्धन नभएको स्थानमा नेपाली काङ्ग्रेसले निर्वाचन जितेको छ । जहाँ गठबन्धन भएको छ त्यहाँ नेपाली काङ्ग्रेसले पराजय बेहोर्नु परेको छ । जसको एउटा उदाहरण मेरै पालिका हो र म स्वयं त्यसको भागिदार हु ।”

यी हुन गठबन्धन घातक कारण

१. हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका स्थानमा मात्रै हार बेहोर्नु

एघार वटा स्थानीय तह भएको स्याङ्जा जिल्लामा पाँच स्थानीय तहमा गठबन्धन भएको थियो भने ५ वटा स्थानीय तहमा नेपाली काङ्ग्रेस एक्लै चुनाव लडेको थियो र एउटा स्थानीय तहमा गठबन्धन भएपनि चुनाव चिन्ह भने रुख नै मानिएको थियो । यसरी हेर्दा गठबन्धन गरेका ५ स्थानीय तह नेपाली काङ्ग्रेसले गुमाउनु पर्यो भने गठबन्धन नगरेका ५ स्थानीय तह र रुख चिन्ह लिएर लडेको गठबन्धन गरेको स्थानीय तहमा नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको थियो ।

गठबन्धन भएर हार बेहोर्नु परेका स्थानीय तहहरु  :
-फेदिखोला गाउँपालिका : उपाध्यक्ष सहित केहि वडा गठबन्धनलाई
-बिरुवा गाउँपालिका : उपाध्यक्ष सहित केही वडा गठबन्धनलाई
-हरिनास गाउँपालिका : उपाध्यक्ष सहित केही वडा गठबन्धनलाई
-कालीगण्डकी गाउँपालिका : उपाध्यक्ष सहित केही वडा गठबन्धनलाई
-आधिखोला गाउँपालिका : उपाध्यक्ष सहित केहि वडा गठबन्धनलाई

गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै लडेका स्थानीय तहहरु :
पुतलीबजार नगरपालिका  : नेपाली काङ्ग्रेस विजयी
भिरकोट नगरपालिका : नेपाली काङ्ग्रेस विजयी
वालिङ् नगरपालिका : उपप्रमुख सहित केही वडा नेपाली काङ्ग्रेस विजयी
गल्याङ नगरपालिका : नेपाली काङ्ग्रेस विजयी
चापाकोट नगरपालिका : नेपाली काङ्ग्रेस विजयी

गठबन्धन गरेर रुख चिन्हबाट निर्वाचन लडेका स्थानीय तह

अर्जुनचौपारी गाउँपालिका : नेपाली काङ्ग्रेस विजयी

यसरी तथ्यांक हेर्दा गठबन्धन भएका स्थानीय तहमा नेपाली काङ्ग्रेस हारेको र एक्लै निर्वाचन लडेको ठाउँ नेपाली काङ्ग्रेसले विजय प्राप्त गरेको देखिन्छ ।

२. गत निर्वाचनमा नेकपा विरुद्ध काङ्ग्रेस एक्लै निर्वाचन लड्दा पुरै जिल्लाबाट मात्रै १ सिट

संघमा दुई र प्रदेश सभामा चार वटा प्रत्यक्ष निर्वाचन लड्ने स्याङ्जा जिल्लामा यस अघिको निर्वाचनमा पुरै नेकपा र काङ्ग्रेस बीच मात्रै प्रतिस्पर्धा हुँदा पनी प्रदेशसभामा एक सिट मात्रै गठबन्धनमा रहेको दल माओवादीले विजयी प्राप्त गरेको देखिन्छ भने हाल नेकपा टुक्राटुक्रा भएको अवस्थामा त्यस क्षेत्रमा पुन माओवादीले निर्वाचन जित्न सक्ने आधार देखिदैन ।

३. गत निर्वाचनमा चुनाव जितेको ठाउँमा  १२ सय मतदाता

गत निर्वाचनमा स्याङ्जाको १ को “क” बाट प्रदेशसभाको लागी विजयी प्राप्त गरेको सत्ता गठबन्धनमा रहेको माओवादीको भोट १२ सय देखि १५ सय सम्म मात्रै रहेको पाइन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा नेपाली काङ्ग्रेसकाे मत १५ देखि २० हजार रहेको पाइन्छ ।

४. गठबन्धन दलको संगठन नहुनु

सत्ता गठबन्धनमा रहेका कतिपय दलले जिल्ला कार्यसमिति बढो मुस्किल गठन गरेको पाइन्छ भने स्थानीय स्तर र गाउँ गाउँसम्म ती दलका संगठन भेटिदैन्न ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय