डाक्टरहरू सडकमा बसेरै प्रदर्शन

२०८० आश्विन १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरेका हुन् । उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाएका छन् ।

‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ,’ उनले भने ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिए । ‘अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’

आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गरे । उनले भने, ‘घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।’

आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताए । उनीहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग राखेका थिए ।

समितिका अधिकांश सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनएको थिए । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय