पृथ्वीनारायण शाह : राष्ट्रिय एकताका अटल प्रतिविम्ब

२०८० पुष २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

नेपालको एकीकरणकर्ता तथा राष्ट्र निर्माताको गौरवपूर्ण उपाधि पाएका पृथ्वीनारायण शाह नेपालीका लागि मात्र नभै समग्र विश्व समुदायका लागि उदाहरणीय व्यक्तित्व हुन् । उनले तत्कालिन नेपाललाई भौगोलिक रुपमा एकीकरण मात्र गरेनन्, देशमा सामाजिक, साँस्कृतिक एकताको बलियो जग पनि बसाले । पृथ्वीनारायण शाहले नेपाल र नेपालीको उज्वल भविष्यका लागि महत्वपूर्ण मार्गनिर्देश समेत गरे, जुन एक सच्चा राष्ट्रभक्त नेपालीको हरहमेसा मन मुटुमा बस्न सफल भएको छ ।

नेपालको इतिहासमा गोपाल वंशदेखि शाह वंशसम्मका राजाहरुको कार्यकाललाई नियाल्दा सबैभन्दा उपलब्धीमुलक र भविष्यका सन्ततिका लागि प्रेरणादायी र स्मरणयोग्य शासनकाल ९ पृथ्वी नारायण शाहको शासन काल रह्यो । गोरखा जस्तो सानो पहाडी राज्यका राजा पृथ्वीनारायण शाहले मध्यकालदेखि नै सबल र सशक्त रहेको उपत्यकामाथि विजयको परिकल्पना गर्नु पनि सामान्य थिएन । गोरखाको सानो भूगोलबाट सन्तुष्ट नभएका पृथ्वीनारायण, बुवा नरभूपाल शाहको पालामा नुवाकोट आक्रमण गर्दा पराजय भोगी आफ्ना बुवाले महशुश गरेको लज्जाबोधलाई सम्मानमा रुपान्तरण गर्न तथा गोरखालाई अन्य छिमेकी चौबिसे राज्यहरुबाट सदाका लागि सुरक्षित गर्न नेपाल उपत्यका विजयको दृढ अठोट गरे । राष्ट्र निर्माणको उनको चट्टानी अभियानलाई न त उपत्यकाका मल्ल राज्यहरुको शक्तिले रोक्यो, न त विश्वमा अविजीत जस्तै रहेको ब्रिटिस साम्राज्यको सैन्य शक्तिले छेक्न नै सक्यो । आफ्नो जीवनको उत्तरार्धबाहेक अन्य समयमा सक्रिय रुपमै युद्ध मोर्चामा खटिएर उच्चस्तरको सैन्य रणनीतिका साथ गोर्खाली सेनाको हौसला बढाउँदै बैरीलाई परास्त गर्न रतिभर बिचलित नहुने प्रवृत्ति भएकै कारण पृथ्वीनारायण शाह गोरखाभन्दा कैयौं गुणा बलियो काठमाण्डौं उपत्यकामाथी विजय गर्न सफल भए ।

पृथ्वीनारायण शाह अति नै चतुर, निडर, दुरदृष्टि भएका तथा नीति निर्माणमा पारंगत राजा थिए । आफ्नो समयमा रहेका चौबिसे राज्यहरुको एकापसको प्रतिस्पर्धाबाट माथी उठेर गोरखा राज्यको विस्तारमा अग्रगामी छलाङ मारी सिंगो नेपाल निर्माणको दरिलो जग राखेका पृथ्वीनारायण शाहमा एक अब्बल राजनेतामा हुनु पर्ने गुणहरु समाहित थिए । उनीमा मातृभूमीप्रतिको माया अगाध थियो, राष्ट्रियताको भावना उच्च स्तरको थियो, जनताको भावनाको कदर गर्न सक्ने सक्षमता थियो । उनले छरिएका राज्यहरुको भौगोलिक एकीकरण मात्र गरेनन् छरिएको मनलाई एकत्रित गर्ने काम समेत गरे । गोरखाको राज्य बिस्तार हुँदै विशाल उपत्यकामाथी विजय प्राप्त गरेपछि नेपाल उपत्यकाको धर्म संस्कार र प्रचलनलाई आत्मसात गरे ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा सबै जनताको साथ सहयोग र समर्थन पाएका थिए । नेपालको एकीकरणको क्रममा परेको आर्थिक अभाव समाधान गर्न बिसे नगर्चीको सल्लाहदेखि कालु पाण्डेको सैन्य नेतृत्वसम्म, पृथ्वीनारायण शाहको अभियानलाई सबै जाति धर्म भाषा र सम्प्रदायका मानिसले साथ दिए । उनलाई राम्रोसँग थाहा थियो कि जनताको पूर्ण साथ र समर्थन बिना उपत्यका विजय सम्भव छैन भन्ने । त्यसैले उनी जनचाहनालाई शीरोपर गरेर राज्य सञ्चालन गर्थे । पृथ्वीनारायण शाहले राज्यभन्दा ठुलो र महत्वपूर्ण अर्को कुनै बस्तु मानेन् । उनीमा न त आर्थिक मुनाफाको लोभ थियो, न न नातावाद कृपावादको प्रभाव नै । उनीमा चढेको राष्ट्र निर्माणको अर्जुनदृष्टिलाई अन्य कुनै तत्वले छेक्न सकेन । जसको फलस्वरुप विश्व मानचित्रमा नेपाल देशको अस्तित्व रहेको छ र हामी नेपाली भनी विश्व सामु चिनिन सकेका छौं । आजको सिंगो नेपाल पृथ्वीनारायण शाह कै देन हो भन्दा अत्युक्ति नहोला ।

पृथ्वीनारायण शाहका दिव्य उपदेश तत्कालिन समयमा पनि उपयुक्त थिए, आज पनि छन् र भोली पनि आम नेपालीका लागि मार्गदर्शन हुनेछन् । उनले दिएका दिब्य उपदेशहरुलाई राज्यको नीति निर्माणको आधार बनाउन सक्नु पर्छ । उनको जस्तो निस्वार्थता आजको राज्य सञ्चालनको जिम्मेवारी पाएका शासकमा हुने थियो भने नेपाल आजको स्थितिमा पक्कै हुने थिएन । पृथ्वीनारायण शाह कै सन्तानले उनको पदचापलाई सही तरिकाले पछ्याउन सकेनन् उनको आदर्श र गौरवलाई कायम गर्न सकेनन् । आफ्ना पुर्खाले जनताको साथ लिई रगत र पसिना बगाई आर्जेको मुलुकलाई जन चाहना अनुसार सञ्चालन गर्न नसक्दा राजसंस्थाको अस्तित्व नै विलिन हुन पुग्यो ।

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा लिने धेरै आधारहरु छन् । उनले पचासौंको संख्यामा छरिएर रहेका स साना भुरे टाकुरे राज्यहरुलाई एकत्रित गरी एक सबल राष्ट्र निर्माणको थालनी गरे । तत्कालिन समयमा आर्थिक र सामरिक रुपमा अब्बल मानिएको नेपाल उपत्यकामाथी अधिकार कायम गरेपछी एकीकरणको ठुलो काम सम्पन्न भएको थियो । तथापी अहिलेको नेपालको भूभाग पृथ्वीनारायण शाहको पालामा नेपालमा गाभिएको भने थिएन । पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यकालाई विजय गरेपछि काठमाण्डौंलाई नै राजधानी बनाइ राज्य सञ्चालन गर्न थाले । गोरखाको पहाडी संस्कृतिमा रमाएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकाको साँस्कृतिक विविधतालाई सहजै स्वीकार गरे । सामाजिक साँस्कृतिक द्वन्द्व हुन दिएनन् । राष्ट्रिय एकीकरणमा सबै जनताको साथ र समर्थन लिए । कुनै जाति धर्म वा सम्प्रदाय लक्षित अभियान चलाएनन् । राष्ट्र कसरी एक हुन्छ र सुदृढ हुन्छ भन्ने भावनाले काम गरे । साम्प्रदायिक भावना र व्यक्तिगत स्वार्थमा रमाउनेभन्दा राष्ट्रप्रेमीहरुलाई साथ दिए र विश्वास गरे ।

राष्ट्रिय एकता दिवसको सन्दर्भ । 
वि सं १७७९ पौष २७ मा जन्मेका पृथ्वीनारायण शाहको जन्मदिनलाई हरेक वर्ष राष्ट्रिय एकता दिवसका रुपमा नेपालमा मनाउने गरिन्छ । राजतन्त्रको अन्त्यसँगै पौष २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा देश विभाजित रहन पुग्यो । एकाथरीले राजतन्त्रको अस्तित्व समाप्त भएसँगै राजसंस्थासँग सम्बन्धित कुनै पनि गतिविधि औपचारिक रुपमा गर्नु हुँदैन भन्ने तर्क राखे भने अर्काथरीले गणतन्त्रमा पनि राज्य निर्माणमा विशिष्ट योगदान गरेका सपुतहरुको सम्मान गर्नुपर्छ भन्ने तर्क राखे । यसकै कारण पौष २७ को राष्ट्रिय एकता दिवस विस्तारै ओझेलमा पर्न थाल्यो ।

राज्यले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाए पनि नेपालको इतिहास बुझेका, नेपालको भूराजनीतिलाई मनन् गरेका सच्चा राष्ट्रभक्त नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै विस्मरण गर्न सक्दैनन् । सच्चा नेपाली नागरिकले यो दिनलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सक्नु पर्छ । राष्ट्रिय एकता दिवसमा राजावादी वा गणतन्त्रवादी भनेर विभाजित हुन आवश्यक नै छैन । यो विषय त इतिहासप्रतिको सम्मान हो । हिजो देशका लागि मरिमेट्नेलाई हामीले आज सम्मान गर्न सकेनौं भने आज असल कर्म गर्नेलाई भोलीको समाजले भुल्न सक्छ । देशमा असल संस्कृतिको विकास गर्न हामीले भव्यताका साथ राष्ट्रिय एकता दिवस मनाउनु पर्छ ।

अन्त्यमा, वर्तमान नेपालमा जातीय, धार्मिक, साम्प्रदायिक तथा राजनैतिक आस्थाका आधारमा विभाजित नेपाली जनतालाई राष्ट्रियताको डोरीमा गोलबध्द बनाउनका लागि पृथ्वीनारायण शाहको नीति र राज्य सञ्चालनको विधि अति उपयुक्त छ र भविष्यमा पनि हुनेछ । नेपाल कुनै एक जाति, धर्म, सम्प्रदाय वा कुनै दल विशेषको मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता हरेक नेपालीको मन मस्तिष्कमा छाउन सक्नु पर्छ ।  त्यसैले हामीहरु सबैले आ आफ्नो सीमित स्वार्थ र मोहलाई परित्याग गरी राष्ट्रका निम्ति एक हुन सक्यौं भने मात्र यो देशको विकास र संविद्धि हुन सक्छ । अतस् राष्ट्रिय एकता दिवसको सन्दर्भमा हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु राष्ट्रका लागि एक ठाउँमा उभियौं र देशलाई समुन्नतिको मार्गमा डोर्याऔं । यसो गरेमा मात्र हाम्रा राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान हुन पुग्छ ।

कृष्ण गोदार 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय