संगम भण्डारी
स्याङ्जा,१४ माघ । गल्याङ नगरपालिकाले दुध बेचे बापत कृषकलाई अनुदान स्वरुप प्रतिलिटर १५ रुपैयाँका दरले उपलब्ध गराउदै आएको रकम शनिवार एक कार्यक्रममा वितरण गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका २ बटुवाका ३६ कृषकलाई पालिकाले अनुदान रकम उपलब्ध गराएको हो ।
`हाम्रा कृषक,हाम्रो सान,दुधमा अनुदान´ भन्ने नारा सहित सस्थानमा दुध बेच्ने कृषकलाई नगरपालिकले बेला बेलामा अनुदान रकम उपलब्ध गराउदै आएको छ । नगरपालिकाको बटुवा २ मा रहेकोे श्री बटुवा दुग्ध उत्पादक सहकारी संस्थामा दुध बेचेका कृषकलाई असार १६ देखि असोज ३० सम्मको २ लाख ६३ हजार ९ सय ११ रूपैया २० पैसा उपलब्ध गराएको हो । नगर प्रमुख गुरु प्रसाद भट्टराई र पशु सेवा शाखा प्रमुख सुशील अर्याल लगायतको उपस्थितिमा उक्त रकम वितरण गरिएको थियो । अनुदान रकम वितरण गर्दै पशु सेवा शाखा प्रमुख अर्यालले सबैजना मिलेर दूध उत्पादन तीब्र गतिमा बढाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले एउटै घरलाई भन्दा पनि सबै घरलाई समाबेश गराएर दूध उत्पादन बढने कुरामा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी भएता पनि सो अनुसारको उत्पादन हुन नसकेको दाबी समेत गर्नु भयो ।


उक्त कार्यक्रममा बोल्दै गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले कृषि पेशालाई निरन्तरता दिन अनुरोध गर्नुभयो । कृषि क्षेत्र वा कुनै पनि पेसा गर्नको लागि नगर बाट के कस्तो सहयोग चाहिन्छ त्यो नगरले सक्दो प्रयास गर्ने प्रतिबदता समेत जनाउनु भयो ।
दूध उत्पादन वृद्धि गर्ने उदेश्यले पालिकाले बिगतका केही बर्ष देखि सस्थामा दूध बेचे बापत कृषकलाई प्रतिलिटर १५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउदै आएको छ ।