कालीगण्डकीमा २५ लाखको फुलको कारोबार, उत्पादनभन्दा माग धेरै

२०८० कार्तिक २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृति भट्टराई
स्याङ्जा, २७ कार्तिक । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले यस वर्ष २५ लाख बराबरको फुल बिक्री गरेको छ । फुल काठमाडौं, पोखरा, बुटवल र भैरहवा लगाएतका ठाउँहरूमा बितरण भईसकेको छ।

पछिल्लो केही वर्षदेखि फुल खेतीमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ फुल खेतीको अभियान चलाएको पालिकाले यस वर्ष २५ लाख बराबरको फुल निर्यात गरेको कालीगण्डकी गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले बताउनुभयो। उहाँले फुलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो,’फुल खेती र डा़गन खेतीका लागि रू १० लाख बजेट विनियोजन गरेका थियौं र फुलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदान अन्तर्गत नौ हजार उपलब्ध गराएका छौ ।’ उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर फुलखेती गर्नेहरु मध्ये धरादीका हिरामणि सुवेदी,लसर्गावेशीकी पुष्पा राना मगर र बारीचौरका घनबहादुरको समूहले गरेको फूलखेती उत्कृष्ट रहेको छ। कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने कर्म ५५५ जातको हाईबिड सयपत्री फूलखेती गर्न कृषकलाई आफूले सिफारिस गरेको र अहिले ६० रोपनी जग्गामा फुलखेती गरेको जानकारी पनि दिनुभयो । गाउँपालिकाले फुलको राम्रोसँग व्यवस्थापन गरिसकेपछि पनी फुलको अझै माग रहेको कृषि शाखा प्रमुख पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो,’हामीले सम्पुर्ण फुल बितरण गरिसकेपछि पनी फुलको माग आईरहेको थियो, फुलको स्टक नभएकाले हामीले सर्वसाधारणको माग पूरा गर्नसकेनौं।’

त्यसैगरी कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले फुलै फुलको पालिका बनाउने उद्देश्य अनुरुप कृषकलाई फुल उत्पादनतर्फ उत्पेरित गरेको बताउनुभयो। उहाँले अहिलेको हावापानी राम्रो भएकाले यस वर्ष फुलबाट सोचेको जस्तो आम्दानी हुन सकेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले उपयुक्त हावापानी भएको क्षेत्र भएकाले कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर संभावना बोकेको पालिका पनि बताउनुभयो।

त्यस्तै बारीचौरका फुलखेती कृषक घनबहादुरले पालिकाले बजारको जिम्मा लिने भएपछि आफू फुलखेती तर्फ आकर्षित भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,’गत वर्ष पानी नपरेर र समयले साथ नदिएर सोचेको जस्तो आम्दानी भएन तर अहिले भने पालिकाले फुल व्यवस्थित ढङ्गले वितरण गर्दिएकाले हामीलाई धेरै सहज भयो।’

पछिल्लो समय कालीगण्डकी गाउँपालिका धेरै बस्तुमा आत्मनिर्भर बन्दै आएको छ । संघीयता आए संगै बनेको पालिका जसरी आत्मनिर्भरको बाटोमा लम्किएको छ त्यसैगरी अन्य स्थानीय तहले पनि यसैगरी आत्मनिर्भरको बाटोमा लम्किन सिक्न जरुरी देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार