काठमाडौ २३ साउन । स्याङ्जाको बिरुवा गाउँपालिकामा असार २६ गते आएको भीषण पहिरोमा परिवार गुमाएर एकल बनेका १४ बर्षिया रोसन शर्मालाई पुर्व मन्त्री धनराज गुरुङले जिम्मा लिनु भएको छ ।
पहिरो गए लगत्तै स्थलगत अवलोकनमा पुग्नु भएका नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बच्चालाई एक्लै हुन नदिने प्रतिबद्धता जनाउदै बच्चाको सारा जिम्मेवारी लिने प्रतिबद्धता जनाउनु भएको थियो । सोही प्रतिबद्धता अनुरुप पुर्व मन्त्री गुरुङले रोशन शर्मालाई ललितपुरकाे बज्र एकेडेमीमा १२ कक्षा सम्म पढाउने गरी भर्ना गरिदिनु भएको छ ।
ललितपुर जिल्लाको गोदावरी नगरपालिका १३ मा रहेको बज्र एकेडेमीमा आवासीय पढाईको लागि भर्ना गर्दिनुभएका पुर्व मन्त्री गुरुङले स्कुल बिदा भएको समयमा आफ्नो अभिभावकत्व रहने गरि विधालयमा भर्ना गराएको विधालयका प्राचार्य जगदीश ढकालले जानकारी दिनुभयो ।
रोशनलाई लिन बिरुवा गाउँपालिका पुग्न भएका पुर्व मन्त्री गुरुङले आफ्नै साथमा मंगलबार काठमाडौ ल्याउनु भएको थियो । बुधबार रोशनलाई एकेडेमीमा आवासीय भर्ना गरिदिनु भएको हो । रोशनको लागि किताब, कापी, ड्रेस, बस्नको लागि बेड-बिस्तारा लगायत सबै पुर्व मन्त्री गुरुङले तयार गरेपछि बाकी शिक्षा दिक्षा तथा आवासीय सुबिधा विधालयले प्रदान गर्ने गरि विधालयको छात्राबासमा राखिएको एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले जानकारी दिनुभयो ।
त्यस्तै सोही पहिरोबाट परिवार बिहिन बन्नुभएका सोही ठाउँकै गोबिन्द शर्मा मरासिनीलाई पनि स्नातक तह निशुल्क पढ्ने गरी पाेखरामा भर्ना गरिएको नेपाली काङ्ग्रेस बिरुवा गाउँपालिका अध्यक्ष डोलराज पोख्रेलले जानकारी दिनुभयो ।