स्याङ्जा,१२ फागुन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गल्याङ नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गल्याङको सिटिहलमा सनिवार गल्याङ नगरपालिकाको आयोजनामा नगर उप प्रमुखसंग शिक्षक अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले देश सुधार्नको लागि सबैभन्दा पहिले शिक्षा क्षेत्रमा सुधार आउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो “शिक्षाक्षेत्र राम्रो भयो भने विद्यार्थीले राम्रो शिक्षा हासिल गर्छन् । विद्यार्थीले राम्रो ज्ञान हासिल गरेको समाज राम्रो हुन्छ । समाज राम्रो भए देश राम्रो हुन्छ ।” उहाँले गल्याङ नगरपालिका शिक्षा क्षेत्रमा राम्रै ढंगले अगाडि बढेको भन्दै यस नगरपालिका भित्र स्वास्थ्य र शिक्षा क्षेत्रका कार्यक्रम गर्न कुनै बजेट अभाव भए तुरुन्तै सम्पर्क पनि आग्रह गर्नुभयो । यस क्षेत्रको जनप्रतिनिधि भएका कारण यहाँका नागरिकको हरेक समस्यमा केन्द्रित हुनु आफ्नो दायित्व रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “मन्त्री पद त आउछ जान्छ,तर तपाईं हामी त भोलि मन्त्री नहुदा पनि संगै एकै ठाउँमा रहने हौं ।” उहाँले समय क्रम अनुसार सरकारको जिम्मेवारी सम्हालेपनि आफुलाई यो स्थानमा पुर्याउने जनता संगै भगवान सरह रहने धारणा समेत राख्नुभयो ।
अप्ठ्यारो परेको समयमा आफुलाई सम्पर्क गर्न आग्रह गर्दै मन्त्री गुरुङले सामाजिक संजालमा आफ्नो विरुद्धमा लेखे पनि अप्ठ्यारो परेको समयमा सम्झिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सजिलो परेको बेला सम्झिन पर्दैन,जहाँ अप्ठ्यारो पर्छ त्यहाँ मलाई सम्झीहाल्नु,कुनैबेला धनराजको विरुद्धमा लेखेको थिए भनेर सम्पर्क गर्न हिचकिचाहट नगर्नु ।” नागरिकलाई सेवा गर्न आफू राजनितीमा आएको दोहोर्याउदै मन्त्री गुरुङले नागरिकको सेवा गर्न कुनै राजनैतिक दल नहेर्ने कुरा समेत दोहोर्याउनु भयो । उहाँले भन्नुभयो “मैले राजनैतिक झण्डा बोलेको आधारमा काखा र पाखा गर्दिन । जुनसुकै आस्था र बिचार भएपनि अप्ठ्यारो परेको समयमा सम्पर्क गर्नुहोला ।”