युवराज पौडेल
स्याङ्जा,२० कार्तिक । स्याङ्जा जिल्लाको सदरमुकामस्थित मालेबगरमा अवस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा अर्जुनबन्धु अर्याल नियुक्त हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको मंगलबार बसेको बैठकले अर्याललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी ४ वर्षको कार्यकालका लागि अर्याललाई प्रमुखमा नियुक्त गरेको हो । अर्यालभन्दा अगाडि बाबुकुमार सिग्देल क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।
नवनियुक्त क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याललाई बधाइ दिँदै पूर्व उपप्रधानमन्त्री तथा सञ्चालक समिति अध्यक्ष गोपालमान श्रेष्ठले क्याम्पसलाई सबैको साझा थलोका रुपमा विकास गर्दै नयाँ नयाँ विषय र फ्याकल्टीसहित गुणस्तरीय उच्च शिक्षा दिने शैक्षिक संस्था बनाउन सबैजना लाग्नुपर्ने बताउनुभयो । उहाँले स्याङ्जामै सबै विषय पढ्न पाइन्छ भन्ने अनुभूति गराउने गरी क्याम्पसलाई आधुनिक प्रविधिमैत्री सिकाइको थलो बनाउनुपर्ने र त्यसका लागि आफूले जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताउनुभयो ।
क्याम्पस प्रमुख नियुक्तिका लागि बसेको आजको बैठकमा सञ्चालक समितिका अधिकांश सदस्यहरुको उपस्थिति थियो । पूर्व सांसद नारायण मरासिनी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको सञ्चालक समिति सदस्य पृथ्वीप्रसाद पोख्रेलले बताउनुभयो ।
क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्विएए० प्रमाणपत्र लिने अवस्थामा पुर्याउने चुनौती नयाँ क्याम्पस प्रमुखको मुख्य चुनौती रहेको छ । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन हुँदै आएका छन् ।