वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आईटीआर्मीले विभाग घेराउ गर्ने

२०८१ जेष्ठ २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २७ जेठ । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ ।  आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु जानकारी गराइएको हो ।

आईटीआर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैध रुपमा असुली भएको बताउनुभयाे । लामो समयदेखि भइरहेको उक्त अवैध असुलीलाई आइटीआर्मीले रोक्न चाहेको उहाँले बताउनुभयेा । उहाँले यसरी अवैध रुपमा गरिएको असुली फिर्ता गराएर छाड्ने बताउनुभयाे । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । १० हजारको नाममा १० लाख, ५ लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं,’– उहाँले भन्नुभयाे ।

नेपालको हरेक राजनीतिक आन्दोलनमा युवाहरुले योगदान गरेपनि युवाहरुको भविष्यमाथि सरकार गम्भीर नबनेको उहाँको भनाइ छ । उहाँले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि यो शासन सत्ताले युवाहरुलाई रोजगार दिन नसकेको बताउनुभयाे ।

साथै, उहाँले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत भित्रिइरहेको पनि बताउनुभयाे । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उहाँको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उहाँले बताउनुभयाे । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटीआर्मीको माग छ ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुले पठाउने रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको रुपमा प्रयोग गर्ने अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ,’– उहाँले भन्नुभयाे।

साथै, विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गर्नुभयाे । यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयाे । वैदेशिक रोजगारीमा पठाउँदा जीटूजी प्रणाली अवलम्बन गरिनुपर्ने उहाँको माग छ ।

आईटी आर्मीका केन्द्रीय सचिव प्रशान्त केसीले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताउनुभयाे । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको उहाँले सुनाउनुभयाे । गलत काम गर्ने मेनपावर व्यवसायी र त्यस्ता काममा संलग्नहरुको विरुद्ध अब आईटीआर्मीले धावा बोल्ने उनले उद्घोष गर्नुभयाे ।

आईटीआर्मीका महासचिव नरेशले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताउनुभयाे । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय