शिक्षकहरूलाई ओशो तपोवन शैलीमा तालिम दिँदै सरकार

२०८१ भाद्र २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २१ भदौ । विद्यार्थीको नतिजा कमजोर आउँदा सबैभन्दा पहिला शिक्षकहरूले गाली खान्छन् । पछिल्लो समय कक्षा १० र १२ को नतिजा सार्वजनिक भएपछि सबैले शिक्षकहरूलाई गाली गरे । शिक्षकहरूले भने नतिजा कमजोर आउनुमा आफूहरू जिम्मेवार नरहेको बताउँदै आएका छन् ।

शिक्षण सिकाइका कारण नै विद्यार्थीको नतिजाको मूल्याङ्कन हुने बताउँदै त्यसमा कमजोरी शिक्षकहरूकै रहेको आम बुझाई छ । सरकारले समेत शिक्षकहरूलाई समयसापेक्ष बनाउन नसकेको स्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को नतिजा ७० प्रतिशत पास हुने गरी तयारी गर्न निर्देशन नै दिइसकेका छन् । सोही आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाएको छ । जसमा शिक्षकहरूलाई समयसापेक्ष तालिम समेत दिने प्रक्रिया अगाडि बढेको छ ।

शिक्षकहरूलाई सेवाकालीन तालिम मात्र नभई अबदेखि मनोरञ्जनदेखि मेडिटेसनसम्म गराइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘बुट क्याम्प’ कार्यक्रममार्फत शिक्षकहरूको ‘ब्रेन वास’ गर्न लागेको हो ।

यस वर्षको बजेटमा नै शिक्षकका लागि बुटक्याम्प कार्यक्रम राखिएको छ । केन्द्रका उप–महानिर्देशक तथा प्रवक्ता वसन्त कोइरालाले यसका लागि कार्यविधि बनाउने काम भइरहेको र भदौ सम्ममा सकिने बताए ।

शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएको तर, उनीहरूको थप क्षमता अभिवृद्धिका लागि बुटक्याम्पको अवधारणा अघि बढाइएको उनको भनाइ छ । उक्त कार्यक्रममा शिक्षकहरूलाई विपाश्ना शैलीमा तालिम, मेडिटेसनदेखि लिइएर गीत सङ्गीतसम्मको गराइने बताए ।

‘शिक्षकहरूलाई तालिम तथा प्रशिक्षण दिइरहेकै छौँ । तालिम र बुटक्याम्प फरक हुन् । ओशो तपोवन शैलीमा तालिम दिन खोजेका छौँ । यसमा गीत सङ्गीतदेखि लिएर मेडिटेसनसम्म हुनेछ । यसले शिक्षकहरूको क्षमतालाई थप अभिवृद्धि गर्नेछ,’ कोइरालाले भने । त्यसका लागि यो वर्ष १५०० जना बाल विकास शिक्षकहरू (ईसीडी) लाई तालिम दिइनेछ ।

‘बुटक्याम्प’ का लागि सरकारले तीन करोड १५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । बजेट कार्यान्वयन गर्न बनाइएको योजनामा बाल विकास शिक्षकको क्षमता तथा आवश्यक ज्ञान, सीप र सिकाइ अभिवृद्धि गराउन ‘बुटक्याम्प’ गरिने उल्लेख छ । शिक्षकको क्षमता विकास नभएसम्म बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नभएको भन्दै बालविकास शिक्षकलाई त्यसरी नै तामिल दिन लागिएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय