सौर्यगतिको सूचक : माघेसंक्रान्ति पर्व 

२०८० माघ १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

हाम्रो सम्बत बिक्रम सम्बतमा महिनाका सबै पहिला दिनहरुलाई संक्रान्ति भनिन्छ, बर्षदिन भित्रको दशौं महिनाको माघमा आउने महिनाको पहिलो दिनलाई चाहीं हिन्दुहरुको महत्वपुर्ण चाड “माघे–सक्रान्ति” का रुपमा मनाइने चलन छ ।

सौर्य गतिविधिमा जोडिएर आफ्नो परिचय स्थापित गरेका बर्षभरीमा बाहृपटक आउँने १२ संक्रान्तिहरु मध्ये माघे–सक्रान्तिलाई नेपालका बिभिन्न भागहरुमा सबै जातजातीहरुले आफ्नो चलनअनुसार हर्षाेल्लासपूर्वक मनाउने चलनका कारण प्रिय र महत्वपूर्ण पर्वका रुपमा रहेको छ । ज्योतिषशास्त्रीय गणित अनुसार माघ १ गते अर्थात माघे–सक्रान्तिमा “सूर्य” धनुराशिबाट मकरराशिमा प्रवेश गर्ने र दक्षिणायनको थालनी हुने, सूर्य उत्तर दिशाबाट दक्षिणायन हुँदै दक्षिण दिशा तर्पm लाग्ने भएकाले यसै पर्वपछि दिन लम्बिदै जाने अनि रात छोट्टिंदैजाने जाडो पनि क्रमशः कम हुँनथाल्ने भनिएको छ ।

सक्रान्तिका नामबाट मनाइने चाडपर्वहरु सनातनदेखि चलिआएका सूर्यसँग सम्बन्धित सौर्य”पर्वहरु हुन् । महिनाको पहिलो दिनले महिना भरिका ब्यहोर्नुपर्ने लाभहानी, सुब्य–फाब्य सबैप्रकारका गतिविधिहरुलाई संकेत गर्छ, भनिएको छ । महिनाभरि सुब्य–फाब्य फलिफाप भईरहोस् भन्ने कामनाले मानिसहरु महिनाको पहिलो दिन धनधान्यकी देवी मातालक्ष्मीको आफ्नो निवासमा आगमनको कामना लिएर घरआँगन लिपपोत गरी आ”आफ्ना घरकोठाहरु सफासुग्घर गर्नेगर्छन् ।

ग्रेगोरियन क्यालेण्डर अनुसार जनवरी १५ मा पर्ने माघे–सक्रान्ति चिसो मौसम अन्तर्गत नै भएतापनि यसदिन जाडोकोे पर्वाह नगरीे मानिसहरु नदीमा गई डुबुल्कीमार्ने गर्दछन् । नेपालको पूर्वीभेगका मानिसहरु कन्काई नदीलाई माता ईश्वरीले प्रत्यक्ष बासगरेको, पवित्रनदी मानेर बिहान ३÷४ बजे तिरै गई नुहाउने गर्छन्, जसलाई मकर”स्नान भनिन्छ । यसदिन कन्काईमाईमा नुहाउन जानेहरुको घुईंचो निकै ठूलो हुनेभएकाले यसले बिशाल मेलाको रुप धारण गर्ने गरेकोछ । अत्यन्त बाक्लो भिड हुनाले, मानिस हराएका र भेटिएका बारेको सूचना मेला”संचालन समितिले माइकबाट निरन्तर गराइरहेका हुन्छ । यसदिन नदीमा डुबुल्कीमार्दै नुहाएमा भौतिक रुपमा शुद्धता, आरोग्यता, प्राप्त हुने र अध्यात्मिक दृष्टिमा रोगब्याधबाट मूक्ती, सुखसमृद्धि प्राप्ति, ईश्वरीय भक्ती र सान्निध्यता हुने परम्परा रहेको देखिन्छ । नुहाइसकेर मन्दिरमा गई पूजापाठ गर्ने चलन छ । नदीतलाउमा गई डुबुल्की मार्न नभ्याउनेहरु घरैमा आफ्ना कुलदेवता, इष्टदेवताका पूजापाठबाट आत्मसन्तुष्टी लिनेगर्छन् ।

नेपालको पश्चिमी क्षेत्र कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ तिर थारुजातीहरु माघे–संक्रान्तिलाई नयाँ बर्ष “माघीपर्व” को रुपमा धुमधामसँग मनाउने गर्छन् । यो पर्वमा क्षेत्रीय र जातीय प्रचलन अनुसार मनाउने तरीका, प्रकार र विधिहरु आ–आफ्नै देखिएपनि चन्द्रमासमा बढी चाडपर्व, व्रत–उत्सव, मेलाजात्राहरु मनाइने परम्परा रहेकोछ । चाडपर्वहरु धार्मिक, सास्ंकृतिक, व्यवहारिक तवरले फलदायी होस् भन्ने कामना लिएर नेपालीहरु ज्योतिषिबाट साइतहेराउँदै कसरी मनाउँदा अझ अशल र सुब्यफाब्य हुन्छ त्यसैअनुसार मनाउने चलनरहेको पनि देखिन्छ ।

यसैदिन युरोपको स्पेनमा बुलफाइट (साँढे जुधाई) बाट मनोरञ्जन लिने प्रचलन रहेको छ । नुवाकोटको तारुका, बेत्रावती र घलेभञ्ज्याङमा पनि माघे सत्रंmान्तिका दिन गोरुजुधाउने चलन छ । यि तीनै ठाउँमा गरी केही बर्ष अघि ४३ हल गोरु जुधाइएको समाचार पत्रपत्रिकामा पढ्न पाइएको थियो, नुवाकोट तारुकास्थित चन्दनीमा आजकै दिन हलगोरु जुधाउँदा छबिलाल ढकालको तारेगोरुले भोजबहादुर भण्डारीको कालेगोरुलाई बारीकोपाटो मै लडाएर पराजित गरेको थियो । सञ्जय श्रेष्ठको कथुरेले शिवराम अधिकारीको बादुरेलाई पराजित गरेकाले पुरस्कार स्वरुप ६ हजार प्राप्त गरे भने हार्नेलाई पनि प्रोत्साहन स्वरुप नगद ४ हजार प्रदान गरिएको भनिएको छ । चन्दनीमा प्रायः २२ हल भन्दा बढी गोरुहरु भेला पार्ने गरिएको समाचार संचार माध्यमहरुमा आएको थियो, यि कार्यक्रमले ठूलो मेलाको रुप लिनेगर्छन् ।

माघेसंक्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्यांजाको संगमस्थल नेपालको चारधाम मध्येको एकधाम मानिने रुरुक्षेत्र रिडीधाममा कालीगण्डकी स्नानगरी ऋषिकेश मन्दिरको दर्शनगरे पूण्य प्राप्त भई स्वर्गमा बासहुने जनविश्वास छ । कालीगण्डकी नदी प्रसिद्ध तीर्थस्थल दामोदर कुण्ड र मुक्तिनाथको शिरबाट उत्पत्ति भएको मानेर त्यसक्षेत्रमा ३ दिनको मेलालाग्ने चलन छ ।

माघे सक्रान्तिमा मकरस्नानको प्रचलनकाकारण मेची, कन्काईमाई, सप्तकोशी, सप्तगण्डकी, महाकाली आदि नदी किनारमा रहेका देवस्थलहरु, घाटहरु, दोभानहरु र त्रिवेणीहरुमा धर्मप्रेमी यात्रुहरुको बाक्लो उपस्थितिले ठूलो घुइँचो भई प्रायः सबैतिर मेला हुनेगर्छन् । काठमाण्डौ उपत्यका ललितपुरको शङ्खमुल (वागमती र मनोहराको दोभान)मा पनि निकै ठूलो मेला लाग्दछ । रातो मच्छिन्द्रनाथको मन्दिरका साथै अहोरात्र यज्ञको आगो बलिरहने अग्निमठहरुमा पनि धार्मिक प्रेरणाले दर्शनार्थीहरुको बाक्लो उपस्थितिबाट मेला हुने गरेकाछन् ।

यसबारेको एउटा लोककथन यस्तो छ ।

एकजना ब्यापारी ग्राहकका रुचिअनुसारका सामाग्रीहरु लिएर सँधै हाटबजार धाउँनेगथ्र्याे, उसँग तिलको ब्यापार पनि थियो । एकदिन जति बीक्रि गरेपनि तिल नघटेकाले असमञ्जसमा परेर तिलको बोरा पल्टाउँदै हेर्दै भित्र हात हाल्दा फेदमा नारायणको मूर्ति भेटियो । यो बिषयले बजारमा ठूलो चर्चा पाएकाले मानिसहरुको घूईंचो बढेर यसमा इश्वरीय चमत्कार रहेको भन्दै सबैको सल्लाह र सहयोगमा भक्तपुरको टौमढीटोलमा तिलमाधव नारायणको सुन्दर मन्दिरको निर्माण गरिएको भनाई छ । माघेसक्रान्तिका दिन श्रद्धालुहरु बिहानै नुहाई त्याँहा पुगेर पञ्चामृत, घिउ–चाकू र विशेष गरी तिलका लड्डूहरु चढाउने र प्रसादको रुपमा ग्रहण गर्नेगर्छन् । फलस्वरुप याँहा ठूलो मेलालाग्ने गरेको छ ।

श्रद्धालु भक्तजनहरु यसदिन पवित्र मानिएका नदी किनारमा गई नुहाउने चलनले त्याँहा बढी भिडभाड भई मेला लाग्दछ । “मेला प्रबन्ध–समिति”ले आम्दानी”खर्च ब्यवस्थापनकालागि रमिता र रमाइलो हुने भनेर पिङ, जादु, नाटक लगायतका मनलोभ्याउने सामाग्रीहरु पनि राखिदिने भएकाले र मानिसहरु बिभिन्न प्रकारका खेलखेल्ने, नाचगान गर्ने र दोहोरीगीत गाउँदै रमाइलो गर्ने भएकाले हेर्नेहरुको घुइँचो अझ बढ्नेगर्छ ।

यसदिन आरोग्यताकोलागि शुद्ध तोरीकोतेल आफ्ना छोराछोरीहरुको कपालमा घस्ने र कानमा हालिदिने चलन छ । बिहानै जाडोमा मकर नुहाउने मानिसहरु पारिलो घाममा बसेर घाम ताप्दै तोरीको तेल जीउमा घसेर शरिरलाई चिसोसँग लड्ने क्षमता अभिबृद्धि गराउने कार्यमा लागिरहेका देखिन्छन् । मकर–सक्रान्ति पर्वमा खिचडी, तस्मै, खीर, घ्यू, चाकू, तिलकालड्डू आदि बनाएर वा पकाएर देव–देवीहरुमा चढाउँने र उपस्थित सबैले प्रसादको रुपमा बाँडेर ग्रहणगर्ने चलन छ ।

हिन्दुसस्ंकृति भित्रको पवित्र पर्व माघेसक्रान्ति तथा मकरसंक्रान्ति अर्थात नुहाउने पर्वलाई “नुहाउँदा शरिरलाई हुने अनेकौं किसिमका फाइदा बारेमा जानकारी गराउने पर्व” मानेर निरन्तर नुहाइदिए शरिर र शारिरीक सफाई हुनेछ,। स्वास्थ्य राम्रो राख्ने अभ्यासको निरन्तरता हुनेछ आयुर्वेदले निरन्तर नुहाउँदा धेरै प्रकारका अद्भूत फाइदा हुने भन्दै आएकोछ, एक योग मानेकोछ, यसमा सबैको ध्यानकेन्द्रित भई निरन्तर नुहाएर शरिर सफा राखेमा यस पर्वको महत्व र गरीमा अझ फराकिलो, र सन्देशमूलक हुनेथियो ।

कृष्ण प्रसाद ढकाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय