काठमाडौँ , २८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आलोचना गरेर थप पीडा नदिने बताएका छन् ।
शुक्रबार विश्वासको मत लिने क्रममा सुरु भएको संसद् बैठकमा प्रधानमन्त्रीले बोलिसकेपछि आफ्नो भनाइ राख्ने क्रममा उनले प्रधानमन्त्रीलाई भएको पीडा आफूले बुझेको उल्लेख गरे । लेखकले प्रधानमन्त्रीले १८ महिनामा पाँचचोटि विश्वासको मत लिनु के यो स्थिरता हो ? भनेर प्रश्न गरे । उनले तीन महिनामा विश्वासको मत लिने अवस्था आउनुको जिम्मेवार व्यक्ति को हो ? भनेर प्रश्न गरे ।
तीन–तीन महिनामा विश्वासको मत लिन जान नपरोस् भनेर ठूला दलले सहमति गरेको लेखकले उल्लेख गरे । उनले संविधानको रक्षाको लागि हामीलाई कसैको अर्ति उपदेश नचाहिने उल्लेख गरे । संविधान पूजाकोठामा राखेर पाठ गर्ने पुस्तक नभएको उल्लेख गर्दे उनले संविधान संशोधनको कुरा उठ्दैमा कोहि अत्तालिन नपर्ने बताए ।