पुतलीबजार नगरपालिकाले बनायो कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम

२०८१ बैशाख १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा,१७ वैशाख । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । पुतलीबजार नगरपालिकाद्वारा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार गरी यस वर्षदेखि कार्यान्वयन गर्ने भएको छ । यसभन्दा अगाडि २०७६ सालमा कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम निर्माण गरिएको भए पनि त्यसलाई समयानुकूल बनाउँदै नगरपालिकाले कक्षा ८ सम्मै पाठ्यक्रम बनाएको हो ।

आधारभूत तहमा स्थानीय तहले आफ्नै पाठ्यक्रम बनाई लागू गर्न सक्ने सरकारी व्यवस्था भए बमोजिम पुतलीबजारले स्थानीय पाठ्यक्रमलाई विशेष जोड दिई कार्यान्वयनको प्रक्रियामा अगाडि बढाएको हो । पुतलीबजार नगर शिक्षा समिति र सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियापछि पाठ्यक्रम लेखन गरिएको हो ।

बालबालिकाहरुले राष्ट्रिय तथा अन्तरार्ष्टिट्रय विषयहरु जाने तापनि आफ्नै संस्कार तथा पहिचान बिर्सँदै गएको अवस्थामा संस्कार शिक्षासहितको स्थानीय पाठ्यक्रम निर्माण गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । ‘नैतिकताको खडेरी परेको बेलामा पुतलीबजारले संस्कार शिक्षासहितको स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । हाम्रा बालबालिकालाई आफ्नो माटो ,सभ्यता, संस्कृति, सम्पदा र इतिहासको बारेमा सचेत बनाउँदै संस्कारयुक्त बनाउने उद्देश्यका साथ पुतलीबजारको पाठ्यक्रम तयार गरिएको छ ।’ रेग्मीले बताउनुभयो ।

‘पहिले निर्माण गरिएको पाठ्यक्रमको विषय क्षेत्र सीमित थियो र त्यो कक्षा ५ सम्ममात्र बनाइएको थियो । त्यसलाई आवश्यकतानुसार परिमार्जन गर्दै कक्षा ८ सम्म १२ वटा विषय क्षेत्रमा आधारित भई पुतलीबजारको पाठ्यक्रम निर्माण गरिएको छ ।’ पुतलीबजार शिक्षा शाखा प्रमुख तथा पाठ्यक्रम परिमार्जन तथा लेखन समितिका संयोजक बाबुराम बरालले बताउनुभयो ।

पुतलीबजारको परिचय, पुतलीबजारका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, पर्यटन, कृषि र पशुपालन, उद्यमशिलता, सरसफाइ र फोहोर व्यवस्थापन, स्थानीय खेल, दुर्घटना र विपद् व्यवस्थापन, सामाजिक मूल्य मान्यता, संस्कृति लगायतका जम्मा १२ वटा विषय क्षेत्र राखेर पाठ्यक्रम निर्माण गरिएको हो। निर्माण गरिएको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट अनिवार्य रूपमा लागू गरिने भएको छ । उक्त पाठ्यक्रम परिमार्जन तथा निर्माण समितिका सदस्यहरुमा कृष्णबहादुर गोदार, चण्डीप्रसाद सुबेदी, युवराज पौडेल, शोभा बस्याल, विशाल गौतम र मञ्जु थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय