कल्पना भट्टराई
काठमाडौ,१४ साउन । स्याङ्जाको गल्याङ नगरपालिकामा ३ मा रहेको बुटवल पावर कम्पनी अन्तर्गतको आधिखोला जलविद्युत परियोजनाले सम्झौता अनुसार काम नगरेको सांसद नारायण प्रसाद आचार्यले आरोप लगाउनु भएको छ ।
सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद आचार्यले ग्रामीण परियोजनाको योजना लिएर २०३९ सालमा स्थापना भएको परियोजना पछिल्लो समय नाफा मुखी मात्रै बन्दै गएको आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो “सुरुमा ७ सय हेक्टर जमिन सिंचाइ गर्छौ भनेर सुरु भएको परियोजनाले अहिलेसम्म जम्मा ४ सय हेक्टर मात्रै जमिन सिंचाइ गरेको छ ।” नाफा भन्दा अन्यत्र ध्यान नदिएको बताउदै सांसद आचार्यले सुरुङ्ग निर्माण गर्दा जोखिम परेको ८० घर रहेको लल्याङ गाउँको संरक्षणमा पनि कुनै ध्यान नदिएको आरोप लगाउनु भयो ।
भएका सम्झौता कुनै कार्यान्वयन नगरेको र विद्युत महसुल बढाउन मात्रै आयोजना केन्द्रित भएको उहाँको आरोप छ ।