गल्याङकाे विकास : एउटाले बनाउने अर्कोले भत्काउने

२०८० पुष २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२५ पौष । स्थानीय सरकारले आफ्नो स्थानलाई सर्वोत्कृष्ट बनाउने भाषण गरेपनि योजना निर्माणमा कति कमजोर छन् भन्ने उदाहरण स्याङ्जाको गल्याङ नगरपालिकामा देख्न सकिन्छ । जहाँ संरचना निर्माण गरिएको ४ बर्ष नबित्दै भत्काउनु पर्ने भएको छ ।

गल्याङ नगरपालिका १ मा रहेको राम्दीलाई “राम्दी गुरु योजना” अन्तर्गत गुरुकुल, पार्क,योगा स्थल बनाउने योजना अनुरुप १८ लाख खर्च गरेर डि पि आर तयार पारिएको थियो । तयार भएको डिपिआर अनुसार २०७७ सालमा ४० लाखको काम पनि सम्पन्न भयो । बृहत योजना अनुसार सुरु भएको कामले पुर्णता पाउन नसकेपछि अहिले भने बनेका संरचना पनि सरकारकै तर्फबाट भत्काउन थालिएको छ । बनेको संरचना भत्काउन थालिएपछि स्थानीयले भने प्रहरी चौकी र पालिकाको न्यायीक समितिमा भत्काउने कार्य रोक्नुपर्ने माग गर्दै निवेदन दिएका छन् ।

करिब २७ करोडमा सम्पन्न हुने गरि १८ लाखमा तयार भएको “राम्दी गुरु योजना” डिपिआरकाे ४० लाखमा पर्खाल लगाउने काम मात्र भएको छ । २०७७ सालमा पर्खाल लगाएर सुरु भएको गुरु योजनाको काम पर्खाल भन्दा अगाडि बढ्न नसकेपछि भने अहिले त्यहीँ पर्खाल समेत भत्काउन थालिएको छ ।

“राम्दी गुरु आयोजना” अन्तर्गत लगाइएको पर्खाल भत्काउन थालिएपछि भत्काउने कार्य रोक्नुपर्ने माग गर्दै प्रहरी चौकी र गल्याङ नगरपालिकाको न्यायीक समितीमा निवेदन दिएको स्थानीय रामेश्वर अमात्यले हेर्नेकुरा डट कम लाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “योजनाको थप काम अगाडि बढ्न सकेको छैन भएको संरचना पनि भत्काउन थालियो ।” त्यस्तै अर्का स्थानीय मीन बहादुर थापाले बनेका संरचना भत्काउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “यो संरचना तयार पार्दा मेयर नेकपा एमालेबाट निर्वाचित भूपराज अधिकारी हुनुहुन्थ्यो,अहिले काङ्ग्रेस बाट निर्वाचित मेयर गुरु भट्टराई हुनुहुन्छ । यो योजना ठिक कि बेठिक भन्दा पनि एउटा राजनैतिक दलले सुरुवात गरेको काम अर्को राजनैतिक दलले किन निरन्तरता दिने भन्नेमा देखिन्छ ।” उहाँले विकासका यसरी राजनीति हुनु दुखद भएको भन्दै यस्ता राजनैतिक इगोले राज्यको सम्पत्ति बर्बाद हुनु बाहेक अरु केही नहुने बताउनुभयो ।

गल्याङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मणि बस्यालले स्थानीयको रोहवरमा केही घर अगाडि गेट हाल्न पर्खाल तोडिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पर्खालले छेक्यो भनेर स्थानीयले पटकपटक अनुरोध गर्नुभयो । त्यही आधारमा स्थानीयको निर्णय अनुसार पर्खाल तोडिएको छ । पर्खाल तोड्न सहमति जनाउनेहरुले आफ्नो घर अगाडिको पर्खाल नतोडिएपछी विभिन्न ठाउँमा निवेदन दिनु भएको छ ।” एउटै ब्याक्तीले पर्खाल तोड्ने निर्णयमा सामेल भएको र आफ्नो घर अगाडि पर्खाल नतोडिएपछी विभिन्न ठाउँमा निवेदन दिएको आरोप लगाउनुभयो । स्थानीयको रोहबरमा केही ठाउँमा गेट राख्न तोडिएको पर्खाल उजुरी परे लगत्तै रोकिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार