निजामति र मन्त्रीमा स्याङ्जाकाे चाङ्ग, बिकासमा भ्वाङ्ग

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

स्याङ्जा जिल्लामा निजामती कर्मचारीमा सेवारत धेरै कर्मचारी हुनुहुन्छ । त्यसरी नै राजनीति गरेर सांसद मन्त्री भएका पनि धेरै हुनुहुन्छ । तर जिल्ला बासिको लागि काम गरेको आफ्नो बौद्धिकता कूटनीति सक्षमता खर्च गरेको भने देख्न पाइएको छैन । सक्षम भएर पनि सक्षमता प्रदर्शन गर्न नसक्नु दुःखद र आर्थिक समस्यामा पछि पर्नु एक कारण हो। आत्मनिर्भर रहनको लागि लगानी मैत्री समाज हुनु आबस्यक नै छ । त्यस प्रति बौद्धिकता भएका ब्यक्तिहरुको चासो देखिएन । लगानी र विकास निकासमा ध्यान दिएको भए अहिले स्याङ्जाले धेरै फडको मार्ने समय भइसक्यो।

स्याङ्जाले राणाकालीन समय पछि विविध अवसर प्राप्त गरेको छ। विविध पार्टीबाट विविध व्यक्ति सांसद मन्त्री बन्नुभएको छ । आम नागरिक नेताहरुको पछि लाग्दै गर्दा देश विकास गर्दछौं भन्दै गर्दा किन विकास हुन सकेन यो भने दुर्भाग्यको विषय रहेको छ । ”आँट गर्यो भने असम्भव केही छैन भनिन्छ” तर हाम्रो नेता मन्त्री बौद्धिक व्यक्तित्व हरुमा आँट नभए कै हो त सोचनिय विषय भएको छ। स्याङ्जा जिल्ला निजामती कर्मचारीको लागि अब्बल मानिन्छ विविध ठाउँमा सरकारी सेवामा हुँदै गर्दा आफूलाई पायक पर्ने सहज सुविधा भएको ठाउँमा बसाई सरेको देखियो तर गाउँ ठाउँ जिल्लाको लागि केही गर्नुपर्छ भन्ने सोच मन्त्री र निजामतीमा हुनेहरुमा पनि देख्न सकिएन । भन्ने गरिन्छ “सम्पन्न वर्गलाई आबस्यक छैन मध्यम वर्गलाई फुर्सद छैन ।”

निजामती कर्मचारीमा कार्यरत रहँदा जहां रह्यो त्यसैको आसपास वा सुगम ठाउँ जहाँ छ त्यही गएर बस्ने परिपाटीले प्राथमिकता पाएको छ। तर आफू जन्मे हुर्केको आफ्नो ठाउँ सुगम बनाउनुपर्छ सक्षम बनाउनुपर्छ विकासको मार्ग खोल्नुपर्छ हामीले सुरुवात गर्नुपर्छ भन्ने धारणा भएको व्यक्ति पाउन मुश्किल भइरहेको छ । सम्पन्नहरु अन्यत्र बसाई गर्ने परिपाटीले गर्दा गाउँ घर अहिले खाली हुँदै गरेका छन् । जसका कारण गाउँ घर समस्यामा परेको छ । त्यही माथि राजनैतिक विचलनका कारण देशको अवस्था नै धराशायी बनेको समयमा देशको अवस्था के हुने हो भन्ने चिन्तनको विषय भएको छ ।

सक्षम र बौद्धिक वर्गले लगानीमा महत्व नदिँदा आत्मनिर्भर रहन समस्या आएको छ । लगानी गर्न सक्ने ले झन्झटिलो मान्ने कमजोर वर्गले ऋण धन गर्दा समस्या भई नाफा गर्न नसकिने हुँदा लगानी ले प्राथमिकता पाउन सकेको छैन । जसले गर्दा काम गरेर खाने वर्ग समस्यामा परेका छन् ।  आफ्नो गाउँ ठाउँ भित्र रोजगार प्राप्त गर्न नसकेपछि विकल्प भनेको वैदेशिक रोजगार भएको छ।

वैदेशिक रोजगारले देशको युवा सक्ती विदेशिन परेको छ । देशमा सामर्थ्य र उर्जाशील व्यक्ति विदेशिनु देश भित्र भएका राजनीति गर्नेहरु विचलन फैलाउने र आफ्नो फाइदाको लागि मात्र काम गर्ने हुँदा देशमा सम्भावनाको ढोका बन्द जस्तै भएको छ ।

देशको आर्थिक समृद्धि नगरिकन समृद्धि सहजता निकास विकास समाधान ल्याउन सकिँदैन । त्यसको लागि लगानी मैत्री वातावरण राज्यमा हुनुपर्छ । देशको अवस्था अनुसार कृषि घरेलु उद्योग धन्दा सञ्चालन गर्न सक्यो भने विदेशिने समस्यामा कमी आउँछ । देश मै केही गर्नुपर्छ लगानी बढाउनुपर्छ भन्ने विषयमा सरकारी तहमा रहनेले पहल नगर्दा लगानी गर्नेहरुलाई प्रोत्साहन नगर्दा र गरिएका लगानीको वैधानिकतामा ध्यान नदिदा लगानी कर्ता र लगानीलाई सेवा दिने नागरीक प्रति समस्या भएको छ । देशमा विविध भ्रष्ट गर्ने स्वार्थीहरुको हावी भएको छ । जसले गर्दा मानव बेचबिखन गर्न पनि पछि परेनन् भने खाइ नखाइ जेन तेन दुःख सुखमा प्रयोग गर्न पर्ला भनेर संकलन स्वरुप सहकारीमा राखेको पनि देशको नीति नियम माथि राम्रो व्यवस्था नहुँदा सुरक्षित तवरमा राखेको भनिएको रकम पनि चलखेल गरेर सक्काउने परिपाटीले जनता थप मारमा परेका छन् । त्यस्तै गरी कहिले जीवन बीमाका नाममा ठगी भएको छ कहिले सहकारीको नाममा भएको छ कहिले वैदेशिक रोजगारमा जाने विषयमा मानव बेचबिखन भएको छ यी यस्ता व्यवहारबाट कसरी देशमा समाधान आउँछ समस्याको विषय भएको छ। आँट गर्यो भने नीति बनाएर कारबाही गर्न के ले छेकेको छ त १ यो देशको दुर्भाग्य हो । देशको लागि समयमा यी यस्ता समस्या पर्ला भनेर यसबाट सुरक्षित राख्नुपर्ने समस्या समाधानमा दत्त चित्त भएर लाग्नुपर्ने ठाउँमा समाधानलाई बिगारेर समस्या बनाएर आम नागरिक लडाउन खोज्ने नीतिले देशमा समस्या र नागरिकलाई सास्ती बनाएको छ। देशका नागरिक देश भित्र अट्ने गरी रोजगार सुविधा दिएको खण्ड मा आफ्ना घर परिवार छोडी अन्यत्र जानमा कमी आउने सम्भावना अझ पनि छ।

विविध काण्ड गर्ने घोटाला गर्ने आफू चोखिन राजनीति गर्ने की राजनीति गर्नेको पछि लाग्ने परिपाटीले देश समस्यामा परेको छ। समाधानको सट्टा समस्या र सास्ति दिने परिपाटीले गर्दा देश अस्तव्यस्त भएको छ। भएका युवा ऊर्जा विदेशिनु सम्भावनाको मार्गको लागि ठूलो समस्या हो भने देशमा भएका बेथिति विचलनका बिरुद्द आवाज राख्न नसक्नु राखे पनि पार्टीको ढाकछोपको लागि अघि रहने प्रविर्ती समस्या बनेको छ। देशमा कुनै पनि घटना माथि घटना हेरेर छानबिन हुँदैन भने कसरी सुशासनको परिकल्पना गर्न सकिन्छ त समस्या यहां नेर छ । गलत गर्ने अपराध गर्ने देश छाडेर लुक्नको लागि विदेशी भूमिमा गएको पाइन्थ्यो भने अहिले देशमा अपराध मौलाउदा इमान्दार व्यक्ति विदेशिएर अपराध अत्याचार भ्रष्टाचार गर्नेहरु सरकारमा रहने गरेको देख्न पाइन्छ । यसरी देशमा सुशासन आउँछ भन्नु दुर्भाग्य हो । देशमा कानुन कमजोर हुँदा अपराध गर्नेहरु चोखिएका छन् भने सास्ती आम नागरिकलाई भएको छ । देशको परिस्थिति देखेर देश बाहिरिनेको संख्यामा वृद्धि भएको छ।
स्याङ्जा जिल्लाको पछिल्लो परिणाम हेर्दा लोक सेवामा धेरै अघि रहेको भए पनि देशको परिस्थितिले मानसिकता फरक भएर विदेशिनेको संख्या बढिरहेको छ भने बाह्र पढेपछि लोक सेवाको तयारी गर्ने परिपाटी परिवर्तन भएर कुन देश जाने भन्ने परिपाटी बढेको पाइन्छ । देशको परिस्थितिले आम नागरिकमा मनस्थिति फेरिएको छ।

स्याङ्जा जिल्लामा राजनैतिक भूमिकामा रहेर धेरै मन्त्रीहरु हुनुभएको छ । देशको विकास गर्दछौ देशमा सहजता ल्याउँछौ भन्दै राजनीतिमा होमिएर मन्त्री बन्दा समेत पनि केही गर्न नसक्नु दुर्भाग्य हुन पुगेको छ। कति मन्त्रीहरु त जिल्लामा आएर चुनाव लड्ने मन्त्री भए पछि बसाई सरेर जिल्लामा नै नआएको पनि देखिएको छ । जिल्लाबाट राजनीतिमा लागेर मन्त्री हुनेहरुमा जमान सिंह गुरुङ्ग, खड्ग बहादुर गुरुङ्ग, इन्द्र बहादुर गुरुङ्ग, गोपालमान श्रेष्ठ, विष्णु पौडेल, धनराज गुरुङ्ग, पदमा अर्याल, त्रीलोचन ढकाल, धनिराम पौडेल आदि विविध मन्त्रालयमा धेरै मन्त्री स्याङ्जाले पाएर पनि केही गर्न नसक्नु दुर्भाग्य भएको छ। त्यसै गरी प्रदेशमा पनि सरस्वती तिवारी, सीता सुन्दास, मेखलाल श्रेष्ठ गरी विविध मन्त्री पाएर पनि जिल्लामा न विकास गर्न सकेको छ न सुविधा दिन सकेको छ हालमा त जिल्लामा युवा बस्ने बाताबरण पनि हराउदै गएको छ। देश सञ्चालन गर्ने देशको विकास गर्छौं भन्ने नेता मन्त्रीहरुले देश विकास गर्ने हुटहुटी भनेर गफ लगाउने तर केही नगर्नेहरु प्रति वितृष्णा जागेर जिल्ला छाड्ने उर्जाशील युवाहरुको हुटहुटी भने विदेशिने रहेको छ । देशभित्रको परिस्थिति यस्तै रहने हो भने भोलि देशको नाम निशाना रहन्छ कि रहदैन चिन्तनको विषय भएको छ।

देश र जनता रहे नै राजनीति गर्ने हो देशमा नागरिक नैं नभएको माथि राजनीति गर्न भन्ने विषयमा नेता मन्त्रीहरु चिन्तित रहनुपर्छ । बौद्धिक वर्गले पनि स्थानिय स्तरका लागि आफ्नो बौद्धिकता प्रदर्शन गर्न सके स्थानीय स्तरमा धेरै सम्भावना देख्न सकिन्छ । आफू जिउन पाए बाकीको लागि महत्व नराख्ने प्रविर्तीले गर्दा स्थानिय मात्र नभई जिल्ला देश नै यस्तै समस्याको चपेटामा  परेको छ।

देशले अवसर दिएर सरकारी ओहदामा रहेर भन्दा अवसर नपाएर आफ्नो व्यक्तिगत लगानी गरेर धेरैलाई रोजगार दिएर युवालाई विदेशिनुबाट केही हदसम्म रोक्ने प्रयास गरेको देखिन्छ। प्राइभेट संस्था चलाएर केही रोजगार सृजना गरेर आत्मनिर्भर बनाउन सक्षम भएको देखिन्छ । यस परिपाटीमा संस्था सञ्चालन गर्नेको उद्देश्य आफ्नो व्यापार व्यवसाय बढाउने भए पनि व्यक्तिगत फाइदाको लागि चलाए पनि उर्जाशील युवा केही हदसम्म रोक्ने प्रयास भएको छ । आफ्नो परिवार सङ्ग रहेर काम गर्ने अवसर मिलेको छ । यो जिल्ला बासिको लागि गर्वको विषय भएको छ। यसरी नै विविध क्षेत्रमा लगानी बढाएर काम गर्दा धेरै युवालाई रोजगार मिलेको छर्लङ्ग देख्न पाइन्छ । त्यसैले यी यस्ता विषयको बारेमा सरकारी ओहदामा रहेका व्यक्तित्वहरुलाई कसरी सजग बनाउन सकिन्छ चिन्तनको विषय भएको छ। व्यक्तिगत जिम्मेवारी पूरा गर्दै गर्दा समाज ठाउँ र स्थानिय स्तरका लागि पनि आफ्नो बौद्धिकता प्रयोग होस् यसले जिल्लाको लागि र देशको लागि मार्गदर्शक रहन भूमिका खेल्छ र अन्य जिल्लाको लागि पनि उदाहरणीय बन्न सक्छ । यी यस्ता विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण रहोस ।

मन्त्री र कर्मचारी नभए पनि होमस्टेको विषयमा छलफल र संवाद बढाउँदा संसदमा रुद्रमान गुरुङ्ग लाई सांसदले खिसी गरेको उहाँको जिबनि पढदा सुन्न पाइन्छ तर उहाले सांसद भएर पनि आफू जन्मे हुर्केको ठाउँको विकास र प्रवर्द्धन गर्नुपर्छ स्थानीयमा पाईने माटो सुहाउने खेतिपाति गर्ने र जहां जे फल्छ त्यही खानालाई प्राथमिकता दिन सके विकास गर्न सकिन्छ समृद्धि ल्याउन सकिन्छ भन्दै अघि बढेको पाईन्छ । उहाले पर्यटकिय स्थलको रुपमा दक्षिण एशीया कै पहिलो होमस्टे स्याङ्जाको सिरुवारी बनाउन सफल हुनुभयो भने आज भोलि त्यही अभ्यास विविध नगर जिल्लामा हुँदै गएको छ। नेताहरुको सोच गहन हुनुपर्छ । जसले अघि बढ्न समय र नया पुस्तालाई आफ्नो माटो लाई चिन्न चिनाउन सामर्थ्य राख्न सकोस्। उहाँ स्थानीय स्तरको समृद्धि र आर्थिक उपार्जनमा जोडिनको लागि सहज माध्यमको विकास सिकाएर जानु नेपाली समाजको लागि एक मार्गदर्शक हो । यी यस्ता सोच भएका व्यक्ति नेता मन्त्री नबन्दा सम्म देशले काचुली फेर्न असम्भव नै छ। त्यसैले नेता मन्त्री बनाउँदैं गर्दा स्थानिय आवश्यकता सम्भावना हेरेर अघि बढ्न सक्ने नेतृत्व गर्न सक्नेलाई प्राथमिकता दिनु मतदाताको पनि आवश्यकताको विषय हो । यस सम्बन्धी सचेतना जब सम्म नागरिकमा रहँदैन र यस्तो खालको विवेकको प्रयोग गर्दैनौं। तबसम्म हामीले पठाएको नेतृत्व सही मार्गमा पुग्न सक्दैन । त्यसैले समयमा नै विचार गर्नु जरुरी छ । कागती रोपेर अमला र सुन्तला खान सकिँदैन । कागती खानको लागि कागती र सुन्तला अमला खानको लागि सुन्तला अमला नै रोप्नु पर्छ । एक फल रोप्ने अर्को फलको आशा गर्नु दुर्भाग्य हो । समयमा नै सचेत र ढुक्क भएर अघि बढे सास्तीबाट मुक्ति मिल्ने सम्भावना बढी रहन्छ ।

हुनत प्राचीन समयमा वस्तु विनिमय गरेर पनि जीविकोपार्जन गरेको सुन्न पाइन्छ । भोटको नुन सियो सङ्ग कोदो साट्ने वस्तु विनिमयको प्रचलन थियो भनिन्छ । तर अहिले आवजावतको लागि सहज माध्यम भएको हुँदा किनबेचको प्रचलन चलेको छ। त्यसैले समय सन्दर्भ अनुसार सोच बदलौं अवस्था बदल्न सकिन्छ भन्ने नेतृत्वको विकास गर्न र त्यस्तो नेतृत्वको साथ आजको आवश्यकता हो ।

पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकमका स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार