काठमाडौँ, १७ असोज । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूलाई चुनाव जिताउन सहयोग गर्ने अधिकारीलाई न्यायाधीश बनाएको आरोप लगाउनुभएकाे छ ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई दुई घण्टा लामो सम्बोधन गर्दै ओलीले बुुथ कब्जा गरेर पितृकाे समेत भोट हालेकाे मत सदर गर्ने तत्कालिन स्याङ्जा–२ का निर्वाचन अधिकृत रामचन्द्र शर्मालाई न्यायाधीशको उपहार दिएको आरोप लगाउनुभएकाे हाे ।
कानुनमन्त्री गुरुङलाई दोष लगाउँदै ओलीले भन्नुभयाे, ‘बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला ?’ ओलीले व्यंग्य गर्दै भन्नुभयाे, ‘जित्नको लागि ९९ प्रतिशत मत खसालेको छ । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत खाडीमा छन् । केही मान्छेमाथि गए ती पनि मत खसाल्न आए । कति पपुलर पितृले पनि मत खसाले ।’
न्यायपरिषदले हालै गरेको उच्च अदालत र जिल्ला अदालतको न्यायाधीश नियुक्तिकाे परीक्षामा फेल भएकाहरुलाई अघिल्लो वरियता र परीक्षा उतीर्ण गरेकालाई पछिल्लो वरियता राखिएकामा पनि ओलीकाे आपत्ति छ ।
उहाँले संसद विघटनको मुद्दामा आफ्नाविरुद्ध लाग्ने कानुन व्यवसायीलाई पनि न्यायाधीश नियुक्ति गरिएको टिप्पणी गर्नुभयाे । ‘धेरै कुरा किन गरौं, मेराविरुद्धको मुद्दामा उफ्री उफ्री सक्रिय भूमिका खेल्ने फर्मका सहयोगी वकिललाई पनि न्यायाधीश बनाउनु परेको रहेछ । यसैगरी हुन्छ निष्पक्ष न्यायालय ? यसैगरी बन्छ अदालत ?’
गठबन्धनलाई मन नपर्ने आदेश गर्ने न्यायाधीशलाई धकेलेर रोल्पारुकुम सरुवा गरिएको पनि उहाँको आरोप छ । ‘तपाईंहरुले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ? यदि हो भने त्यो सम्भव छैन । हामी पनि छौं यो देशमा’ अध्यक्ष ओलीको चेतावनी छ ‘म यस विषयमा जिम्मेवार हुन आग्रह गर्छु । सरकारमा छउञ्जेलसम्म अनेक हत्कण्डा प्रयोग गरेर बचिएला । तर, गठबन्धनले नेपाली जनतालाई जवाफ दिनुपर्नेछ एक दिन ।’