स्याङ्जा,१३ भदौ । स्याङ्जाका एकनारायण अर्याल निजामती सेवाको सबैभन्दा माथिल्लो पद मानिने मुख्य सचिव बन्नुभएकाे छ । स्याङ्जा पुतलीबजार १० का एकनारायण अर्याल २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएकाे थियाे । प्रशासन सेवा समूहका उहाँको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।
निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बन्नुभएका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उहाँ २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत हुनुहुन्छ । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्थाे । प्रधानमन्त्री कार्यालय जानुअघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा हुनुहुन्थ्यो । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो।
अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गर्नुभएकाे छ । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनाेट हुनुभएकाे थियाे । उहाँ २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव हुनुभएकाे थियाे । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गर्नुभएकाे छ ।
उपसचिवका रूपमा निजामती किताबखानामा कार्यरत हुँदा उहाँले सबै निजामती कर्मचारीहरूको वैयक्तिक विवरण (प्रश्नल इन्फर्मेशन सिस्टम) र कर्मचारीको सम्पत्ति विवरण (प्रोप्रटी म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम) निर्माण गरी विद्युतीय अभिलेख राख्ने प्रणालीको विकास गर्नुभएकाे थियाे ।
उहाँसँग विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर कार्य गरेको अनुभव पनि छ । प्रमुख जिल्ला अधिकारीका रूपमा मकवानपुर, तनहुँ र काठमाडौमा काम गरेको अनुभव पनि उहाँसँग छ । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी हुँदा उहाँले उत्कृष्ट प्रजिअको रूपमा नागरिक अभिनन्दन प्राप्त गर्नुभएकाे थियाे ।
यसै गरी २०७२ सालको विनाशकारी गोरखा भूकम्पका बेला काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी रहनुभएका अर्यालले उक्त विपद्को उत्कृष्ट व्यवस्थापनको कार्य गरे बापत उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।
भारतको कोलकतामा महावाणिज्यदूत भएका बेला अर्यालले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको शुरुवात गर्नुभएकाे थियाे । त्यहाँ रहँदा उत्कृष्ट कार्यसम्पादन गरेकोमा विभिन्न संघसंस्थाबाट पुरस्कार प्राप्त भएको थियो ।
अर्यालले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पनि काम गर्नुभएकाे छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत (सचिव) रूपमा काठमाडौँ महानगरपालिकामा कार्यसम्पादन गर्नुभएकाे छ । त्यति बेला उहाँले राजस्व सङ्कलनको लागि अनलाइन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउनुभयाे भने घर निर्माणको लागि नक्सा पास गर्न अनलाइन प्रणालीको विकास गर्नुभयाे ।