भिरकोटको निःशुल्क स्वास्थ्य शिविरमा ७८५ जनाको स्वास्थ्य परीक्षण

२०८१ बैशाख २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २ वैशाख । भिरकोट नगरपालिकाको आयोजना र मनमोहन मेमोरियल एण्ड टिचिङ्ग हस्पिटलको सहयोगमा भिरकोट नगरपालिका अन्तर्गत वडा नम्बर १ को हेलु अस्पतालमा शुक्रबार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भिरकोट नगरपालिकाको मेयर गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा स्वास्थ्य शिविरमा पूर्व सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरुवात भएको हो।

कार्यक्रममा बोल्दै श्रेष्ठले स्वास्थ्य जनताको अधिकार र स्वास्थ्य सुविधा दिनु सरकारको कर्तव्य रहेको जानकारी गराउनुभयो। स्वास्थ्यको लागि नागरिक सजग र सावधानी रहनु आवश्यक पर्छ भन्दै अहिले स्वास्थ्य सिविर रहँदै गर्दा आफूलाई लागेका समस्या निर्धक्क भएर डाक्टर सामु प्रस्तुत गर्नुभयो भने डाक्टरलाई उपचार गर्नको लागि सल्लाह, सुझाब सावधानीको लागि सहज हुन गई रोगको निवारण गर्न सहज रहने जानकारी गराउनुभयो। स्वास्थ्य सुरक्षाको लागि डाक्टरले गर्ने सुझाबको कार्यान्वयन गर्नु आवश्यक रहन्छ त्यसको पालना गर्नुपर्छ भन्ने सुझाब पनि दिनुभयो। उहाले स्वास्थ्य सेवा बढाउनको लागि प्रदेशमा पहल गरेको र प्रक्रियामा रहेको डाइलासिसको पाँच वटा मेसिन र १५ बेड को दरबन्दी ल्याएर सुविधा थप्ने कार्यले छिट्टै प्राथमिकता पाउने बताउँदै डाइलासिसको सुविधा नगर अस्पतालबाट गराउने जानकारी दिनुभयो। त्यसै गरी नगर अस्पतालको स्तरोन्नतिको लागि औषधि उपचार र स्वास्थ्य समस्यामा भएका बिरामी अन्यत्र नगई हेलु अस्पतालमा गएमा बिरामीको सुविधाको लागि जनघनत्व देखि सुविधा थप्न सरकार बाध्य हुनुपर्ने बताउँदै थप सुविधा दिन प्रदेश संघलाई नैतिक दबाब पर्ने जानकारी गराउनुभयो।

स्वास्थ्य सेवा अन्तर्गत स्त्री तथा प्रसूति रोग बिषेशज्ञ डा मनोहर दिन सैयद, जनरल फिजिसियन रेडियोलोजी अन्तर्गत डा इबराज सिम्खडा, नाक कान घाँटी रोग विषेशज्ञ डा नबराज बराल, हाड जोर्नी सर्जन डा उजोन शाक्य , फिजिसियन डा प्रशन्न बोहरा, बालरोग डा धनु माया गुरुङ्ग रहनुभएको स्वास्थ्य शिविरमा नर्सिङ्ग मा सुनिल श्रेष्ठ , सुजिता गिरी फर्मासिष्ट रञ्जित गिरी र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ्ग हस्पिटल व्यवस्थापनका संजीव कँडेल रहनुभएको थियो।

स्वास्थ्य परीक्षण अन्तरगत स्त्री तथा प्रसूति सम्बन्धी १३५ जना भिडियो एक्सरे तर्फ २०० जना ले परीक्षण गर्नुभएको थियो। त्यसैगरी नाक कान घाँटी अन्तर्गत स्वास्थ्य परीक्षण गर्ने १०० जना, सर्जरी सेवा अन्तर्गत ५० जना, सामान्य स्वास्थ्य उपचार अन्तर्गत १५० जना बालरोग अन्तर्गत ५० जना र हाड जोर्नी अन्तर्गत १०० जनाले स्वास्थ्य परीक्षण गराउनुभएको थियो। यस अन्तर्गत जम्मा ७८५ जना ले स्वास्थ्य परीक्षण गराएर आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको भिरकोट नगर प्रवक्ता वडा नम्बर एक वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी गराउनुभयो।

नगर प्रवक्ता दिपेन्द्र केसी ले सिविरमा सहभागी भएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो स्वास्थ्य स्थिति बुझ्न पाउँदा भिरकोट बासी खुशी रहेको जानकारी गराउँदै स्वास्थ्य नै विकासको एक माध्यम हो स्वस्थ नरहे सम्म केही गर्न सकिँदैन त्यसैले निरोगी हुन जरुरी पर्छ भन्दै बेलामा नै स्वास्थ्य परीक्षण गराउन सजग गराएको र बर्ष पिच्छे सिविर मार्फत निःशुल्क स्वास्थ्य परीक्षण गराउदै सहयोग गरेको हुँदा सिविरमा सहभागी समुह प्रति आभार रहेको व्यक्त गर्नुभयो।

स्वास्थ्य शिविरमा विशिष्ठ अतिथि संयोजकको भूमिकामा मनोहर दिन सैयद, नगर उपप्रमुख भगबती अर्याल, वालिङ्ग उद्योग बाणिज्य संघको अध्यक्ष चेतनारायण श्रेष्ठ, प्रमुख प्रशिक्षक अधिकृत धर्मराज ढुंगाना रहनुभएको उक्त कार्यक्रम मा भिरकोटका दुई चार पाँच छ सात र आठ को वडा अध्यक्ष क्रमशः श्याम काजी अधिकारी, रत्न प्रकाश श्रेष्ठ, कृष्ण बहादुर थापा, लक्ष्मण केसी, तारा अर्याल र नन्दु खनाल लगायत को सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा नगर उपप्रमुख भगबती अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा कर्मचारी राम अर्याल ले गर्नुभएको थियो। कार्यक्रमको समापन नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सहभागी सम्पूर्ण प्रति र सेवा दिनुहुने सम्पूर्ण प्रति आभार प्रकट गर्दै सल्लाह सुझाब र स्वास्थ्य सजगता अपनाउन आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय