नेपाली बलरको शानदार प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रनको लक्ष्य

२०८१ असार ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,३ असार । टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो

बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे ।

रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।

नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।

४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए । यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे ।

दीपेन्द्र सिंह ऐरीले ३।२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले १० रन मात्र खर्चिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय