काठमाडौँ,१२ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेलसँग आबद्ध सबै सङ्घहरूले थप प्रभावकारी काम गर्नुपर्ने बताउनुभएकाे छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा बुधबार आयोजित सम्मान कार्यक्रममा मन्त्री चौधरीले खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताउनुभयाे । उहाँले आफू मन्त्री बनेको करिब डेढ महिनामा भएको र खेलकुद ऐन, नियमावलीलगायतका अध्ययन गरिरहेको तथा यसमै टेकेर नेपाली खेलकुदको विकासमा आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गर्नुभयाे । उहाँले मन्त्री चौधरीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच समन्वय हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयाे ।
विभिन्न खेल सङ्घका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा मन्त्री चौधरीलाई सम्मान गरिएको थियो ।