खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्छु : मन्त्री चौधरी

२०८१ असार ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३१ असार। नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् ।

यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागीतालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।’

मन्त्री चौधरीले खेल संघमा देखिएको विवादलाई टुंग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने समेत बताए । ‘विभिन्न खेल संघमा देखिएका विवादहरूलाई समयमै टुंग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरूरी छ,’ उनले भने, ‘त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई विशेष निर्देशन दिन्छु ।’

राष्ट्रिय खेलकुद परिषदमा प्राविधिक जनशक्तिको अभाव भएको कुरामा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनले बताए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता विराजभक्त श्रेष्ठले ४ महिनाको लागि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए । सरकार परिवर्तन भएसँगै नेपाली कांग्रेसका चौधरीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय