फुल खेतीमा देशकै नमूना बन्दै कालीगण्डकी, सातै प्रदेशसंग जोडियो फुलको मालामा

२०८० कार्तिक २३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

कृति भट्टराई
स्याङ्जा,२२ कार्तिक । हरेक क्षेत्रमा नमुना बन्दै गएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका फुल खेतिमा पनि नमुना पालिकाको रुपमा स्थापित भएको छ ।

फुल खेती गर्ने कृषकलाई अनुदान दिने र उत्पादन भएको फुल पालिकाले जिम्मा लिने भएपछि स्थानीय कृषक फुल खेती तर्फ आकर्षित हुँदै गएका हुन् । पाँच प्रदेशमा फुल पठाइसकेकाे पालिकाले सातै प्रदेशमा फुल पठाउने तयारी थालेको छ ।

व्यवसायिक फुलखेती गर्न अग्रसर बन्दै गएको कालीगण्डकी गाउँपालिका, गत वर्षभन्दा अहिले अझै बढी आम्दानी गर्ने लक्ष्य राखेको छ । पालिका भित्र १६ वाट समुह बनाएर फुल उत्पादनमा जोड दिएको छ ।

गत वर्षको तुलनामा फुल खेतीबाट यस बर्ष बढी आम्दानी गर्ने लक्ष्य पालिकाले राखेको छ । गत वर्ष १८ लाखको कारोबार गरेको पालिकाले यस बर्ष २५ लाखको कारोबार गर्ने लक्ष्य राखेको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यस बर्ष हावापानी राम्रो भएकाले फुलको उत्पादन लोभलाग्दो छ,लाग्छ फुल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।’  पालिकाले फुल खेतिमा १ रोपनी बराबर ९ हजार अनुदान प्रदान गरेको पनि अध्यक्ष थापाले बताउनुभयो ।

पालिका भित्र १६ समुहमा उत्पादन भएको फुल कर्म ५५५ जातको रहेको कृषि शाखाका अधिकृत अनुप पौडेलले बताउनुभयो । पालिकाका अनुसार फुलखेतीमा अग्रसर भई पालिकाभित्र अनुदान लिएर फुलखेती गर्नेहरु मध्ये धरादीका हिरामणि सुवेदी,लसर्गावेशीकी पुष्पा राना, बान्सटारीका रविलाल गौडेल , लालप्रसाद न्यौपाने र बारीचौरका घनबहादुरको समूहले गरेको फूलखेती उत्कृष्ट फुल खेती गरेको तथ्यांक छ । पालिका भित्र गत बर्ष ५० रोपनीमा फुलखेती गरिएको थियो भने अहिले ६० रोपनीमा फुलखेती गरिएको पालिका उपाध्यक्ष सावित्रा कोईरलाले जानकारी दिनुभयो ।

फुल खेती गर्दै आउनु भएका बारीचौरका फुलखेती कृषक घनबहादुरले गत बर्ष भन्दा यस बर्ष फुल उत्पादन राम्रो भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो  ‘गत वर्ष पानी नपरेर‌ समयले साथ नदिएर सोचेको जस्तो उत्पादन भएन तर तिहार नजिकिँदै गर्दा राम्रो आम्दानी हुने अविलाशा राखेको छु।’ त्यसैगरी उहाँले अन्य खेती भन्दा फुलखेती सजिलो हुने भन्दै अरू खेतीबाट हुने आम्दानी भन्दा फुलखेती बाट डबल आम्दानी हुने बताउनु भयो ।

आयात मुखी बन्दै गएको नेपालको अर्थतन्त्र लाई आत्मनिर्भर मुखी बनाउन पछिल्लो समय केही स्थानीयतह सफल भैइसकेका छन् । हरेक चिजको लागि बिदेशभर पर्नु पर्ने परम्परालाई तोड्दै आफ्नै देशमा उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण केही स्थानीयतह बनेको पाइन्छ । त्यसै मध्यको एक बनेको छ स्याङ्जाको कालीगण्डकी गाउँपालिका । पालिकालाई मात्रै नभएर धेरैजस्तो बस्तु पालिका बाहिर समेत बिक्रि गर्न सक्षम भएको पालिका फुल खेती पनि सातै प्रदेशसंग जोडिएको छ ।

तिहारको समयमा भारत लगायतका देशबाट लाखौंको फुल आयात हुने गरेको देशमा पछिल्ला केही बर्ष यता फुल आयात घटाउनमा सहयोगी भुमिका खेल्दै आएको छ । यस पालिकामा जस्तै अन्य पालिकाले पनि तिहार लक्षित फुल खेतीलाई जोड दिने हो भन्ने पक्कै पनि आगामी दिनमा फुलको लागि अन्यत्र देशको भर पर्नु पर्ने परिपाटीको अन्त्य हुने देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार