वालिङकाे पर्यटकिय गह्रौँकोट दरबार

२०८१ श्रावण ३१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

नेपाल एकिकरण अघि आर्टिका राज्य अन्तर्गत पर्ने कास्कीकोट, ढोर, लम्जुङ्ग, गोरखा, सतौंकोट, नुवाकोट, भिरकोट र गह्रौ कोट राज्य नेपाल एकिकरण पछि सबै विलीन भएको सर्वविदितै छ। आर्टिका राज्यमा राणा भूपाल सिंहले शासन गरेको भन्ने छ भने त्यसै अन्तर्गत राणा भूपाल सिंहका दुई छोरा अजय सिंह र हरिहर सिंह रहेको र उनैका सन्तानले राज्य गरेको इतिहास छ। आर्टीका राज्य अन्तर्गतको एक राज्य गह्रौ कोट राज्य हो।

गह्रौ कोट राज्य स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८ मा पर्दछ भने गल्याङ् नगरपालिका सङ्ग जोडिएको हुँदा संगम स्थलका रुपमा रहेको छ। विक्रम संवत् १४३२ इस्वी संवत् १३७५ मा स्थापना भएको गह्रौ कोट दरबार अजय सिंहको सन्तान दशरथ खाणबाट सुरु भई जस् खाँड, उत्तिम खाँड, जामुने खाँड,महिमती खाँड, कर्ण खाँड, उच्च खाँड अजर खाँड, अधर खाँड, धुरु खाँड र अन्तिम स्वतन्त्र राजा भक्त खाँड रहेको वालिङ नगरपालिकाका पूर्व मेयर गह्रौ कोट मन्दिरका संरक्षक दिलीप प्रताप खाणले जानकारी दिनुभयो। उहाले भूपाल सिंहको दुई छोरा अजय सिंह र हरिहर सिंहलाई धुट भाषामा कर अञ्च खेन् भनेको जेठो छोरा या सन्तान र मर अन्च खेन कान्छो सन्तान र छोरा भन्ने हुँदा अजय सिंह र हरिहर सिंह पछि खान्चा खान र मिन्चा खानले परिचित रहेको जानकारी गराउनुभयो।

त्यसै गरी  भक्त खाँडको पालामा गोरखा राज्यले आक्रमण गर्दा लडाईमा हारेर गह्रौ कोट राज्य विलीन भएको र नेपाल राज्यमा गाभिन पुगेको का पूर्व मेयर खाणले  बताउनुभयो।

वि सं १४३२ मा सुरुवात गरेको उक्त गह्रौ कोट हाल सम्ममा पाँचौं पटक गह्रौ कोट निर्माण कार्यले निरन्तरता पाइरहेको छ। अझै पनि निर्माण कार्य निरन्तर रुपमा चलिरहेको छ। तत्कालीन राजाहरूले आफ्नो सुरक्षा र खुशीको लागि पूजा आजा गरी वली दिने प्रचलन थियो। जस अन्तरगत गह्रौ कोटमा पनि गह्रौ कालिका भगवतीको पूजा गर्ने प्रचलन आज सम्म पनि निरन्तर चलिरहेको छ। त्यसै गरी खानहरुको कुल स्वरुप आलम देवी वेग माता बेगेस्वरी कुल देवीको पूजा आजा गर्ने प्रचलन आज सम्म पनि निरन्तर रुपमा चलिरहेको पूर्व मेयर खाणले बताउनुभयो।

देवीलाई विधिपूर्वक माला मन्त्र र दश महत्व विद्या अन्तरगत काली महा विद्याको रुपमा चिनिन्छ । त्यसै गरी १८ प्रकारको सिद्ध विद्या अन्तरगत महा माली सिद्धत्व विद्या साक्त देवी अन्तर्गत र अष्ट सिद्धि प्राप्त गर्नु भएको देवीले गौण सिद्धि अन्तर्गत आठौ नम्बरको पाठा संकल्प सम्दिद्धी र १७ क्षुद्र सिद्धि अन्तर्गत को पाँचौं नम्बर अन्तर्गतको अपरा पदपा सिद्धिको आशीर्वाद भक्तजन लाई प्राप्त हुने जानकारी खाणले दिनुभयो।

एतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको गह्रौ कोट समुन्द्री सतह देखि करिब १५९६ मीटरको उचाइमा रहेको छ। धेरै उचाइमा रहेको हुँदा हिम श्रृङ्खला हरु देख्न सकिन्छ। गह्रौ कोट भगवती मन्दिरबाट स्याङ्जा, पाल्पा, पर्वत ,गुल्मी, जिल्लाका केही भूभागहरु हरियाली फाँटहरु , रामपुरको फाँट, काली गण्डकी, आँधीखोला , नुवाकोट म्याग्दी ,नवलपरासीका केही भूभाग तथा विविध साना खोलाहरू अग्ला हिमाल पहाड र खोंचहरुको दृश्यहरु देख्न सकिने लोभ लाग्दो स्थलको रुपमा प्रसिद्ध रहेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केश भक्त गुरुङ्गले जानकारी दिनुभयो।

खान राजाहरूले आफ्नो सुरक्षाको लागि बनाएका किल्ला गौडा तथा गढीहरु अहिलेसम्म पनि देख्न पाइन्छ। उत्सव मनाउनको लागि वली सहित देवीको पूजा आजा गर्ने र सुरक्षित रहनको लागि देवीको मन्दिरमा हतियारहरु लुकाएर राख्ने गरेको दरबारको बिशेषता रहेको  गुरुङ्गले जानकारी गराउनुभयो।

गह्रौ कोट राज्य रहदा पूर्वमा भिरकोट, पश्चिममा रिडी, उत्तरमा पैयु र दक्षिणमा पाल्पासम्म फैलिएको शक्तिशाली र रमणिय स्थलको रुपमा रहेको थियो । औंसी, एकादशी ग्रहण लाग्ने दिन चौथी तिथी र सोह्र श्राद्धमा वली सहित पूजा आजा गरिँदैन भने विशेष भीड शुक्ल पक्ष अन्तर्गत आस्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष ,मंसिर शुक्ल पक्ष र माघ शुक्ल पक्षमा रहने गर्छ।

हिन्दूहरूको महान पर्व विजया दशमी र चैत्र दशैंमा पूजा आजा गर्ने भाकल गर्नेहरुको बढी भीड लाग्छ । दशैंमा घटस्थापना देखि पूजा आजा गरिन्छ । जसमा विशेष सप्तमी देखि नवमी सम्म बढी भीड लाग्ने गर्दछ। भक्तजनको मनोकामना पूरा गर्ने भएको हुँदा गह्रौ कालिका भगवतीको पूजा आजामा जनविश्वास बढ्न गई भक्तजनहरुको भीड लाग्ने गर्छ । पञ्चवली सहित पूजा आजा गर्ने उक्त मन्दिरमा पाठा, भेडा, कुखुराको भाले, परेवा, अण्डा, पाडाको वली दिने प्रचलन अहिले पनि निरन्तर चलिरहेको छ।

भगवतीको पूजाको लागी ब्राहमण पुजारी र कालिकामा मगर पुजारी रहेको खाणले जानकारी दिनुभयो । दुइ शुक्ल पक्षमा तंत्र विद्या साधनामा र दुई शुक्ल पक्षमा शक्तिको आराधनामा पूजा आजा गरिने जानकारी उहाले गराउनुभयो।

सुरुवातको समय गह्रौ कोट राज्य रहदा गुठी अनुसार चल्ने उक्त मन्दिर मा अहिले गुठी बाट नभई भक्तजनको दान बाट सम्बधित सरोकार हरु र समिति ले सबै कुराको चाँजोपाँजो मिलाएको हुन्छ। समिति को छलफल आम्दानीको विषय मीडिया मार्फत सार्वजनिक गरी बैंकिङ्ग कारोबार मार्फत काम गरिने जानकारी खाणले दिनुभयो। पुजारीको लागि खर्च र पूजा आजा गर्नको लागि खर्च को व्यवस्था समिति ले निर्णय गर्दछ। भक्तजन बाट गरिएको दान बाट आवश्यक खर्च को व्यवस्था अहिलेसम्म गरिएको जानकारी उहाले बताउनुभयो।

पर्यटकिय सम्भावना भएको हुँदा ठाउँ को अवलोकन गर्नेहरु जुनसुकै समय मा पनि आउने गरेको जानकारी मन्दिरका संरक्षक खाणले जानकारी गराउनु भयो।
आन्तरिक तथा बाह्य पर्यटक को आकर्षक को स्थल रहेको गह्रौ कोट मा स्याङ्जा का विभिन्न पालिका, पाल्पा, गुल्मी, पर्वत,बाग्लुङ्ग, लम्जुङ्ग,बुटवल, पोखरा लगायत का स्थान बाट बर्सेनि हजारौंको संख्यामा भक्तजन हरु अवलोकन को लागि आउने जानकारी खाणले गराउनुभयो। रमाइलो मानेर परिवार सहित साथीहरु मिलेर पनि आउने गर्दछन। त्यहाबाट वरिपरि देखिने दृश्यहरुको अवलोकन गरेर आनन्दको महसूस गर्ने गर्दछन ।

सुरज प्रताप खाणको अध्यक्षतामा गह्रौ कोट मन्दिरको विविध कार्यक्रम योजना बद्ध रुपमा अघि बढिरहेका छन् । सिद्धार्थ राजमार्गको वालिङ्ग बजारबाट करिब आठ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा बाटो केही पिच भएको छ भने कति बाटो वर्षादको समय ले समस्या मा हुँदा ग्रामीण सडक स्तरोन्नतिको काम निरन्तर रुपमा अघि बढिरहेको पनि छ। आवतजावतको लागि केही सहज छ भने कुनै ठाउँमा अलिक गार्हो पनि छ भने गाडीमा जादा करिब आधा घण्टा समयमा माथि मन्दिरमा पुग्न सकिन्छ। सिद्धार्थ राजमार्ग अन्तर्गत कै मिर्दी, भकुण्डे काफल डाँडा मार्गबाट पनि मन्दिर पुग्न सकिने जानकारी उहाले गराउनुभयो। त्यसै गरी गल्याङ्गबाट करादी खोला तीन दोबाटो हुँदै पनि मन्दिरमा पुग्न सकिन्छ। चापाकोट रोग्दी ठाटी हुँदै पनि पुग्न सकिन्छ भने चापाकोटको बाटो हुँदै आउँदा करिब एक घण्टा समय लाग्दछ भन्दै मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केश भक्त गुरुङ्गले जानकारी गराउनुभयो।

त्यसै गरी निर्माण को काम योजनाबद्ध रुपमा अघि बढिरहेको छ भने निर्माण कार्यले निरन्तरता लिएको पनि छ । मन्दिरमा खानेपानी, सार्बजनिक शौचालय, धर्मशालाको व्यवस्था गरिएको जानकारी गराउँदै सडकको लागि काम हुँदै गरेको जानकारी उहाले दिनुभयो । साथीको समूहमा गह्रौ कोट को दर्शन गर्ने र रमाइलो गर्नको लागि पिकनिक स्पोर्टको पनि व्यवस्था भएको जानकारी उहाले गराउनुभयो । भने १००/१५० जना लाई पुग्ने आवश्यक सामग्री भाँडाकुँडा भएको गुरुङ्गले जानकारी गराउनुभयो।
सुरूवात मा राजाको समय मा गुठीबाट संचालित गह्रौ कोट मन्दिरको व्यवस्था हाल मा गुठी नहुँदा भक्तजनको दानबाट संचालित भएको छ भने गह्रौ कोटको गुठीबाट मन्दिरको खर्च चलाउने व्यवस्था तत्कालीन समयमा रहेको जानकारी खाणले दिनुभयो। हालमा गुठीको खोजी कार्य भइरहेको पनि उहाले जानकारी गराउनुभयो। नेपाल एकिकरण पश्चात गह्रौ कोट राज्य का तत्कालीन राजा श्री भक्त खाण का दश नाति मध्य दुई भाइ हालको पूर्णामृत स्कूल र आठ भाइ पेखु मा बसाई सरी बसेको जानकारी पनि उहाँले गराउनुभयो।

गह्रौ कोट राजाको हार पछि गह्रौ कोटको रेखदेखको लागि मुखियाले जिम्मा लगाएको र गुठी पछि उनीहरूले नै रेखदेख गर्दै गर्दा अहिले गह्रौ कोट को नाममा गुठी नभएको जानकारी गराउँदै गुठी को खोजी कार्य भएको जानकारी खाण ले गराउनु भयो। पुस्तान्तरण हुँदै जाँदा पुरानो व्यक्ति नरहेको र नया लाई जानकारी नहुँदा यो समस्या भएको हुनसक्छ ।

मन्दिर पुन निर्माण लगायत मन्दिर को लागि आवश्यक सम्पूर्ण व्यवस्था मा नेपाल सरकार, शहरी विकास मंत्रालय सडक विभाग पुरातत्व विभाग मन्दिर समिति, व्यक्तिगत दानकारी मन हरु डा।गिरिधारी शर्मा लगायत विविध व्यक्तिहरूको निर्माण तथा आवश्यक सहयोग मा योगदान रहेको छ। २०५३ साल मा राजा वीरेन्द्र बाट उदघाटन भएको पुनरनिर्माण मन्दिर को निर्माण संयोजक मा डोलराज शर्मा रहनुभएको थियो। गह्रौ कोट मन्दिरको लागि उहाको ठूलो योगदान रहेको खाणले जानकारी गराउनुभयो। अव आउने २०८३ साल सम्म मन्दिरको आवश्यक सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न उद्धेश्य सहित कार्य योजना अघि बढाइएको पूर्व मेयर खाण ले जानकारी गराउनुभयो।
पञ्चायती व्यवस्थाको हार पछि देशमा बहुदल आए सँगै खाँड हरु को सक्रियता मा समिति बनाएर गह्रौ कोट को संरक्षण गरिएको वालिङ्ग का पूर्व मेयर दीलिप प्रताप खाणले जानकारी गराउनुभयो। त्यसैगरी खान को कुल आलम देवीको नाम मा मिर्मी मा १८८६ रोपनी गुठी रहेको जानकारी आएको उहाले बताउनुभयो भने के कति गुठी कहा कहा छ खोजी कार्य भई रहेको पनि उहाँले बताउनु भयो।

उच्च स्थान वा शिरमा रहेको हुँदा डाँडाकाँडा देख्न सकिने खोंच पहाड हेर्न सकिने वरिपरि रहेका बस्ती जिल्लाहरू गाउँहरु स्पष्ट देख्न सकिने रमणीय रुपमा रहेको र भक्तजन दर्शनार्थी सबैलाई आशीर्वाद दिने उक्त मन्दिर एक पटक पुग्नै पर्ने ठाउँको रुपमा रहेको छ।

एतिहासिक स्थलहरुले नया पुस्तालाई केही सिक्ने र केही गर्ने भाबना जागृत गराउने हुँदा यस्ता स्थलहरूको संरक्षण र प्रवर्द्धन राज्यको जिम्मेवारी हो। त्यसै गरी स्थानिय तर मा रहने सबै जनाले इतिहास बचाउनको लागि आवश्यक रहन्छ। गह्रौ कोटको संरक्षण पनि त्यत्ति कै आवश्यक छ र पर्यटकीय क्षेत्रको रूपमा अघि बढिरहेको छ भने अझ बढाउनु आवश्यक छ। यसको लागि योगदान गर्ने सबैजनाको नाम इतिहासमा रहने गरी राख्यो भने भावी पुस्तालाई पनि केही गर्न प्रेरणा जाग्छ ।

पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय