स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष बिरुद्ध पक्राउ पुर्जी

२०८१ श्रावण २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २९ साउन । स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. को बिरुवा सेवा केन्द्रबाट रकम अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ पुर्जी जारी भएको छ । रकम अपचलन भएको घटना बाहिरीएपछि सहकारीको आन्तरिक अनुसन्धानमा ३ करोड ६६ लाख रुपैयाँ अपचलन भएको भेटिएको श्रोतले दाबी छ ।

पक्राउ पुर्जी जारी हुनेमा कुँवर सहित सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालिन सचिव हालका अध्यक्ष तारेन्द्र बहादुर के.सी. र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन् ।

प्रहरी अनुसन्धानमा सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेले २०७४ देखि सहकारीमा भएको रकम अपचलन घटनामा गाउँपालिकाका अध्यक्ष कुँवर सहितका व्यक्ति संलग्न रहेको बताएपछि उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरी श्रोतले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष कुँवरले २०७४ को स्थानीय निर्वाचनका समयमा कागजात बिना रकम लगेर अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । स्थानीय सर्वसाधारणबाट सहकारीमा संकलित मोटो रकम अपचलन भएपछि सूर्योदय सहकारीकै प्रबन्धक ध्रुब नारायण श्रेष्ठ समेतको जाहेरीमा उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरीको भनाई छ ।

पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट ईडिटिङ् गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गर्ने गरेको खुलेको छ । आमसर्वसाधरणको रकम अपचलन गर्नेलाई कडा कारबाही गर्न सहकारीका बचतकर्ताले आग्रह गरेका छन् । पालिकाका अध्यक्ष कुँवर र सहकारी सेवा केन्द्रका अध्यक्ष के.सी. का नातेदार हुन् भने सेवा केन्द्र प्रमुख एमालेकै कार्यकर्ता हुन् । २०७४ को स्थानीय निर्वाचन कुँवर एमाले पार्टीबाट गाउँपालिकाको अध्यक्ष बनेका हुन् । लामो समय शिक्षण पेशामा आबद्ध भएका अध्यक्ष कुँवर शिक्षण पेशा छाडेर राजनीतिमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय