नेकपानिकट मजदुर संगठनद्वारा विप्लव लगायतको पक्राउ पुर्जी खारेजीको माग, महासंघको नामपनि फेरियो

२०८१ जेष्ठ २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट मजदुरहरुको संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले नाम परिवर्तन गरेर समाजवादी ट्रेड यूनियन महासंघ राखेको छ । गत जेठ १५ देखि १७ गतेसम्म चितवनमा सम्पन्न भएको महासंघको ८औं राष्ट्रिय सम्मेलनले मातृ पार्टी नेकपाले लिएको जनक्रान्तिको नारा, उद्देश्य र कार्यदिशाअनुसार मिल्ने नाम राख्ने निर्णय गरेको हो ।

त्यस्तै, राष्ट्रिय सम्मेलनको बन्दसत्रले टेक सीको नेतृत्वमा पाँच सदस्यीय पदाधिकारीसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा नारायण सी, महासचिवमा पूर्ण सी, सचिवमा सिर्जना सी र कोषाध्यक्षमा रामचन्द्र सी चयन भएका छन् । सम्मेलनले विभिन्न १५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महासंघले राष्ट्रिय सम्मेलनको निर्णय र पारित प्रस्तावबारे जानकारी गराएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष टेक सीले मजदुर आन्दोलनलाई थप सशक्त बनाउन आफूहरु तयार रहेको बताए । उनले आगामी दिनमा राज्य र सरोकार निकायबाट मजदुरहरुलाई दवाउन खोजिएको खण्डमा महासंघले खरो प्रतिकार गर्ने पनि उनले बताए । अध्यक्ष सीले आफूहरु मजदुरको हक हितका लागि ज्यानै बलिदान दिन पनि पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, महासंघका नवनिर्वाचित उपाध्यक्ष नारायण सीले आफूहरु मजदुर आन्दोलनलाई थप उचाइमा पुर्याउन प्रतिवद्ध रहेको बताए । ‘समग्रमा सम्पूर्ण श्रमजीवी मजदुरहरुले आफ्नो अधिकार प्रयोग गर्न एकजुट भएर संघर्षमा उत्रिनका निम्ति हाम्रो राष्ट्रिय सम्मेलनबाट मजदुरहरुको पेशागत अधिकारलाई समेटेर मजदुर आन्दोलनलाई उचाइमा लान हामी जुटिरहेका छौं । हाम्रो राष्ट्रिय सम्मेलनले त्यो एजेण्डा लिएको छ,’– उनले भने ।

महासंघको ८औं महाधिवेशनबाट पारित समसामयिक प्रस्तावमा नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका नेताहरुविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेजीको माग गरेको छ । त्यस्तै, जेल जीवन विताइरहेका नेकपाका नेता कार्यकर्ताको रिहाइको मागसमेत गरिएको छ ।

महासंघको ८औं महाधिवेशनले स्वदेशी उत्पादनमा जोड दिन भनेको छ । मजदुर विरोधी श्रम ऐन खारेज गर्दै मजदुर पक्षको श्रम ऐन बनाउनका लागि मजदुर आयोग गठनको माग गरेको छ ।
ज्यालादारी, ठेकेदारी प्रथा अन्त्य गरी सम्पूर्ण मजदुरहरुको हकहितसहित अधिकार र रोजगारीको ग्यारेन्टीका साथै सरकारले तोकेको न्युनतम तलब लागू गर्न पनि महासंघले माग गरेको छ ।

त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय मजदुरहरुको श्रम अनुरुप वैज्ञानिक नरहेको भन्दै महासंघले न्यूनतम पारिश्रमिक ३० हजार बनाउनुपर्ने माग गरेको छ ।

नेकपाकी केन्द्रीय सदस्य मिना सीले पछिल्लो समयमा पार्टीपंति उत्पादनमा लागेको बताईन् । उनले अहिले कृषि सहकारीमार्फत आफूहरु उत्पादनमा केन्द्रीत भइरहेको बताईन् । नेकपाले सुरु गरेको कृषि क्रान्तिले आगमी दिनमा जनतालाई टेवा पुग्ने विश्वास व्यक्त गरिन् । नेकपाको कामहरु जनताले एकमदै मन पराएको उनले बताईन् ।
नेकपाका केन्द्रीय सदस्य जीवन्त सीले सत्ताको लुछाचुँडीले जनतामा निराशा छाएको बताए । उनले जनताले निकाश चाहेको बताउँदै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने दिशातिर जानुको विकल्प नरहेको बताए । उनले अहिलेको दलाल संसदीय व्यवस्था अन्त्य नभएसम्म नेपाली जनतामाथि शोषण कायमै रहने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय