युवा पलायन हुनुको कारण बाँदर आतंक पनि हो

२०८० माघ १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पहाडी क्षेत्रमा कृषकको लागि किरा जति शत्रु छ त्यो भन्दा बढी बाली नष्ट गर्ने ठूलो शत्रुको रुपमा बाँदर रहेको छ । गाउँ घरमा अहिले ठूलो समस्यामा रहेको बाँदर आतंक कृषकको ठूलो शत्रुको रुपमा रहेको छ । कृषकले गर्ने अधिकांश खेती मध्य पिरो काँडादार खेतीमा त्यति समस्या नभए पनि बाकी खेती नाश गर्दै आएको छ ।

बाँदर आतंकको कारण बाँदर सङ्ग जुध्न नसकेर मानिसहरु आफू बसिरहेको स्थल छोडेर अन्यत्र बसाई सर्ने व्यवस्था तिब्र रुपमा भएको छ । जसको कारण सर्वत्र खेतीपाती गर्न योग्य रहेको जग्गा जमीन बाँझो हुन पुगेको छ भने बाँदरलाई बस्ती नजिक नजिक आउन र कृषकले लगाएको बाली खान सहज भएको छ।

बाँदर लखेट्नको लागि कुकुर पाल्ने मट्याङग्रा गुलेली हान्ने तरिकाले मात्र यसको समाधान हुन सकेको छैन । कुनै पनि खेती गरिसकेपछि तीन महिना छ महिना दिनरात नभनिकन दश नङ्ग्रा खियाएर मानिस खेतबारीमा आफ्नो दैनिक जीवन यापनको लागि मिहिनेत गरिरहेको हुन्छ भने बाँदर एकैछिनमा सम्पूर्ण बाली नष्ट गर्दिन्छ । यसले गर्दा पनि गाउँ घर मै बस्छु कृषि पशुपालन गर्छु भन्नेको लागि पनि जीवन यापन गर्न समस्या भएको छ । कृषि तिर बाँदर आतंक छ भने पशुपालन कुखुरा पालनमा बाघ र वन्यजन्तुको आक्रमण त्यतिकै छ।

जसो तसो खेतीपाती पशुपालन गर्छु स्वदेशमै उत्पादन गरी जीविकोपार्जन गर्छु भन्ने जनमानस नभएका होइनन् तर सम्पूर्ण लगाव मिहिनेत सीप लगानी वन्यजन्तु आक्रमण र विशेष बाँदर आतंकले बालुवामा पानी खनाए सरह बनाइदिएको छ । अन्न बाली उत्पादन नभए पछि स्वदेशमा काम गर्ने वातावरण नभएपछि वैकल्पिक खोजी भनेको वैदेशिक रोजगार नै रहेको छ।

अन्नबाली उत्पादनमा बाँदर आतंकले यसरी समस्या भए पछि वर्ष भरी खाने जोहो गर्न नसकेपछि कृषिमा टिकिरहने सहज माध्यमको वैकल्पिक खोजी वैदेशिक रोजगार बनेको छ। बाँदरले असर गर्न नसक्ने खेतीपातीमा कृषक लाई प्रोत्साहन गरे पनि त्यसले मात्र कृषकका सम्पूर्ण समस्या हल हुनसक्दैन ।

पशुपालन माछापालन मौरीपालन घास खेती च्याउ खेती जस्ता विषयमा प्राथमिकता दिए पनि मानव जिउनको लागि अन्न वालीको पनि आवश्यक पर्छ नै । एकै किसिमको खेती प्राणीले मात्र जीवन यापन सम्भव हुन सक्दैन वस्तु विनिमय गर्नको लागि माध्यम चाहिन्छ नै त्यसैले वैकल्पिक बाटो तय गर्नु आवश्यक नै पर्छ ।

समष्टिगत रुपमा सम्पूर्ण मानवको लागि मूल्यांकन गर्दा मानव र स्वास्थ्य क्षेत्रको विषयमा प्राण घातक रोगको संक्रमण हुँदा स्वास्थ्य सम्बन्धी समाधानको लागि खोप विकासको कार्यमा बाँदर को प्रयोग भएको पाइन्छ । स्वास्थ्य सम्बन्धी समस्या समाधानको लागि नै सन् १९३७ मा रगतको आर यच फ्याक्टर पत्ता लगाउन सन् १९५० को दशकमा पोलियो बिरुद्दको खोपको अनुसन्धान गर्न र प्रयोगको बिषेशताको असर थाहा पाउन बाँदर उपयोगी बन्यो ।त्यस्तै औषधिहरु सुरक्षित रहें नरहेको जानकारी लिन र प्रभावकारी भए नभएको अनुसन्धान गर्न र लाभदायक भएमा मानवमा प्रयोग गर्न सहज भनेर जानकारी लिनको लागि बाँदरको प्रयोग लाभदायक रह्यो ।

त्यस्तै गरी त्रेता युगमा रामले रावण माथिको विजय प्राप्त गर्न बाँदर सेना सुग्रीव र हनुमान को भुमिका उल्लेखनीय भूमिका रहेको सुन्न पाइन्छ भने हनुमान लाई ग्रन्थहरुले अष्ट चिरञ्जीवीको रुपमा चित्रण गरेर उनको गुणगानमा हनुमान चालिसा जप्ने गरेको पाइन्छ । त्यस्तै गरी द्वापर युगमा महाभारतमा अर्जुनको रथमा सानो रूप धारण गरेर हनुमान बसेका थिए त्यसैले हिन्दू धर्मावलम्बी हरुले बाँदरलाई हनुमानको सन्तानको रुपमा लिई श्रद्धा राख्ने गर्दछन जसमा कारण प्रसिद्ध मठ मन्दिर पशुपतिनाथ स्वयम्भू जस्ता धार्मिक स्थल वरपर बाँदर प्रसस्त मात्रामा रहेको देख्न सकिन्छ ।

कालान्तरमा बाँदरहरू बल बुद्धि को रुपमा प्रयोग गरी न्यायका पक्ष मा उभिएका बाँदर अहिलेको एक्काइसौं सताब्दीमा विशेष गरेर कृषक को समस्याको रुपमा रहेको छ । कृषकको लागि धेरै अन्याय गर्दै आएको छ कहीं पनि राम्रो गर्यो भन्ने उदाहरण देख्न र सुन्न मा आएको छैन ।

बाँदर आतंक बाट सुरक्षित रहनको लागि किसान लाई बाँदरले प्रयोग गर्न नसक्ने पशुपालन माछापालन मौरी पालन कुखुरा पालन जस्ता बाँदरले नष्ट गर्न नसक्ने बालीमा प्रोत्साहन गर्ने वनजङ्गलमा रहने हुँदा वनजङ्गलमा भुल्ने बाताबरण सृजना गर्नको लागि फलफूल कन्दमूल रोप्न हुर्काउन सहयोग गर्ने व्यवस्था गरेर मात्र नभई प्रदेश तथा स्थानीय सरकारले वैकल्पिक विधि प्रयोग गर्नुपर्ने देखिन्छ।

प्राचीन समयमा न्याय गरेका स्वास्थ्य संक्रमण समयमा सहज बनेका बाँदर कृषकको लागि लाभदायक बन्न सकेका छैनन । यसको लागि व्यवस्था प्रदेश तथा संघ बाट वैकल्पिक विधि को रुपमा आउनु जरुरी छ भने हरेक मानव को लागि आवश्यक पर्ने अनाज उत्पादन मा वृद्धि र यसको सुरक्षा सरकारी निकाय को प्राथमिकता मा राखिनु जरुरी पनि छ । त्यसैले गाउँको बस्ती उजाड बनाउन बाट रोक्नको लागि र युवालाई जिविको पार्जनमा सहज गराई खाद्य बाली जोहो गर्नको लागि सरकार प्रतिबद्ध रहेर कार्य गरेको खण्डमा केही परिवर्तन आउन सक्ने देखिन्छ । यसरी नै बेवास्ता गर्दै जाने हो भने उर्वर भूमि बाँझो हुने शहरी बस्ती बाक्लो हुने र वैदेशिक रोजगारको चपेटामा परी जनजीवन अस्तव्यस्त हुने कुरा मा दुई मत रहँदैन ।

पुजा खड्का
भिरकोट नगरपालिका -३ स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय