स्याङ्जा, १० बैशाख । गल्याङ नगरपालिका भित्रको शिक्षा क्षेत्रको गुणस्तरको बारेमा विभिन्न प्रश्न उठिरहेका बेला पालिकाले शिक्षाको गुणस्तर सुधार तर्फ ध्यान दिनुको साटो उल्टै निजि क्षेत्रका बिधालयको सवारीसाधनमा रोक लगाएको छ ।
सरकारी स्कुलमा विद्यार्थी घट्दै गएको र धेरै विद्यार्थी आफ्नै वडा भन्दा बाहिर गएको भन्दै गल्याङ नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र अन्य बिधालयका सवारीसाधन चलाउन रोक लगाएको छ । वडा कार्यलयले जारी गरेको पत्रमा उल्लेख भएअनुसार वडा नम्बर २ मा रहेको श्री शिवालय मा.बी.मा विद्यार्थीको संख्या घट्दै गएको र आफ्नो वडाका विद्यार्थी अन्यत्र गएको हुँदा अन्यत्र स्कुलका स्कुल बस आफ्नो वडा भित्र प्रवेश नगर्न अनुरोध गरिएको छ । पत्र अनुसार अन्यत्रका स्कुल बस आफ्नो वडामा आएर विद्यार्थी लिएर जादा आफ्नै वडाको स्कुल बन्द हुने अवस्थामा पुगेको हुँदा अन्य क्षेत्रका स्कुलबस आफ्नो वडामा प्रवेश नगर्न आग्रह गरिएको छ ।
वडाले जारी गरेको पत्र उक्त वडामा विद्यार्थी लिन आउने बिधालयमा पुगेपनी उक्त पत्रको बारेमा नगरपालिकाको शिक्षा शाखा लाई कुनै जानकारी नभएको गल्याङ नगरपालिका शिक्षा शाखाका प्रमुख केदार आचार्यको भनाइ छ । आचार्यले हेर्ने कुरा डट कम संग कुराकानी गर्दै भन्नुभयो “बस रोक लगाउने बारेमा वडा अध्यक्षले एक पटक सोध्नु भएको थियो । मैले त्यसो गर्न हुँदैन भनेको हो । बाकी पत्रको बारेमा शिक्षा शाखालाई कुनै जानकारी छैन ।”
आफ्नो वडाका विद्यार्थी अन्यत्र गए भनेर विद्यार्थी रोक्न स्कुलबस रोक्ने वडाको निर्णय अव्यावहारिक भएको चिरान आवासीय उच्च माध्यमिक बिधालयका पिन्सिपल टेक बहादुर खत्रीको भनाइ छ । उहाँले भन्नुभयो “विद्यार्थी रोक्न अन्यत्रका स्कुलबस रोक लगाएर होइन उक्त स्कुलको शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।” विद्यार्थीले रोजेको स्कुलमा पढ्न पाउने भन्दै यसमा कसैले जबर्जस्ति गर्न नहुने उहाँको धारणा थियो ।
“देशमा गणतन्त्र आयो भन्छन् तर यहाँ हाम्रा छोराछोरीलाई पढ्न समेत रोक लगाइएको छ।” गल्याङमा रहेको चिराग आवासीय उच्च माबीमा गल्याङ नगरपालिका २ को इलुङा देखि आफ्नो छोराछोरी पढ्न पठाउनु भएका तिल प्रसाद थापाको भनाइ छ । उहाँले भन्नुभयो “इलुङाबाट करिब १०,१२ जना विद्यार्थी गल्याङको चिराग आवासीय उच्च माध्यमिक बिधालय पढ्न जाने गरेका छन् । यो निर्णयले विद्यार्थीको मानसिकतामा समेत असार परेको छ ।” विद्यार्थी रोक्न यस्तो निर्णय गर्न भन्दा स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नै वडालाई उहाँको सुझाव छ । त्यस्तै जैपतेदेखि छोराछोरी पढ्न गल्याङ पठाउदै आउनु भएका अभिभावक ज्ञानु थापाले पनि यस्तो निर्णय प्रति असहमत जनाउनु भएको छ । उहाँले भन्नुभयो “विद्यार्थी यहीँ सरकारी स्कुलमा पढाउनु पर्छ भन्ने निर्णयमा मेरो मात्रै हाेइन सबै अभिभावकको असहमति छ ।” स्कुलको गाडी रोक लगाएपछि आफ्ना छोराछोरी सार्वजनिक सवारीसाधनमा स्कुल पठाएको गुनासो उहाँले सुनाउनुभयो । “शिक्षाको गुणस्तर सुधारक तिर ध्यान दिनुस् हामी विद्यार्थी लिएर आफ्नै आउछौ । “