सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त

२०८१ जेष्ठ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका पूर्व सभापति, राष्ट्रियसभाका पूर्व सांसद एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ– “लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखित बनाएको छ । कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर स्वर्गीय रेग्मीले नेपाली काँग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

नेता रेग्मीको ७५ वर्षको उमेरमा आज आफ्नै निवास स्याङ्जाको भीरकोट–७ गेझबासमा निधन भएको हो । रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो । उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहनुभएको थियो । जिउँदो सहिदका रुपमा परिचित रेग्मी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनुभएका रेग्मी २०२८ सालमा स्याङ्जा–पर्वत तरुण दलको अध्यक्ष, २०२९ सालमा गण्डकी अञ्चलस्तरीय तरूण दलको अध्यक्ष तथा २०३३ सालमा काँग्रेस स्याङ्जाको सहसचिव हुनुहुन्थ्यो । स्याङजा बम काण्डमा पक्राउ पर्नुभएका रेग्मीलाई तत्कालीन व्यवस्थाले राजकाज अपराध ऐन अन्तर्गत मृत्युदण्ड र जन्म कैदसम्मको सजाय हुनेगरी मुद्दा दायर गरेको थियो । उहाँलाई कास्की कारागारमा थुनामा राखिएको थियो ।

नेता रेग्मीले २०३५ सालमा स्याङ्जाको पार्टी सचिव तथा त्यसपछि पटक–पटक सभापति रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । विसं २००६ मा जन्मनुभएका रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सदस्य हुनुहुन्थ्यो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक जेल जीवन बिताउनु भएको थियो । उहाँको निधनबाट काँग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको काँग्रेसले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय