निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

२०८१ बैशाख ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घको २१ औँ बार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिनेगरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताउनुभयो । निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता वर्ततमान सरकारमा रहेको धारणा राख्नुभयो । उहाले पछिल्लोसमय अर्थतन्त्रमा सुधारका महत्त्वपूर्ण सूचकहरू देखा पर्दै गएको र प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गर्नुभयो ।

वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय