बेपत्ताको दिन प्राइभेट गाडीमा वालिङ पुगेका थिए ढकाल

२०८० मंसिर ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,४ मंसिर । कलाकार मोडल तथा पत्रकार प्रकाश ढकालको मृत्यु रहस्यमय बन्दै गएको छ । मंसिर १ गते रातिदेखि सम्पर्क बिहिन बनेका ढकाल मंसिर ३ गते साझ करिब ५:३० बजेको समयमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिर, त्रिशूली नदी किनारको खोचमा मृत अवस्थामा फेला परेका थिए ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ घर भएका ढकालको शव आइतबार साझ फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभयो ।

चापाकोट नगरपालिका स्थायी ठेगाना भएपनि धेरै जसो काठमाडौ बस्दै आएका ढकाल शुक्रबार अर्थात् मंसिर १ गते इलाका प्रशासन कार्यालय वालिङमा आएको बुझिएको छ । पासपोर्ट र राहदानीको कामको लागि काठमाडौ बाट प्राइभेट गाडी आएको र काठमाडौ फर्किन हतार भएको भन्दै ढकाल इलाका प्रशासन कार्यालय वालिङ् पुगेको खुलेको छ । मंसिर ६ गते बिदेश जानुपर्ने टिकट भएको हुँदा आजै काठमाडौ फर्किने काम भन्दै काम छिटो गर्दिन अनुरोध गरेका ढकाल करिब १:३० बजेको समयमा इलाका प्रशासन कार्यालयबाट निस्किएको बुझिएको छ ।

मृत फेला परेको ठाउँमा कसरी पुगेका थिए भन्ने बिषय अहिलेसम्म पत्ता लागेको छैन । बेपत्ता भएकै दिन राती करिब १ बजेको समय तिर ढकालले केही आफ्ना साथीभाइ सम्पर्क गरेको पाइएको छ । आधा रातमा करिब ७/८ जनालाई फोन गर्दा यात्राको क्रममा केही रहस्यमय घटना हुनसक्ने आकलन गरिएको छ ।

त्रिशूली नदी किनारको खोचमा फेला परेको ढकालको शव राती निकाल्न असम्भव भएपछि सोमबार विहान निकालेर मुचुल्का गरेर पोष्टमाटर्मको लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । घटनाकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार