सुशील अर्याल
आज जुन १ अर्थात् बिश्व दुग्ध दिवस (मिल्क डे) । केहि बर्ष अघि दुध बिदा (मिल्क डे) हुने गरेको भएपनि ५, ६ बर्ष जती भयो बिदा सुनिएको थिएन तर यसबर्ष दूध बिदा (मिल्क डे) सुनिन आएको छ । दूध एक पोषक तत्वयुक्त सेतो तरल पदार्थ हो जुन पोथी स्तनपायी प्राणीहरूको स्तन ग्रंथिहरूले उत्पादन गर्दछ। यो अन्य प्रकारका खाना पचाउन सक्नु अघि शिशु स्तनपायी जन्तुहरू (स्तनपान गराएका मानिस सहित) को लागि पोषणको प्राथमिक स्रोत हो । नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छन् । सुरुको दुधलाई कोलोस्ट्रम भनिन्छ, जसले आमाको एन्टिबडीहरू आफ्ना शिशुलाई दिन्छ र धेरै रोगहरूको जोखिम कम गर्न सक्छ । यसमा प्रोटीन र ल्याक्टोज सहित अन्य धेरै पोषक तत्वहरु समावेश हुन्छ ।
साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । गाई–भैंसी वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ । यस वाहेक दूधमा धेरै इन्जाइम र केही जीवित रक्त कोषिकाहरू पनि हुन सक्छन अझ बाख्रा को दुध मा टीबी र मेलोमा क्यान्सर रोक्न सक्ने क्षमता समेत हुनछ ।
बिश्वमा दुधको अवस्था
पशुजन्य उत्पादनको रूपमा, दुध गर्भावस्थाको समयमा वा गर्भावस्थाको पश्चात पालिएका जनावरहरूबाट निकालिन्छ। संसारमा दुग्ध फार्मले २०११ मा २६० लाख दुग्ध गाईबाट लगभग ७३० मिलियन टन दुध उत्पादन गरेको थियो। विश्वमा भारत दुधको सबैभन्दा ठूलो उत्पादक हो र पाउडर दुधको अग्रणी निर्यातकर्ता हो, यसले थप अन्य दुध उत्पादनहरू पनि निर्यात गर्दछ। दुग्धजन्य उत्पादनहरूको आन्तरिक मागमा निरन्तर वृद्धि र माग–आपूर्ति अन्तर ठूलो हुदै गइरहेको अवस्थामा भारत भविष्यमा दुग्धजन्य उत्पादनहरूको खुद आयातकर्ता हुन सक्छ । न्यूजिल्याण्ड, जर्मनी र नेदरल्याण्ड्स दुग्ध उत्पादनको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् । २०१६ सम्म दुध र दुग्ध सामाग्रीहरूको लागि विश्वको सबैभन्दा ठूलो आयातकर्ता चीन र रसिया थिए तर २०१६ पछि दुबै देश आत्मनिर्भर भए र विश्व–दुधमा उपलब्ध गराएर योगदान गरेको छ ।
विश्व भरमा, छ अरब भन्दा बढी मानिसहरु दुध र दुध उत्पादनहरु उपभोग गर्छन्। डेरी फारम गर्ने परिवारहरूमा ७५० लाख भन्दा बढी मानिसहरू बस्छन् ।”दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक सम्वृद्धिको आधार” भन्ने मुल नाराका साथ विश्व दुग्ध दिवस मनाइएको थियो ।
नेपालको हालको अबस्था
हाल बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रति ब्यक्ती ९१ लिटर बार्षिक आबश्यक पर्छ भनेर निर्देशित गरेको छ । तर नेपालमा हालसम्म प्रति ब्यक्ती ८५ लिटर उपभोग गरेको तथ्याङक देखिएको छ । दुधलाई पहिला पहिला हाम्रो समाजमा ब्यापारको लागि योग्य मानिदैनथ्यो । तर आजकल दूध बेचेर शहरी क्षेत्रबाट प्रति दिन २ करोड ५० लाख भन्दा बढी रकम ग्रामिण क्षेत्रमा दैनिक प्रबाह भइरहेको छ । दुध उत्पादनमा प्रतिबर्ष बृद्धि हुदै गएको छ । केहि बर्ष अघि दुध बिदा (मिल्क होलीडे) हुने गरेकोमा ५, ६ बर्ष जती भयो बिदा सुनिएको थिएन तर यसबर्ष दूध बिदा (मिल्क होलीडे) सुनिन आएको छ । तर दुधको उत्पादन ७ प्रतिशतले बृद्धि भएको छ मागमा ६.५९ प्रतिशतले बढेकोले मागको तुलनामा आपूर्ति पनि क्रमस बृद्धि भएको छ तर मागलाई पुरा गर्ने सामथ्र्य देखिदैन । यद्यपी यो तथ्यले दूध बिदा नहुनु पर्ने हो । दूधको माग बढेका कारणले मानिसमा पशुपालन तर्फ आकर्षण बढेको छ । तर यस पेशालाई अझ आकर्षित बनाउन अझै सकिएको छैन । आकर्षित.गराउन धेरै काम गर्न आबस्यक छ ।
हाल नेपालमा दुध को उपलब्धता
पशुपालन व्यवसायको एक महत्वपूर्ण अंग दुग्ध व्यवसाय भएकाले पोषणयुक्त खाद्यपदार्थमा दूधको स्थान सबैभन्दा उच्च रहेको छ । कृषिक्षेत्रको एक प्रमुख हिस्साका रूपमा स्थापित दुग्ध व्यवसायबाट कुल गार्हस्थ्य उत्पादनमा करिब ९ प्रतिशत योगदान दिएको छ । मुलुकमा करिब ५ लाख परिवार यस पेसामा संलग्न भई प्रत्यक्ष रूपमा लाभान्वित भएको पाइएको छ । दूध उत्पादन तथा बिक्री–वितरण कार्य देशैभरि फैलिएका दुग्ध उत्पादक कृषकहरूद्वारा गठित समूह तथा सहकारीमार्फत हुने गरेको छ । दूध व्यवसायले स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना गरेको हुनाले नेपाल सरकारले डेरी उद्योगलाई प्राथमिकतामा राख्दै वि. सं. ०७५÷७६ सम्ममा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य थियो । प्रतिव्यक्ति दूधको उपभोग विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको दैनिक २ सय ५० एमएल भए तापनि दैनिक उपलब्धता २ सय ३२ एमएल मात्र भएको पाइन्छ ।
नेपालमा कुल गाई संख्या ७४,१३,१९७ छन् ति मध्य मात्र को दुध उत्पादन २५,६६,६१४ मेट्रिक टन दूध बार्षिक हुन्छ । भैसी तर्फ कुल संख्या ५१,३२,९३१ छ जसमध्य दूध दिनेको संख्या १६,६६,८२७ मात्र छन र तिन्ले दिने दूध १४,६४,८०२ मेट्रिक टन मात्र उत्पादन हुन्छ । देशको कुल उत्पादन २५,६६,६१४ मेट्रिक टन मध्यमा केबल १७ प्रतिशत दूध मात्र बजारमा बिक्री गरिन्छ कुल गाईका १६.१९ प्रतिशतले मात्र दुध दिन्छन भने भैसीमा पनि ३०.६७ प्रतिशतले दुध दिनेगरेका तथ्याङ्कबाट देखिन्छ। अरु सबै पशुहरु अनुत्पादक देखिन्छन् ।
हाल दुध तथा दूधजन्य पदार्थ ब्याबसाय मा देखिएको केहि समस्या हरु
विशेषतः दूध कम हुने र बढी हुने याममा दूध उत्पादन लागतको नियमित अध्ययन नहुनु, अनौपचारिक क्षेत्रका साना उद्योगहरूले प्याकेजिङ र लेभलिङ नगर्नु, कम गुणस्तरीय कच्चा दूध खरिद गर्नुपर्ने बाध्यता, बढी उत्पादन हुने समय (पिक सिजन) मा उत्पादित दूधको व्यवस्थापन नहुनु, सबै डेरी उद्योगहरूमा ढल पुनः उपयोगका लागि ट्रिटमेन्ट प्लान्ट नहुनु, दुग्ध प्रशोधन उद्योगलाई कृषि उद्योगसरहको मान्यता नदिनु, ठूलो संख्यामा अनुत्पादक पशुहरू हुनु तथा उन्नत पशुहरू नहुनु, पशुपालन व्यवसाय व्यावसायिक नहुनुका साथै दूध उत्पादन, संकलन तथा प्रशोधन प्रक्रियालाई यान्त्रीकरण गर्न नसक्नुजस्ता कारणले दुग्ध व्यवसाय ओझेलमा पर्नुका साथै उपभोक्ताले गुणस्तरीय दूध पाउन नसकेको अवस्थामा देहायका विषयहरूलाई कार्यान्वयनमा ल्याउनुपर्ने
दुध उत्पादन वृद्धि गर्न खेल्नु पर्ने भूमिका
उत्पादन लागत घटाउनु पर्ने : उत्पादन लागत घटाउन हरियो पोषिलो र प्रविधिमा पहुँच का साथै उपयुक्त ज्ञानको प्रयोग भयो भने मात्र पशु पालन मा उत्पादन लागत घट्छ ।
उचित लगानी : व्यवसाय गर्न लगानीको आवश्यकता पर्छ । लगानी कसरी जुटाउने र त्यसको लागत कति पर्छ भन्ने सधैं ख्याल गर्न जरुरी हुन्छ ।
सन्तुलित लगानी : लगानी योग्य रकम भएर मात्रै हुँदैन । त्यसको सही उपयोग हुन सकेन भने व्यवसायमा समस्या पर्छ । स्थिर सम्पति, चालु सम्पति, सञ्चालन लागत सबै विषयमा ध्यान पुर्याउन र सन्तुलन मिलाउनु पर्छ ।
प्राबिधिक ज्ञान : कुनै पनि व्यवसाय गर्न दक्ष जनशक्तिको आवश्यकता पर्छ । सानो व्यवसाय छ र थोरै जनशक्ति लाग्ने अर्थात् आफैंले सबै काम गर्ने हो भने पनि आफूले गर्ने व्यवसायको आधारभूत ज्ञान हुनुपर्छ।
उचित प्रविधिको उपभोग : अहिलेको समयमा अब प्रविधिलाई साथमा नलिइकन व्यवसायलाई सफल बनाउन सकिँदैन भनेर बुझ्दा हुन्छ । त्यसैले आवश्यक मात्रामा प्रविधिमा लगानी गर्न र प्रविधिको प्रयोग गर्न पछि पर्नु हुँदैन ।
अभिलेख राख्नु पर्छ : नेपालमा फारमहरुमा ब्याबस्थित अभिलेख हरु भएको त्यति पाइदैन् जब सम्म ब्यबस्थित अभिलेख हुन् तब सम्म नाफा भयो कि घाटा भयो थाहा हुदैन अझ हिसाब राख्ने गरे खर्च बढ्छ भन्ने मान्यता राख्छन् ।
असल माउ गाई/भैसी पालन : दूध उत्पादनमा लाग्ने व्यवसायिक किसानले दूध दिने पशुको नश्लमा ध्यान दिएर सुधारको योजना बनाउनु पर्छ । धेरैै गाई धेरै दूधको अवधारणामा परिवर्तन गरेर असल गाई /भैसी धेरै दूधको उत्सादन अवधारणामा जानुपर्छ ।
बाच्छी तथा पाडी हुर्काउने योजना : उन्नत जातका बाछी/पाडी हुर्काउन ध्यान दिनुपर्छ । किसानले बाछी हुर्काउँदा लाग्ने लागत मात्रै हेरेर हुँदैन । कति किसानले बाछी हुर्काउनुभन्दा गाई किनेर ल्याउनुमा फाइदा देख्दा बाछीको बेवास्ता गरिन्छ । बाछी हुर्काउन सक्दा नश्ल सुधार हुने, रोग प्रतिरोधात्मक क्षमता बढी हुने, स्थानीय हावापानी, बासस्थान, रहनसहन आदिमा परिचित हुनेहुँदा गाई/भैसी सन्तुष्ट हुन्छन् र उत्पादन बढ्ने अवस्था आउँछ ।
दाना किनेर भन्दा आफै बनाएर खवाउनु पर्छ : पशु आहाराको नाममा रेडिमेट चोकर र परालले गाईको स्वास्थ र उत्पादन दुवै बिग्रन्छ हाल बजार मा राम्रो भन्दा नराम्रो पशु आहारा बिक्रि वितरण भएको पाइन्छ जसले गर्दा खर्च बदी हुनुको साथि पशु को स्वास्थ मा समेत नराम्रो असर गर्दछ त्येस कारण ले आफै दाना तयार गर्दा राम्रो हुन्छ । घाँसको नाममा नपोषिलो घास खुवाउनु पनि बुद्धिमानी होइन । जब व्यवसायिक पशुपालनको कुरा गर्छौं, तब उन्नत जातका मौसमी र बहुवर्षे घाँसको खेती अनिवार्य हुन्छ । घाँसबाट साइलेज र हे बनाउने, गाई÷ भैसी लाई खान उपयुक्त हुने गरी काट्ने टुक्राउने, सन्तुलित आहाराको व्यवस्था गर्ने, पर्याप्त र सफा पानीको नियमित व्यवस्था गर्ने, गाईलाई पर्याप्त खाना दिने गर्नुपर्छ ।
गाईको स्वास्थ्यमा मा ध्यान दिने : गाईलाई सधै दाम्लाले बाँधेर फोहोर गोठमा थुन्दा गाई कसरी खुसी हुन्छ होला र ? झिंगाले टोक्ने, तिर्खा लाग्दा पानी खान नपाउने, भोक लागेको बेला खान नपाउने, खान पाए पनि पोसिलो र सन्तुलिन खान नपाउने, रोग लाग्दा बेलामा उपचार नपाउने, बस्ने ठाउँ असजिलो हुने, जाडोमा कठाग्रिंने, गर्मीमा अभै तातिनु पर्ने, स्याहार गर्ने मानिसले सधैं गालीमात्रै गर्ने गर्नु हुदैन दैनिक गाइ भैसीको अवस्था निरीक्षण गर्नु पर्छ ।
उपयुक्त गोठ : गोठ निर्माणमा देखाउन कै लागि धेरै लगानी गर्ने तर गाईको आहार र स्याहारमा खासै ध्यान नदिने व्यवसायिक बन्ने रहर गरेका गोठका मालिकहरुको अवस्था छ । कतै गोठ बनाउँदा गाईको सुविधा र खुसीमा अलिकति पनि ध्यान दिएको पाइन्न । अनुभव र विज्ञको परामर्शमा गोठ अनुकूल बनाउनु पर्छ । बनेको गोठलाई सकेसम्म सहज बनाउने गर्नु उपयुक्त हुन्छ ।
बार्षिक उत्पादनको योजना : दूध व्यवसायीले नियमित उत्पादनमा जोड दिने गरी योजना बनाउनु पर्छ । अझ बजारमा दूधको अभाव हुने सिजनमा बढी उत्पादन गर्ने हो भने बढी मूल्य पाउने सम्भावना हुन्छ । तर कुनै पनि गोठमा यो किसिमको योजना बनाएको पाइँदैन । यो व्यवसायिकताको अभाव हो ।
बिमा गरेर मात्र काम सुरु गर्ने : व्यवसायमा जहिले पनि जोखिम हुन्छ । त्यसमा पनि उखानले भन्छ ‘सासको धन गन्दै नगन’ । त्यसैले सुरक्षात्मक उपायका लागि बीमा लगायतको उपाय सधैं अपनाउनु पर्छ ।
नविनतम सोच : कुनै पनि व्यवसायमा अनुभव लिन, सिक्न समय लाग्छ । नोक्सान भयो, भनेजस्तो भएन, अरु व्यवसाय नै राम्रो, यसमा दुखः धेरै भयो, समस्या धेरै रहेछन् आदि कुरा गरेर छिटोछिटो व्यवसाय परिवर्तन गर्नाले व्यवसायमा भएका कमजोरी सुधार्ने, गल्तीबाट सिक्ने, नयाँ सुधार र प्रयोग गर्ने अवसर गुम्छ । यस्तो अवस्थामा व्यवसाय सफल हुँदैन । पुरानो उखान नै छ ‘जुन काठको बोक्रो उही काठमा ’ ।
अबसरको पहिचान : दूधका लागि पालिने पशु व्यवसायको नेपालमा प्रचुर सम्भावना छ । तर यो आधुनिक विधि प्रविधियु्क्त हुन आवश्यक छ । धेरै किसानले सोच्ने गर्छन्, गाई किनेर ल्यायो दैनिक दुईपटक दूध दोयो । दूधको आधा पैसाको गाईलाई दाना, आधाले गाईको मूल्य एकै बेतमा उठाउँछ । त्यसपछि गाई नाफामा । यो हिसाब साह्रै बेठीक होइन । तर, यसमा जोखिमको मात्रालाई कम गर्ने, खर्च घटाउने, उत्पादन लागत कम गर्ने उपाय अपनाउने, उत्पादन बढाउन कोशिस गर्ने, उप उत्पादन (गोवर, गहुँत, बाछाबाछी) बाट अधिक लाभ लिन कोशिस गर्ने हो भने मात्रै व्यवसाय फाइदामा जान सक्छ ।
गोठमा स्वास्थ्य बाछी हुर्काएर : राम्रो जातको ब्रिडबाट गर्भाधारण गराउने हो भने व्यवसायमा फाइदाको बाटो हिडिन्छ । तर बाछीले यति दूध खान्छ, बाछी हुर्काउन र माउ बनाउन तीन वर्षजति लाग्छ । त्यो बेलासम्म धेरै दाना खाइसक्छ । उत्पादन दिँदैन भन्ने सोचले लैना गाई ल्याएर गोठमा सधैं दूध दुहुने र दूध बेच्ने मात्रै सोच बनाउँदा व्यवसाय नाफामा जान र दिगो विकास हुन मुश्किल हुन्छ ।
सरकारी निकायसंग नजिक रहेर काम गर्ने : किसानलाई सधैं सरकारको सहयोगका आवश्यकता पर्छ । तर सरकारको अनुदान सहयोग कमिशन केन्द्रित हुँदा न त्यो सही किसानसम्म पुग्छ न सदुपयोग हुन्छ । वास्तवमा किसानलाई आर्थिक अनुदानभन्दा पहिला शिक्षा, प्रविधि, प्रोत्साहन, सुरक्षा, सुरक्षित बजार, सहुलियतसहितको सहज कर्जा आवश्यक छ । यसमा सरकारको ध्यान पुग्न सके दूध उत्पादनको ठूलो सम्भावना छ । रोजगारीको सिर्जना, आवश्यक पर्ने उत्पादन, व्यवसायिक ज्ञान र सीपको विकासमा सहयोग पुग्न सक्छ ।
अन्त्यमा,
नेपाल लागि दुधमा आत्मनिर्भर बनाउन सरकारको तर्फ बाट केहि कुरा हरु गर्नुपर्ने हुन्छ । जसको लागि दुधजन्य पदार्थको आयातमा कडाइ गर्नु पर्छ । स्थानिय उत्पादन लाइ मुल्यशृंखलामा समाबेश गरिनु पर्ने हुन्छ । जस्तै उयपदार्थहरु बनाउने, सहुलियत ऋण, सहज बिमा, यान्त्रिकरण मा अनुदान, बिक्रीको ग्यारेन्टी, उन्नत जातको सिमेन, भु्रण उपलब्ध अनि सेक्स सिमेन, समुह, सहकारीमार्फत दुध चिस्यान केन्द्र स्थापनामा बिद्युत र अनुदान प्रोत्साहन दिनु पर्छ । समयमा रोग बिरुद्धको खोप दिनुपर्ने जस्ता कुराहरुमा बिशेष कार्यक्रम लागु गरेर दुधमा आत्मनिर्भर हुन सकिन्छ।