उपराष्ट्रपतिद्वारा युएईलाई आभार व्यक्त

२०८० कार्तिक २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २१ कात्तिक | उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालय लैनचौरमा आज नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीसँगको भेटमा उहाँले युएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृतिम बौद्धिकता र नवप्रवर्तन लगायतको क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिनुभयो ।

नेपालले युएईको मानव संशाधनको आवश्यकता पूर्तिमा योगदान पु¥याउँदै आएको छ”, भेटमा उपराष्ट्रपति यादवले भन्नुभयो, “पछिल्लो समय दुई मुलुकबीच समन्वय र सहकार्यको क्षेत्र फराकिलो भएको छ ।” नेपालमा भव्य प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, आतिथ्य र विविध साहसिक पर्यटनका अवसर रहेको उल्लेख गर्दै उहाँले व्यस्त आधुनिक शहरी जीवनभन्दा फरक ढङ्गले बिदा मनाउन इमिराती पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत अल शाम्सीले नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पछिको पुनः निर्माणमा आफ्नो मुलुकले सहयोग गर्न चाहेको बताउनुभयो । “युएई नेपालसँगको आपसी साझेदारीलाई थप बलियो बनाउन चाहन्छ”, उहाँले भन्नुभयो, “आगामी कोप–२८ सम्मेलनमा नेपाल आफ्नो बलियो तयारीका साथ प्रस्तुत हुनेमा म विश्वस्त छु ।”

राजदूत अल शाम्सीले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आफूले बढीभन्दा बढी इमाराती पर्यटकलाई नेपाल भित्र्याउन प्रयास गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय