औद्योगीकरणमा १० वर्षे शसस्त्र युद्धले लगाएको अल्प विरामले कहिले गति लेला ..?

२०८१ भाद्र २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

संसारभरको विकासको चरणलाइ हेर्ने हो भने ढुङ्गे युगबाट, कृषियुग अनि कृषि क्षेत्रको विस्तारै विकास, आधुनिकीकरण पश्चात औद्योगीकरण र उत्पादनको युग र त्यस पश्चात सेवा क्षेत्रको विकास र विस्तार भएको पाउछौं । राजनीतिक अस्थिरता, बारम्वार फेरिने व्यबस्था, प्रणालीगत र संरचनागत सुधारको जगै बस्न नपाउने जस्ता कुराहरुले नेपालको अर्थतन्त्रले औद्योगीकरणको स्वाद नै चाख्न पाएन । जसले गर्दा हाम्रो विकासको एउटा खुड्कीलो नै हामीले गुमायौं । ४० को दशकमा अलि अलि हुन थालेको औद्योगीकरण पनि १० वर्षे शसस्त्र युद्धले अल्प विराम लगायो खै अव यसले कहिले गति लेला….?

कृषिबाट उद्योग – उद्योगबाट_विस्तारै सेवा क्षेत्रमा जान पर्ने विकासको चरण नै बरालीन पुग्यो न कृषिको आधुनिकीकरण र यान्त्रीकीकरण हुनसक्यो न देश औद्योगिककरणमा प्रवेश गर्यो । देश बैदेशिक रोजगारीको यात्राका निस्क्यो । जसो तसो विद्यालय शिक्षा पुरा गरेका, सामान्य साक्षर सीप विहिन नागरिकको रगत पसिनाले कमाएको पैसाले घर घरमा केही परिवर्तन ल्यायो । त्यही रेमीटेन्सको जगमा बनेको बजेटले बाटा घाटा खुले, घरको छानामा जस्ता पाता टल्कन थाले, स्कूलका ल्यावमा केहीथान भए पनि कम्प्युटर थपिए, घरमा टेलिभिजन हुदै इन्टरनेटका तारका लहराहरु र घर घरमा राउटरहरु झुडिन थाले । र हात हातमा मोवाइल र मोवाइलमा सामाजिक संजालका एपहरु अटस मटस रुपमा भरिन थाले ।

सुचना प्रविधिको महासागरमा हाम्रो समाज पनि मोवाइल रुपी डुंगा लिएर प्रवेश गर्यो । वैदेशिक रोजगारीबाट अलि अलि पूजी निर्माण पनि हुदै थियो केही सीप र विश्व बजारको अनुभव पनि थपिदै थियो हामीमा । धेरै थोरै सडक संजालले एक किसिमको कनेक्टीभिटी पनि वढाउदै थियो र सुचना प्रविधिले एउटा नेटवर्क पनि तयार भएको थियो । ठूला ठूला महल होइन सीप सिकाउने झुपडी देउ हिंसा माग्ने मैदान होइन धान फलाउने खेत देउ भन्ने कर्णदासको गीतले दिएको सन्देश जस्तै अव युवालाई स्वदेश मै गरिखाने, मस्त र व्यस्त हुने वातावरण तयार गर्ने प्रयासहरू हुनु पर्थ्यो, वैदेशिक रोजगारीले सृजना गरेका सामाजिक विखण्डन र पारिवारीक समस्याहरु अव सहि लिगमा आउनु परर्थ्यो । नेतृत्वले सहि दिशा पहिचान गर्न र आशा जगाउन सकेन भने यता सामाजिक संजालहरुले एकोहोरो उत्तेजना घृणा नकारात्मकता र निराशा मात्र छरेन्‌न गाली गलौजको कालो सुरुङ मै नेपाली समाजलाई धकेले….!!!

तथ्य प्रमाण केहि नचाहिने कसले चर्का र उत्तेजग कुरा गर्छ उसैलाइ समाजले वा वा गर्ने भाइरल युगको शुरवात हुन पुग्यो । अलि अलि जान्ने बुझ्नेले सहि दिशा देखाउन सक्छन कि भनेर आशा गरिएकाले पनि त्यही घृणा, गाली र निराशालाइ टेकेर धमिलो पानीमा माछा मार्ने प्रयास गरेको देखिन्छ । यो विश्वमा समस्या रहित कुनै ठाउँ वा क्षेत्र छैन । आग्रह पूर्वाग्रह विना हेरौ त विश्वको सर्वशक्तिमान अमेरिका देखि मानव विकास सुचांकमा १,२ नम्वरमा पर्ने देशहरु स्वीजरल्याण्ड, नर्वे हुन वा प्रतिव्यक्ति आम्दानीका अनुसार सवैभन्दा धनी देश हुन, हरेक देशका सरकारका कुरा, संसदका वहस, नीति कार्यक्रम बजेट र चुनावी ऐजेन्डा सुन्दा पढ्दा त तिनीहरुका पनि समस्यहरु छन , काम गर्ने क्रममा तिनीहरुले पनि गल्ती गर्दा रहेछन । र सुधारका लागि प्रयास गर्दा रहेछन भन्ने प्रष्ट देखिन्छ । एक दुइवटा उदाहरणहरु नै हेरौं भारतमैं मोदीले यो चुनाबमा ८० करोड भारतीयलाई निःशुल्क अनाज बाँडेको कुरा गर्दै थिए यसबाट अनुमान लगाउन सकिन्छ कि उनीहरू पनि कस्तो अवस्थामा छन् । चन्द्रमामा पाइला टेके होलान तर धार्मिक असहिष्णुता र महिला सुरक्षाको अवस्था कस्तो छ ??

क्यानडा जस्ता देशमा आर्थिक मन्दी र बढ्दो बेरोजगारीका मुद्दामा चुनाव लडिदै छ । भने जापानले आज समेत गुणस्तरीय शिक्षामा जोड दिने कुरालाई आफ्नो मिशन बनाएको छ । सचेत नागरिकले सरकारलाइ प्रश्न गर्ने हो राज्यलाइ जवाफदेही बनाउने हो । तर धर्म, जात, भाषा भूगोलका आधारमा घृणा र उत्तेजना बढाउने राष्ट्र प्रति नै नैराश्यता भैलाउने कार्य सर्वदा गलत छ। सरकारको विरोध गर्ने नाममा हामीले यो देश सकिन लाग्यो, यहाँ भविश्य छैन संसार भर सुख चयन छ । पृथ्वीमा समस्या भएको ठाउँ यो मात्र हो । यँहाका सरकार, नेता, अदालत, कर्मचारी व्यावसायी, शिक्षक, पत्रकार, सवका सव भ्रष्ट, कामचोर, ठग र दलाल छन भन्ने अति सामान्यीकरण गर्दै समाजका स्वच्छ आलोचना होइन गाली, वेइज्जेती घृणा र उत्तेजना फैलाउनेको गोरख धन्दा नै चलेको छ । यस्ता निराशा, घृणाले कसैका भिउज वढ्लान, २,४ पैसा कमाउलान कसैले चुनाव जीत्लान तर यो समाजमा गृहयुद्ध, जातीय धार्मिक नरशम्भार चले जस्तो आतंक सृजना गर्न जो जस्ता व्यक्ती लागि परिरहेका छन उनीहरुले प्रसय पाउनु हुदैन ।

देश सकिन लाग्यो, दुनिया भरीको समस्या यहि मात्र छ । अन्त त सुख सयल र अमन चयन छ यो देशमा भविश्य छैन भन्ने कुरा बेकार हो । केही केही भएको छ अरु धेरै गर्न बाकी छ। लोकतान्त्रीक व्यवस्था छ, संसारकै औसत भन्दा राम्रो संविधान छ । वहुदलीय व्यवस्था छ । निर्वाचन आयोगले पनि छिटफूट वाहेक निश्पक्ष नै चुनाव गराउछ ।रक्सी, मासु र २, ४ हजारमा नविक्ने हो भने बालेन, हर्क र गोपी हमाल देखि शिशिर खनाल जस्ता लजालु र चर्को वोल्न नजान्ने मान्छेहरुले समेत चुनाव जितेर आउछन भने सामाजिक संजालमा देशको सबैभन्दा चिन्ता गर्ने हामी हो भन्ने हरुलाइ मेरो प्रश्न – देशलाई श्रीलंका र बंगादेश बनाउन कहिले पाइएला भन्ने हतारो चाहि किन हो …??  के हामीले बनाउन खोजेको आदर्श राष्ट्र, समाज बंगलादेश श्रीलंका हो ? त्यो समस्याको समाधान हो ?

देश विकासका लागि समय, धैर्यता, इमान्दार प्रयास र सक्षमताको समजोडको आबस्यकता पर्दछ । सामाजिक संजालमा नकारात्मकता र घृणाको यस्तो प्रवृत्तिले व्यक्तिगत तथा सामूहिक तहमा गम्भीर असर पुर्‍याउँछ। व्यक्तिगत तवरमा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव आत्मविश्वासमा कमी र आत्मसम्मानमा समेत चोट पुग्न सक्छ भने सामूहिक तहमा, समाजमा एकता र सहिष्णुताको कमी भई, गहिरो विभाजन र द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ । घृणा र उत्तेजनाले क्षेणिक रुपमा कसैलाइ फाइदा गर्ला तर सारमा यसले गर्ने भनेको विनास नै हो । सुसंस्कृत र जिम्मेवार डिजिटल प्रवृत्ति विकास गरे मात्र हामी स्वस्थ र शान्तिपूर्ण समाज निर्माण गर्न सक्छौं । अबको चुनौती भनेकै हामीले कस्तो समाज निर्माण गर्न चाहन्छौं भन्नेमा केन्द्रित भएर कार्य गर्नु हो । घृणा र उत्तेजना हटाउनको लागि व्यक्तिगत र सामूहिक दुवै स्तरमा निरन्तर प्रयास आवश्यक छ ।

विवेक बस्याल
क्याम्पस प्रमुख
आलमदेवी वाणिज्य क्याम्पस,कालीगण्डकी स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय