यी हुन् भिरकोटमा घुम्न लायक आठ स्थान

२०८१ श्रावण १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 10 मिनेट

पूजा खड्का
स्याङ्जा,१२ असार । एघार पालिका रहेको गण्डकी प्रदेशको स्याङ्जा जिल्ला शैक्षिक हिसाबमा अब्बल जिल्ला अन्तर्गत पर्दछ । त्यस्तै गरी गाउँ घर डाडा काडाले भरिएको हुँदा दृश्यात्मक रुपमा पनि मन लोभ्याउने एतिहासिक धार्मिक प्राकृतिक सौन्दर्यताले भरिपुर्ण प्रसस्त स्थलहरु रहेका छन् । स्याङ्जा जिल्लामा रहेका विविध स्थलहरुले प्रसस्त पर्यटकिय सम्भावना बोकेका छन् । पर्यटकीय सहजताको लागि होमस्टे पनि रहेका छन ।

स्याङ्जा जिल्लामा रहेका विभिन्न पर्यटकीय एतिहासिक धार्मिक स्थलहरूको आन्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने गर्दछ । यहांका एतिहासिक धार्मिक स्थलहरु अनुसन्धान मात्र नभई दृश्यात्मक रुपमा पनि उत्तिकै महत्वका छन् । डाडाँडाडाँमा एतिहासिक स्थल रहेको हुँदा विभिन्न हिमश्रृङ्खलाहरु गाउँघरहरु सजिलो गरी देख्न सकिने बस्दा देख्दा अवलोकन गर्दा केही सिक्न सकिने सिकाउने खालको बाताबरण पनि देख्न सकिन्छ ।

यसै अन्तर्गत स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा रहेका पर्यटकिय सम्भावना बोकेका र पर्यटकीय स्थलको रुपमा रहेका उत्कृष्ट स्थलको बारेमा जानकारी गरिएको छ। जस अन्तर्गत छायाक्षेत्र मन्दिर, स्वरेक मैदान, भिरकोट दरबार, भिरकोट वडा मौला कालिका मन्दिर सुन्दर पार्क, खिलुङ्ग कालिका मन्दिर, रहेका छन् भने गडहरे गुफा अनुसन्धानको रुपमा रहेको छ ।

छायाक्षेत्र मन्दिर

स्वस्थानी ब्रत कथामा आधारित महादेवले सतिदेवीलाई काँधमा बोकेर पृथ्वीको भ्रमण गरेको बखत सतीदेवीको अङ्ग विभिन्न स्थलमा खस्दै गर्दा छाया क्षेत्रमा पनि सतीदेवीको बाकी पीठ खसेको भएर पवित्र धामको रुपमा पूजाआजा गर्ने प्रचलन छ । त्यसैले गर्दा छायाक्षेत्र चर्चामा रहेको छ । भगवान शिव थकित भएर तिर्खा लाग्दा हातमा लिएको त्रिशूलले पहरामा खोप्दा पानी निस्की पानी खाइ प्यास मेटाएको सुन्न पाइन्छ । खोपेर निस्केको पानी छङछङ गर्दै बगेको हुँदा छाङ्ग्छाङ्ग्दी नाम रहेको र यो शब्द अपभ्रंश हुँदै छायाक्षेत्र भनिन थालिएको किम्बदन्ती रहेको छ।

स्याङ्जा जिल्लाकै पवित्र स्थलको रुपमा रहेको छाया क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । नयाँ बर्ष,साउने संक्रान्ति,श्रावण महिना,सोमबार,शिवरात्री,हरितालिका तीज जर्माष्टमी जस्ता पर्व र दिनहरूमा भक्तजनहरुको भिड लाग्ने गर्छ। यस पवित्र स्थलमा विबाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्ने प्रचलन रहेको छ ।

भिरकोटको बयरघारी बजार बाट समीपमा रहेको सिद्धार्थ राजमार्गको द्वारमा जोडिएको निकै शान्त र रमणीय छ । मन्दिर निकै मनमोहक र नुहाउनको लागि धारा रहेको हुँदा पवित्र धामको रुपमा दर्शक र भक्तजनको भीड लाग्ने तीर्थस्थल आकर्षक र पवित्र धार्मिक स्थलको रुपमा रहेको छ । छायाक्षेत्र मन्दिर समुद्री सतह देखि करिब ७३० मीटर उचाइ मा रहेको छ ।

सिद्धार्थ राजमार्गसंग जोडिएको स्थललाई आन्तरिक तथा बाह्य पर्यटकसंग जोड्न सके पर्यटकीय सम्भावना बढाउन सकिनुको साथै प्रचारप्रसारमा पनि अघि बढ्न सक्नेछ । यसले गर्दा अन्य सम्भावना पनि बढ्न गई समृद्धिको आधार निर्माण गर्न सकिन्छ।

स्वरेक मैदान


प्याराग्लाइडिङको लागि विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा रहेको स्वरेक मैदान स्वर्ग कै टुक्रा को रुपमा रहेको छ । प्याराग्लाइडिङको क्लास लिनको लागि पनि उत्कृष्ट रहेको यो स्थल पुग्दा मनमा आनन्द महसुस हुने गर्दछ ।

भिरकोटको वडा नम्बर पाँचमा पर्ने बयरघारी बजार बाट दक्षिण दिशा हुँदै करिब सात किलोमिटरको सडक मार्ग हुँदै पुगिने स्वरेक मैदान खुला चौर स्वच्छ हावापानी सुन्दर सान्त भएको धेरै क्षेत्र बाट पोख्त रुपमा अघिरहेको एतिहासिक धरोहरको रुपमा रहेको रमणिय स्थल छ ।

समुन्द्री सतह देखि करिब १६०० मीटरको उचाइमा रहेको सुन्दर स्थलमा आवत-जावत गर्न सहज र पर्यटकको लागि आवश्यकीय व्यवस्था मिलाउन सकेको खण्डमा पर्यटकिय सम्भावना बढाउन सकिन्छ । यसले अन्य सम्भावना पनि बढाउन सक्छ भने विकासको लागि सहज भई विविध क्षेत्रको विकास गर्न सकिने आकर्षक केन्द्रबिन्दुको रुपमा रहेको भिरकोट पाँचका निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

भिरकोट दरबार

बाईसे चौबिसे राज्य अन्तर्गत पर्ने एक प्रभावशाली र शक्तिशाली राज्य मध्यको भिरकोट दरबार एक एतिहासिक स्थल अन्तरगत पर्दछ । भिरकोटका राजा बस्ने भिरकोट दरबार खान वंशका खाञ्चा खान संस्थापक राजा मानिन्छ भने अन्तिम शासक तारक बहादुर शाह लाई मानिन्छ। यो दरबार भिरकोट नगरपालिकाको वडा नम्बर एकको जगतभन्ज्याङमा पर्दछ ।

त्यतिबेलाका कतिपय राज्यहरु अवशेष विहिन भए भने भिरकोट दरबार तारक बहादुर शाहले वि सं १९९० को महाभूकम्प पछि निर्माण गरेको हुँदा जीर्ण अवस्थामा रहेको छ । १९९० को महाभुकम्प अघि खर र माटो बाट निर्मित उक्त दरबार । पछि इटा काठ र टीनको प्रयोग गरी निकै कलात्मक तीन तले १५ कोठा ५२ झ्यालढोका भएको बनाइएकाे थियाे । दरबार परेवा थुन्ने पूजा गर्ने पाहुना राख्ने कैदी थुन्ने अलग अलग कोठा रहेको थियाे । दरबार सुन्दर र कलात्मक रुपमा रहेको थियो । त्यतिबेला गीत गाउदा पनि “तीन तले बाउन्ने ढोका भिरकोटे राजै को दरबार” भन्ने रोइला पनि तत्कालीन समयमा सुन्न प्रचलन रहेकाे भिरकोट प्रवाक्ता वडा नम्बर एकका वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी गराउनुभयो ।

स्थानिय खानी खोलाको किनारमा तयार गरिएको इटा र स्थानिय काठहरुको प्रयोग गरेर बनाइएको उक्त दरबार तत्कालीन समयमा सडक मार्ग नहुँदा नौतुना बाट पिठ्युँ मा बोकेर ल्याइएको स्थानियहरूले बताउने गर्छन् ।

यही भिरकोट राज्यको नामबाट नगरपालिकाको नाम पनि भिरकोट नगरपालिका राखिएको हाे । भिरकोट दरबार अहिलेसम्म पनि व्यक्तिको स्वामित्वमा रहेको हुँदा नगरले यसको व्यवस्थापन गर्न सकेको छैन भने अहिले व्यक्तिगत लगानी मा नै जीर्ण भएको दरबारलाई पुन निर्माण चलिरहेको जानकारी प्रवाक्ता केसीले गराउनुभयो। एतिहासिक सम्पदाले देशको इतिहास बचाउने हुँदा भावी पुस्तालाई मार्गदर्शन गर्नको लागि र अनुसन्धानको लागि पनि संरक्षण र प्रवर्द्धन आवश्यक रहेको पनि उहाँले बताउनुभयाे।

मौला कालिका मन्दिर

भीरकोट राज्यको स्थापना काल देखि भिरकोटका राजाहरूले पूजा आजा गर्न तयार गरेको मन्दिर भिरकोट वडा मौला कालिका मन्दिरले परिचित छ। बानेथोक भञ्ज्याङ्ग बाट माथि डाडामा धार्मिक स्थलको रुपमा रहेको पर्यटकीय सम्भावना बोकेको यो मन्दिर पर्यटकको पर्खाइमा रहेको छ।

नेपालीहरुको महान पर्व दशैंमा विशेष भीड लाग्ने यस स्थलमा दशैं पर्वमा दिनहुँ पूजा गर्ने गरिन्छ। मनोकामना पूर्ण होस भनेर भाकल गर्ने र पूर्ण भएमा पूजा आजा गर्ने र पञ्च वली लग्ने दर्शक तथा भक्तजनको दशैंमा बढी भीड लाग्ने गर्दछ। अघि पछिको समयमा पनि पूजा आजा गर्ने प्रचलन छ भने औसी एकादशीमा वली सहित पूजा आजा गरिँदैन ।
एतिहासिक र धार्मिक रुपमा मात्र नभएर दृश्यात्मक रुपमा पनि निकै रमाइलो र डाडामा रहेको हुँदा चारै तिर गाउँघर देखिन सक्ने दक्षिण दिशामा एतिहासिक स्थलको रुपमा रहेको देऊपुजे ढुङ्गा र उत्तर पश्चिम दिशामा नुवाकोटको टावर सम्म देख्न सकिने निकै रमणिय रहेको छ। जो कोही पनि प्रवेश गर्यो भने आनन्दको अनुभूति हुनेगर्छ ।

सुरुवातमा माटो ढुङ्गाबाट निर्मित यो मन्दिर जीर्ण हुँदै गएर पुनर्निर्माण गरिएको हो । कृष्ण बहादुर बस्नेत गाविस अध्यक्ष हुँदा एतिहासिक स्थलको संरक्षण आवश्यक भनेर पुनर्निर्माण गरिएको थियो । बानेथोक देउराली गाविस हुँदा नै निर्माण गरिएको उक्त मन्दिर स्थानिय श्रमदान र नगद दानबाट निर्माण कार्य सुरुवात गरिएको थियो। जसमा स्थानिय मेग बहादुर अधिकारीको छोरा मोहन अधिकारीले ठूलो नगद दान बाट मन्दिर निर्माण कार्य सम्पन्न भएको थियो ।

मन्दिरको उदघाटन तत्कालीन समयमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दीप कुमार उपाध्यायले गर्नुभएको थियो। स्थानिय व्यक्तिको सहयोग श्रममा निर्मित भिरकोट राज्य रहदा राजाहरूले पूजा आजा गरेको मन्दिरमा आफू सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै निर्माण टोली सहयोगी मन प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाले एतिहासिक धार्मिक तीर्थस्थल ले पर्यटकिय सम्भावना बढाउन र नयालाई पनि केही सिकाउन सहज हुने भन्दै एतिहासिक स्थलहरुको संरक्षण र संवर्द्धन आवश्यक रहेको जानकारी गराउनुभएको थियो।

बयरघारी विरुवा सडक खण्डको करिब १३ किलोमिटरको उत्तर पूर्वको यात्रा पछि एक भञ्ज्याङ्ग आउँछ । भिरकोट नगरपालिका वडा नम्बर तीन बानेथोक देउराली भञ्ज्याङ्गमा अवस्थित यो मन्दिर पर्यटकीय सम्भावना बोकेको स्थलको रुपमा रहेको छ ।

बानेथोक भन्ज्याङ्गबाट डाडामा रहेको धार्मिक पर्यटकीय स्थल बजारबाट कच्ची बाटो हुँदै आउनुपर्ने हुँदा आवत जावतमा केही समस्या देखिएको छ। त्यसैले बयरघारी विरुवा सडक खण्डको बाटोको स्तरोन्नति गर्न सकेको खण्डमा पर्यटकीय सम्भावना बोकेको धार्मिक एतिहासिक स्थलको भ्रमणको लागि सहज भई पर्यटक आवत जावतमा वृद्धि हुन सक्ने र पर्यटक देखि स्थानीयलाई पनि सहजको बाताबरण हुने भिरकोट ३ का वडा अध्यक्ष केशर बहादुर खड्का बताउनुहुन्छ। त्यसैगरि भिरकोट ३ मै भञ्ज्याङ्ग बाट दुई किलोमीटरको दुरीको आसपास कोखे छहरा मूलका बाराही जलदेवी मन्दिर र तीन किलोमीटर दूरी निकै दुर्गम क्षेत्र तर सुन्दर मन्नु छहरा रहेको जानकारी समेत वडा अध्यक्ष खड्काले गराउनुभयो।

सुन्दर चौर


पिकनिकको लागि आकर्षकको रुपमा रहेको सुन्दर पार्क निकै सुन्दर र खुला चौरको रुपमा रहेको छ।  भिरकोट नगरको बयरघारी बजारबाट करिब तीन किलोमिटरको दूरीमा रहेको सुन्दर पार्कमा पिकनिकको लागि आवश्यक सामग्रीको व्यवस्था पनि गरिएको छ। यो स्थान समुन्द्र सतह देखि एक हजार मिटरको उचाइमा रहेको छ भने दृश्यात्मक रुपमा पनि महत्व रहेको छ।

वनभोज गर्दा आवश्यक सामग्री बोकेर ल्याउन नपर्ने स्वीमिङ्ग नाचगान खानपानको लागि भाडा वर्तन बोक्न नपर्ने वनभोजको लागि सहजता थपेको छ । सहजताको कारण लोकप्रिय पनि रहेको छ । यसै गरी गर्मी मौसममा पौडी खेल्न पाइने यो स्थल पर्यटकको पर्खाइमा रहेको छ।

सुन्दर चौरमा विभिन्न प्रजातिका वनस्पति रोपिएको हुँदा वनस्पति उद्यान केन्द्रको रुपमा पनि परिचित रहेको वडा अध्यक्ष रामकाजी खत्रीले जानकारी गराउनु भयो। रुद्राक्ष अशोक गोल मोहर तेजपात सल्लो लप्सी जस्ता वनस्पति रोपिएको र बोटानिकल गार्डेनको रुपमा अघि बढाइएको समेत वडा अध्यक्ष खत्रीले बताउनुभयो।

सुन्दर चौर पिकनिक स्थलको लागि मात्र नभएर अग्लो टावर भएको हुँदा स्वरेक मैदान, गह्रौसुर, खिलुङ कालिका, आँधीखोलाका मनोरम दृश्यहरु स्पष्ट सङ्ग देख्न सकिने हुँदा दृश्यात्मक रुपमा पनि मनोरम स्थलको रुपमा रहेको वडा अध्यक्ष खत्रीले बताउनुभयो।

भिरकोट नगरपालिकाको वडा नम्बर ६ तिसेदीमा पर्ने सुन्दर चौर बयरघारी बजारबाट केही दूरीमा रहेको छ। नगरपालिकाको सहयोगमा निर्माण गरिएको यो सुन्दर पार्क निकै रमणिय र नगरको लागि पनि आवश्यक एतिहासिक स्थल हो । यो ठाउँ पर्यटकिय सम्भावना भएको खुला चौर रहेको हुँदा पिकनिकको लागि सहज आकर्षक र निकै रमणीय छ। वडा नम्बर ६ का वडा अध्यक्ष रामकाजी खत्रीले पिकनिकको व्यवस्थापनमा सहजताको लागि आवश्यक सामग्री जुटाएर राखेको छ भने भाडा बत्ती साथै वनभोजमा मनोरञ्जनको लागि नाचगानको लागि आवश्यक सामाग्रीको पनि व्यवस्था गरिएको छ पिकनिकको लागि र सामूहिक रमाइलो गर्न आउनेहरुको लागि सहज रहेको जानकारी गराउनुभयो। त्यस्तै गरी गर्मी मौसममा सहजता र मनोरञ्जनको लागि पौडी खेल्ने पिङ्ग खेल्ने व्यवस्था गरिएको पनि वडा अध्यक्ष खत्रीले जानकारी गराउनुभयो । पौडीको व्यवस्थाले गर्मी मौसममा घुमघाममा आउनेहरूको लागि शीतलता हुने र आनन्दित बनाउन सहजता थपेको जानकारी समेत उहाले गराउनुभयो।

खिलुङ कालिका मन्दिर

भिरकोट नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित खिलुङ कालिका मन्दिर निकै सुन्दर र पर्यटकीय गन्तव्यको रुपमा रहेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बयरघारी को समीपको हेलू बजारबाट सात किलोमीटरको ग्रामीण सडक हिँडेपछि पुगिने यों क्षेत्र निकै सुन्दर छ। नेपालीको महान पर्व दशैंमा भीड लाग्ने यो मन्दिरमा देवीको पूजा आजा धुमधाम साथ गरिन्छ। खिलुङ्गकालिका मन्दिर सुरुवात चौधौं शताब्दी तिर स्थापना भएको भन्ने छ तर कसले कहिले देवीको मन्दिर स्थापना गर्यो भन्ने एकिन भने छैन। तेर्हौ सताब्दीको अन्त्य र चौधौं सताब्दीको सुरु तिर खिलुङ सक्ती पीठको स्थापना भई त्यसैबेला देखि पूजाआजा चलाउँदै आएको अनुमान गरिन्छ ।

नेपाल एकिकरण पूर्व बाइसे र चौबिसे राज्य अन्तर्गत चौबिसे राज्यको सूत्रपातका शाहवंशीयहरु कुलमण्डल खान भारतको राजस्थानबाट पश्चिम नेपालको सुनौली हुँदै स्याङ्जा जिल्लाको बिर्घा लसर्घा आइपुगेर त्यही केही समय बसी पूर्व उत्तर तर्फ आउने क्रममा खिलुङ कालिकामा आई बसोवास गरेका र त्यहाका राजा भएको इतिहास छ। तीनै राजाका दुई सन्तान हरिहर सिंह र अजय सिंह पछि खाञ्चा खान र मिञ्चा खानका नामले देखापरेको भन्ने भनाइ इतिहासमा छ। माथि डाडामा बस्दा अप्ठ्यारो भई दभौ ठाटीमा रहेको थुम्कामा बसाईसरी त्यहा सहज भएर त्यहीबाट राज्य सञ्चालन गरेको सुन्न पाइन्छ। त्यसपछि दुई दाजुभाइ बीच जग्गा बाँडफाँड हुँदा भिरकोट र गह्रौकोट नामका दुई राज्य देखा परे। त्यसपछि उनैका सन्तान नुवाकोट सतौंकोट कास्की लमजुङ हुँदै गोरखा सम्म पुगी विधिवत् रुपमा नेपाल राज्यको एकीकरण अघि बढेको इतिहासले देखाउँछ ।

राजाहरूले आफ्नो सुरक्षा र आफू बसेको ठाउँ सुरक्षित राख्नको लागि देवीको मन्दिर बनाउने प्रचलन जहां पनि रहेको पाइन्छ भने मन्दिरमा विविध किसिमका हतियार राख्ने गरेको पाइन्छ। पर्वहरुमा वली दिएर पर्व मनाउने र देवीको धुमधामले पूजा आजा गर्ने प्रचलन रहेको पाइन्छ। त्यसै गरि त्यहा पनि पूजा आजा गर्ने प्रचलन रहेको इतिहासमा पाइन्छ । त्यसै गरी मानबिय केही घटना भएर समस्या भई पूजा आजा गर्ने प्रचलन रहेको किम्बदन्ती रहेको छ । पूजा आजा गर्दा आफ्नो मनसाय पूर्ण होस् भनेर भाकल गर्दा समस्या दूर भई मनोकामना पूरा भएको हुँदा जनविश्वास बढ्न गई पूजा आजाको प्रचलन कायम रहेको र यसैलाई व्यवस्थित गर्नको लागि खिलुङ कालिका मन्दिरको पनि पुनरनिर्माण गरिएको सुन्नमा आउँछ। हालमा एक किलोमीटर बाटो पिच गरेर केही सहजीकरण थपिएको छ भने आउँदो वर्षमा बाटो सहजीकरणको लागि निरन्तरता दिने लक्ष्य राखेको वडा अध्यक्ष तारा अर्यालले जानकारी दिनुभयो।

सुरुवातमा स्थापना गरिएको उक्त मन्दिर जीर्ण भएर २०७४ सालमा तोयानाथ अर्यालको अध्यक्षतामा जय गुरुङ्गको सहयोगमा खिलुङ कालिका मन्दिरको पुनरनिर्माण महायज्ञ लगाएर सुरुवात गरिएको थियो भने स्थानिय सहयोग सांसद विकास कोष खर्च गरेर निर्माण कार्य सम्पन्न गरिएको थियो।

वडा नम्बर ७ का वडा अध्यक्ष तारा अर्यालले मन्दिरमा दैनिक रुपमा पुजारी राखेर आउने भक्तजनलाई सुविधा दिन सके र मन्दिर वरपर कम्पाउण्ड लगाएर मन्दिरको शोभा बढाउन सके भक्तजन तथा पर्यटन सम्भावना बढाउन सकिने जानकारी दिनुभयो। त्यसै गरी यसको संरक्षण र सम्बर्द्धनको लागि पुरातत्व विभागको नजर पर्न नसक्नु दुःखद रहेको व्यक्त गर्दै एतिहासिक धार्मिक स्थलको प्रशस्त पर्यटकीय सम्भावना रहेको जानकारी दिनुभयो। यस क्षेत्रमा आवतजावतको लागि बाटो सहजीकरण गर्न सके यात्रा सहज र पर्यटकलाई पनि आवत जावतमा सहज हुने वडा अध्यक्ष अर्यालले जानकारी गराउनुभयो। त्यसै गरि होमस्टे सञ्चालनमा पनि सहज हुने जानकारी उहाले दिनुभयो।

पर्यटकिय सुन्दर क्षेत्रको संरक्षण र सम्बर्द्धन आवश्यक छ । एतिहासिक स्थलको सुरक्षा भइरहेको पुस्ताको जिम्मेवारी हो भने नयालाई पनि सिकाउने एक माध्यम हो। यसले इतिहासको गौरवको बारेमा जानकारी गराउँछ भने पौरखको पनि उजागर गर्छ। नयालाई पनि केही गर्नुपर्छ भन्ने हुटहुटी पैदा गर्न प्रेरणा दिन्छ। त्यसैले एतिहासिक स्थल संरक्षण सम्बर्द्धन गरेर राख्नुपर्छ।

भिरकोट पार्क


भिरकोट पार्क भिरकोट नगरले नगरबासी लगायत नगर बाहिरका नागरिकका लागि मनोरञ्जन गर्नको लागि सहज हुने र सामूहिक भेटघाटको साथमा मनोरञ्जन गर्न भिरकोट बाट टाढा जानु नपर्ने भन्दै पार्कको स्थापना गरेको छ। वनभोज, सामूहिक भेटघाटको लागि भिरकोट पार्क निकै उपयोगी पनि रहेको छ। भिरकोट पार्क नगर भित्र हुँदा सामूहिक भेटघाटको लागि गन्तव्यको रुपमा रहेको छ भने बाहिरीलाई पनि साथी भेटघाट तथा रमाइलोको लागि आकर्षक स्थल बनेको छ।

भिरकोट पार्क नगरपालिकाले साथीहरु समूहमा भेट्घाट गर्न सहज माध्यमको साथमा आकर्षक गन्तव्य स्थलको रुपमा अघि बढाउन निर्माण गरेको स्थल हो । त्यसै गरी बाहिरबाट समुहमा आउनेको लागि पनि सहज गन्तव्य बनाउने उद्धेश्य सहित निर्माण गरेको पार्क हो। भिरकोट पार्क भिरकोटको वडा नम्बर ४ मा पर्दछ । भिरकोट लायन्स क्लबले पार्कको आकर्षक र सुन्दरता बढाउनको लागी र स्वच्छ वातावरण रहिरहोस् भन्नका लागि पनि फलफूलका विरुवा रोपेको र पार्क भित्र विरुवा रोप्दा विरुवा संरक्षण गर्नको लागि सहज पनि हुने भन्दै रोपिएको भिरकोट वडा नम्बर ७ का वडा अध्यक्ष तथा भिरकोट लायन्स क्लबका संस्थापक सल्लाहकार तारा प्रसाद अर्यालले जानकारी दिनभयो।

गडहरे गुफा


भिरकोटको वडा नम्बर ८ र ९ को संगमस्थलको रुपमा रहेको गडहरे गुफा ठूलो भन्ज्याङ्गमा अवस्थित छ। गुफाको गन्तव्य अहिले सम्म भेटिएको छैन । सामुन्द्रिक सतह देखि करिब १५०० मीटरको उचाईमा रहेको यो स्थल पर्यटकिय गन्तव्यको रुपमा रहेको छ। यो गुफा सिद्धार्थ राजमार्गको बयरघारी बजारबाट पश्चिम दिशाको करिब दश किलोमिटरको दूरीमा रहेको छ। अहिलेसम्म गुफाको गन्तव्य पत्ता लाग्न सकेको छैन भने गुफाको गन्तव्य पत्ता लगाउन एक टोली बिहान दश बजे देखि साझ पाँच बजे सम्म भित्र घुम्दा पनि उक्त टोलीले यसको बारेमा पत्ता लगाउन सकेन। यसको अनुमानमा गडहरे गुफा धेरै ठूलो रहेको अनुमान गर्न सकिन्छ । गुफा भित्र पस्नको लागि साघुरो प्वाल भए पनि भित्र पसि सकेपछि जताततै अँध्यारो रहेको छ। यस गुफा भित्र पानीका पोखरीहरू रहेको यहां भित्र जानेहरुले बताउने गर्दछन । त्यसै गरी गुफाको भित्तामा चमेरा हरुको समुह देखिने र ढुङ्गाका मूर्तिहरु गुफा भित्र रहेको जानकारहरु बताउने गर्दछन् । भित्र अँध्यारो भएको हुँदा भित्र पस्दा उज्यालोको आवश्यक पर्दछ । यसको लागि केही अनुसन्धान भएको छ तर पूर्ण भएको छैन । प्राकृतिक सुन्दरताको लागि प्रसस्त सम्भावना बोकेको स्थल गडहरे गुफाको संरक्षण र प्रवर्द्धन गर्न सकेको खण्डमा पर्यटकिय सम्भावना बढाउन सकिन्छ ।

हरेक ठाउँको एतिहासिक स्थलले पर्यटकिय सम्भावना बोकेको र एतिहासिक चीज बीजको खोज अनुसन्धान गर्दा केही सिक्ने अवसर मिल्ने हुँदा नया पुस्तालाई सहजता हुने हुँदा पनि एतिहासिक धार्मिक तीर्थस्थलको संरक्षण र सम्बर्द्धन गर्नु आबस्यक छ । नेपाल ग्रामीण क्षेत्रले भरिएको हुँदा विकासको लागि पर्यटकीय सम्भावना बढाउनको लागि पनि एतिहासिक स्थल संरक्षण गर्नु आवश्यक रहन्छ । एतिहासिक स्थलको सम्भावना बढाउने तवरबाट विकास गर्नको लागि र भएको तिर्थ स्थल संरचनाको प्रचार प्रसार र संरक्षण जरुरी छ। पुरानाले गरेको योगदान गौरव र पौरख त्यसै गरी पुराना एतिहासिक स्थलको महत्व र प्रभावका बारेमा गौरव गाथा नया लाई केहि गर्ने प्रेरणा साथमा उत्सुकता जाग्ने हुँदा पनि गौरव र पौरखको चिनारी राखिराख्न आवश्यक रहन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय