मृग र कस्तुरीको कथा धेरैले सुन्नु भएकै होला । आफ्नै शरीरको भएको सुगन्धको खोजिमा भौतारिदा भौतारिदा अन्ततः मृगको मृत्यु हुन्छ ।
नयाँ नयाँको खोजि गर्नु मानिसको स्वभाव हो । नयाँको खोजीमा हिड्दै गर्दा कतै मृग जस्तै आफ्नै शरीरमा भएको सुगन्ध खोज्दै त हिडिरहेका छैनौं ? यो प्रश्नको खोजी गर्न मन लाग्यो त्यहीँ दिन देखि । धेरैले नयाँको खोजिमा बिदेश रोज्दा आफ्नै शरीरमा भएको सुगन्ध खोज्न मृग भौतारिएको अनुभुत मैले गरे ।
पढ्दै गरेपनी समाजको बारेमा राम्रो बुझ्न नसकेको मलाई समाज बारे केही नयाँ अध्यन गर्ने चासो पौष २१ र २२ गतेदेखि जागेको छ । जुन मैले मेरो जिन्दगीको पहिलो अनुभव थियो । जहाँ पत्रकारिताको माध्यम बाट समाजमा सचेत नागरिक बनाउने अभियान चालिएको थियो ।
मलाई पत्रकारिता भनेको थाहा थिएन जब म कापी र कलम लिएर कुनै एउटा बन्द कोठाभित्र प्रवेश गर्ने अनुमति पाए मलाई त्यस दिन मात्र थाहा भयो पत्रकारिता के रहेछ । हो, त्यही दिन थियो जुन दिन मेरो जिन्दगीलाइ नयाँ मोडमा लैजानको लागि एउटा विशेष दिन थियोे, पौष २१ र २२,मेरो जिन्दगीमा पत्रकारिताको पहिलो अनुभव लिएको दिन ।
ग्रामीण क्षेत्रमा पत्रकारिताको विकासका लागि एकवर्षे कार्यक्रम अन्तर्गत आधारभूत पत्रकारिता तालिम मार्फत समृद्ध नेपालको परिकल्पना गर्न सचेत नागरिक बन्नुपर्छ । पत्रकारिता मार्फत समाज बुझाउने अभियान अन्तर्गत हेर्नेकुरा डटकमले जुन काम गरेको छ त्यसले मेरो जिन्दगीमा फरक अनुभव र सिकाइको बाटो बनेको छ । पत्रकारिता मार्फत समाजलाई कसरी बुझाउन सकिन्छ र देश विकास गर्ने लगाएतका ज्ञान, सीप लिन पाउनु मेरो जिवनमा पहिलो अबसर, पहिलो सिकाइ र पहिलो अनुभव भएको थियोे । त्यो आधारभूत पत्रकारिता तालिममा म सहभागी हुन पाउँदा मेरो मनमा भएका सङ्कोचहरु हराएको छ र नयाँ अनुभव भएको छ ।
पत्रकारिता तालिममार्फत सचेत नागरिक बन्ने र समृद्ध नेपाल निर्माण गर्ने धारणा मेरो मनमा जागेको छ । आफ्नै देशमा केही गरे यहीँ सुन फलाउन सकिन्छ भन्ने अठोट जागेको छ । समाजमा भएका विकृति, विसङ्गती, भेदभाव, छुवाछूत लगायतका विरुद्धमा आवाज उठाउने छु । त्यस्ता समस्यामा परेका र समाजमा आवाजविहिन व्यक्तिहरूको आवाज बनी समस्याहरूको समाधान गर्न सक्छु भन्ने एउटा अठोट, एउटा विश्वास जागेको छ ।
पत्रकारिता तालिम लिनु अगाडि मलाई पत्रकारिता भनेको के हो ? समाचार कसरी लेखिन्छ भन्ने थाहा थिएन । समाचारको स्रोतहरु के के हुन्छन् भन्ने जस्ता कुराहरुको जानकारी थिएन । हामीलाई यस आधारभूत पत्रकारिता तालिम प्रशिक्षण गर्नका लागि कान्तिपुर मिडियाग्रुपका पाल्पा सम्बादाता संवाददाता माधव अर्याल आउनुभएको थियोे ।
समाचार कसरी लेख्ने ? सुचना संकलन कसरी गर्ने भन्ने कुराको जानकारी मैले त्यो आधारभूत पत्रकारिता तालिमबाट थाहा पाए । समाचार लेख्दा उल्टो पिरामिडको महत्त्वपूर्ण भूमिका रहदो रहेछ । कुनै पनि घटनास्थलमा पुगि सोधपुछ गर्ने र समाचार लेख्दा छ क अर्थात् के,कसरी,कहाँ, किन, कसले जस्ता प्रश्नको उत्तर सकेसम्म पहिलो पङ्तीमा आउनुपर्ने कुराको जानकारी पाए ।
पत्रकार भैसकेपछि निडर र आत्मअनुशासित र विभिन्न चुनौतीहरुको सामना गरि एक सचेत नागरिक बन्ने ज्ञान प्राप्त गर्ने अवसर पाए । तालिम लिदै गर्दा हामीसँग गल्याङ प्रहरी चौकीका कार्यालय प्रमुख अर्थात सहि सर जोडिनुभयो उहाले हामीलाई बढ्दो साइवर क्रइम,जातीय भेदभाव, घरेलुु हिंसा,बहुविवाह र लागुपदार्थ सेवन गरेवापत लाग्ने जरिवाना र सजायको बारेमा जानकारी दिनुभएको थियोे ।
हामीले समाज परिवर्तन गर्नुपर्दछ,समाजमा जातीय,वर्गीय भेदभाव बाट उत्पन्न हुने समस्यालाई, मानिसको गलत विचारलाई हटाएर समाज परिवर्तन गर्न सकिन्छ, समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने अठोट जागेको छ ।
बुद्धि सगर खनाल
गल्याङ नगरपालिका -९, चितडाडा
स्याङ्जा